पृथ्वीजयन्ती : कहीँ उत्सव, कहीँ प्रदर्शन

३०१औँ पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। काठमाडौँमा भने पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले राजतन्त्र फर्काउने षडयन्त्र गरेको भन्दै प्रदर्शन भएको छ।

काठमाडौँ- राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। 

काठमाडौँसहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले समेत सो शालिकमा माल्यार्पण गरेका थिए। 

पृथ्वीजयन्ती विरुद्ध माइतीघरमा प्रदर्शन
पृथ्वीजयन्ती विरुद्ध काठमाडौँ, माइतीघर मण्डलमा प्रदर्शन भएको छ। 

वैद्य माओवादी निकट संगठन तथा देशभक्त गणतान्त्रिकता मोर्चा (देजमो)ले सरकारले पृथ्वीजयन्तीमा बिदा दिएको भन्दै प्रदर्शन गरेका हुन्। उनीहरूले सरकारले राजतन्त्र फर्काउने षडयन्त्र गरिरहेको आरोपसमेत लगाएका छन्। 

प्रदर्शनमा सहभागी १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

को हुन् पृथ्वीनारायण शाह? 
विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। 

विसं १७९९ चैत २५ गते राजा भएका उनलाई नेपाल एकीकरणको श्रेय जान्छ। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भएका थिए।  

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ। 

शाहवंशीय राजा पृथ्वीनारायण शाहले स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए। आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उनको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। 

नेपालमा २००७ सालको क्रान्ति पश्चात नेपालमा आएको प्रजातन्त्र पश्चात योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनुपर्छ भनेर प्रक्रिया शुरू गरेका थिए। 

पृथ्वीनारायण शाहले स–साना क्षेत्र (भीरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेको श्रेयसमेत उनलाई छ। 

पृथ्वीनारायण शाहले शुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बिस्तार भएको थियो।