आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा १७ जनाको मृत्यु

अमेरिकाको सबैभन्दा बढी जनसंख्या रहेको राज्य क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको ज्यान गएको र केही भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तिमा १७ जनाको ज्यान गएको छ। मंगलबारबाट आँधी शुरू भएको र बुधबार बिहानसम्म ज्यान जानेको संख्या १७ पुगेको बताइएको छ।

अमेरिकाको सबैभन्दा बढी जनसंख्या रहेको राज्य क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको ज्यान गएको र केही भौतिक संरचनामा क्षति पुगेको बताइएको छ। आँधीसँगै वर्षा पनि हुँदा बाढी र पहिरो आएको सरकारी अधिकारीले जनाएका छन्।

यहाँका मौसम विभागका अधिकारीले आँधीका कारण केही वर्षयताकै ठूलो क्षति भएको जनाएका छन्। उनीहरूले सडक भत्किएका र बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनामा क्षति पुगेको उल्लेख गरेका छन्।

मौसम पूर्वानुमान शाखाका अधिकारीहरूले आँधीको सम्भावना रहेकाले बुधबार पनि घरबाहिर ननिस्कन सर्वसाधारणलाई सूचना जारी गरेका छन्। आँधीका कारण जनावर तथा चौपायासमेत मरेका छन्।

क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्र आँधीबाट बढी प्रभावित भएको छ। सो क्षेत्रका हजारौँ मानिसलाई उद्धार गरेर अन्यत्रै लैजानुपर्ने बताइएको छ। तर, आँधी निरन्तर रहेकाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ।

सो राज्यमा संकटकालको घोषणा गरेर आवश्यक उद्धार कार्य गर्नका लागि अमेरिकी सरकारले अधिकार प्रदान गरेको छ। आँधी अरू केही दिनसम्म रहन सक्ने भन्दै यहाँको राज्य सरकारले भने सबै नागरिकलाई सतर्क रहन भनेको छ।

यहाँ चिसो मौसममा पनि आँधी आउने गर्दछ। सन् २०१८ को जनवरीमा पनि यस्तै आँधीका कारण २३ जनाको ज्यान गएको थियो।