भीमसेन थापाले आफू शक्तिशाली भएको बेला एउटा सानो निहुँमा विलासकुमारीले पाएको दाइजो बिर्ता मात्रै खोसेनन्, सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गरी राज्यको प्रशासन सिधै केन्द्रबाट सञ्चालन गरे।
पृथ्वीनारायण शाहको आधिकारिक रूपमा दुई विवाह भएको देखिन्छ। मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँगको विवाहका क्रममा उनको ससुरालीसँग ठुलै झगडा परेको थियो। उनी डोला लिन मकवानपुर पुग्दा खाली हात फर्कनु परेको थियो। खास गरी उनका जेठान मकवानपुरका तत्कालीन युवराज दिग्बन्धन सेनसँग उनको ठुलो विवाद परेको थियो।
यस विवादग्रस्त वैवाहिक प्रकरणका बारेमा उनले आफ्नो उपदेशमा बयान गरेका छन्। मकवानपुरबाट रित्तो हात फर्कनु परेको विषय यसबाट प्रस्ट हुन्छ: ‘...मेरो विवाह मकवानपुरमा भयाको थियो। डोला सुम्पेको थिएन। र डोला पनि लैया नेपाल पनि देषि आउ भनी भनी मकवानपुर गाञु र पुग्यपछि दिकवन्दनसेनलाई यवटा कुराको करेउलि लिएर भने। यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला। दिन्न भन्या काढि तरवारसित लैजाला...’ भनी ठुलो हाँक दिएर गोरखा फर्केका थिए (बाबुराम आचार्य र योगी नरहरिनाथ (सम्पा.), ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य–उपदेश’–२०६१:३०–३१)।
पछि आफ्नो विजय अभियान प्रभावकारी रूपमा सुरु गरेपछि मात्र वि.सं. १८०५ मा उनले यी मकवानी राजकुमारीलाई गोरखा भित्र्याएका थिए। आफ्नी पटरानी, कान्छी महारानी नरेन्द्रलक्ष्मीसँग आफू नुवाकोटमा बस्ने गरेकोले जेठी महारानी इन्द्रकुमारीलाई ‘चौतारा महारानी’ भन्ने पदवी दिई गोरखा दरबारमा राखेका थिए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१:१७८)।
आचार्य (२०६१:२०३) ले पृथ्वीनारायण शाहकी एक मात्र छोरी विलासकुमारी जेठी रानी इन्द्रकुमारीतिरबाट जन्मेको उल्लेख गरेका छन्। प्रामाणिक 'तिथ्यावली'मा विलासकुमारीको जन्म वि.सं. १८०८ मा भएको भेटिएको तर विलासकुमारी इन्द्रकुमारीकै छोरी हुन् भन्ने कागज फेला नपरे पनि सोही साल कान्छी महारानी नरेन्द्रलक्ष्मीतर्फबाट युवराज प्रतापसिंह शाहको पनि जन्म भएकोले विलासकुमारी इन्द्रकुमारीकै सन्तान भएको आचार्यको धारणा रहेको छ।
सल्यानी युवराजसँग विलासकुमारीको विवाह
पृथ्वीनारायण शाहका दुई औपचारिक विवाह भएकोमा कान्छी महारानी नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाह, एक नेवार भित्रिनीबाट रणसिंह (नरसिंह) शाह तथा जेठी महारानी इन्द्रकुमारीबाट विलासकुमारी गरी चार सन्तान भएको देखिन्छ।
उनले आफ्नी छोरी विलासकुमारीको विवाह तत्कालीन सल्यान राज्यका युवराज रणभीम शाहसँग गरिदिएका थिए। यो वैवाहिक सम्बन्धबाट पश्चिमतिरको विजय अभियानका लागि राजनीतिक भूमिका खेल्न पनि सहयोग पुग्ने विश्वास उनले लिएका थिए। यो वैवाहिक सम्बन्ध स्थापनाका लागि योगी भगवन्तनाथले विशेष भूमिका निभाएका थिए।
गोरखाको तनहुँ र लमजुङबीच युद्ध चलिरहेको बेला गोरखाली सेना वि.सं. १८२० चैत ९ गते गण्डकी नदी तर्यो। त्यसै बेला गोसाईंकुण्ड, पशुपति र गोरखनाथको दर्शन गर्न सल्यानबाट आएका योगी भगवन्तनाथको गोरखामा सुर प्रताप शाहसँग भेट भयो। योगीको प्रभावमा परी उनले योगीलाई नुवाकोट पुर्याई पृथ्वीनारायण शाहसँग भेट गराए। उनले योगीलाई गुरुसरह डोलीमा चढाई सम्मान गरेका थिए (आचार्य, २०६१:३०१–३०२)।
पृथ्वीनारायण शाहले पश्चिमतिरबाट प्युठानसम्मका चौबिसी राज्यलाई घेर्नका लागि तथा योगी भगवन्तनाथमार्फत् सल्यानी राजा श्रीकृष्ण शाहले पनि पृथ्वीनारायण शाहसँग सम्बन्ध जोड्न चाहेका थिए। त्यसैले उनले योगीमार्फत आफ्ना छोरा युवराज रणभीम शाहको पृथ्वीनारायण शाहकी छोरी विलासकुमारीसँग विवाहको प्रस्ताव गरेका थिए। यो प्रस्ताव पृथ्वीनारायण शाहले मन्जुर गरी रणभीमलाई नुवाकोट झिकाएर सन् १७६६ को अप्रिल दोस्रो–तेस्रा साता (वि.सं. १८२३ वैशाख) मा कन्यादान गरे। उनलाई त्रिशूली नदीको दायाँ किनारामा परेको तारुका गाउँ दाइजो दिइएको थियो (आचार्य, २०६१:३०७)।
यसरी तत्कालीन गोरखा राज्यको सल्यान राज्यसँग पारिवारिक र राजनीतिक सम्बन्ध गाँसिएको थियो।
गोरखाली आश्रयमा सल्यान राज्य
पछि गोरखा राज्यको अधीन स्वीकार गरेर सल्यान राज्य एक आश्रित राज्यका रूपमा रह्यो। पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा बहादुर शाहले चौबिसी राज्यका कतिपय राज्यलाई लडाइँका बलले र केही राज्यलाई साइनो-सम्बन्धको भरले नेपाल राज्यमा गाभ्ने काममा सफलता प्राप्त गरे। यसै क्रममा वि.सं. १८४३ असोज १८ गते गोरखाली सैन्यले प्युठान कब्जा गर्यो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क २७–माघ २०२९:१७०)।
बहादुर शाहको निर्देशनअनुसार गोरखाली सैन्य नायकहरूले पर्वत, इस्मा र बागलुङ जित्दै भेरी नदीसम्म साँध लगाएपछि चौबिसी राज्यमा आफूले विजय गरेको साना ठुला रिसायत त्यहाँका केही राजाहरूलाई सौगात स्वरूप बाँडियो। त्यस बेला सल्यानी राजा श्रीकृष्ण शाहलाई उनको प्रतिनिधिका रूपमा आएका युवराज रणभीम शाहमार्फत रुकुम, मुसिकोट (पल्लो), मालनेटा र फलावाङका साना रियासतहरू र दाङको ठुलो रियासत सुम्पिएको थियो। रणबहादुर शाहको हातबाट वि.सं. १८४३ को फागु पर्वमा यस्तो कार्य भएको थियो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६०–माघ २०४१:४१)।
यस्तो सौगात पाउनेमा पाल्पा, जाजरकोट र सल्यान प्रमुख छन्। पाल्पा बहादुर शाहको ससुराली पर्यो। पृथ्वीनारायण शाह र जाजरकोटका राजा हरि शाहबीच बनारसमै 'धर्मपत्र' भएको थियो। सल्यानका युवराजलाई पृथ्वीनारायण शाहले आफ्नी छोरी दिएका थिए। यी राज्यले साना ठुला रिसायत पाए तापनि यी राज्यमा गोरखाली सैन्य रहने व्यवस्था थियो।
गोरखा राज्यका तर्फबाट बहादुर शाहले सल्यान राज्यलाई जुन भूभागहरू सौगातस्वरूप प्रदान गरे, ती भूभागहरू उनले आफ्नी दिदी सल्यान राज्यकी रानी विलासकुमारीलाई दाइजोस्वरूप दिएको इतिहासकार फ्रान्सिस हृयामिल्टनले आफ्नो पुस्तकमा उल्लेख गरेका गरेका छन्। उनका अनुसार विलासकुमारीले आफ्ना बाबु पृथ्वीनारायण शाहसँग आफूलाई खान पनि पर्याप्त नपुग्ने कस्तो ठाउँमा विवाह गरी पठाइएको भनी गुनासो गरेकी थिइन्। छोरीको यस्तो गुनासोपछि पृथ्वीनारायण शाहले दाङलगायतका ठाउँ आफ्नो हातमा परेपछि दाइजोस्वरूप उनलाई दिने प्रतिज्ञा गरेका थिए। तर त्यो प्रतिज्ञा पुरा हुन नपाउँदै उनको देहान्त भयो। पछि उनका छोरा बहादुर शाहले आफ्ना बाबुको त्यो प्रतिज्ञा पूरा गरिदिएका थिए। विलासकुमारीले आफ्ना छोराहरूका साथ उक्त दाइजो बिर्ता उपभोग गरेकी थिइन् (फ्रान्सिस हृयामिल्टन, ‘एन एकाउन्ट अफ् द किङ्डम अफ् नेपाल’–सन् १८१९:२७७)।
तर पछि भीमसेन थापाले आफू शक्तिशाली भएको बेला एउटा सानो निहुँमा विलासकुमारीले पाएको दाइजो बिर्ता मात्रै खोसेनन्, सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गरी स्वायत्त सल्यान राज्यको प्रशासन सिधै केन्द्रबाट सञ्चालन गर्ने व्यवस्था गरे। सल्यानी राजा श्रीकृष्ण शाहले आफू जीवित छँदै आफ्ना छोरा रणभीमलाई राज्य सुम्पिएका थिए। त्यस बेला सल्यानी राजपरिवारलाई कस्तोसम्म विपत्ति आइलागेको थियो भने उनीहरूका जेठा छोरा आफ्नो सुरक्षाका लागि भारततर्फ नवाब वजीरकहाँ शरणार्थी बन्नु परेको थियो (हृयामिल्टन, सन् १८१९:२७७)।
यस्तो थियो निहुँ
रणबहादुर शाहको वि.संं. १८६३ वैशाख १४ गते राती एउटा कचहरिमा उनकै सौतेला भाइ शेरबहादुर शाहीले तरबार प्रहार गरी हत्या गरेका थिए। आफ्ना भदै स्वामी महाराज रणबहादुर शाहको हत्या भएको खबर सुन्ने बित्तिकै विलासकुमारी सल्यानबाट भदै नाति तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहलाई भेट गर्न आफ्नो माइतीघर काठमाडौं आएकी थिइन्। तर आफ्नो माइती राज्यमा आउँदा उनले त्यतिखेर शक्तिशाली अधिनायकका रूपमा उदाएका मुख्तियार भीमसेन थापाको ठुलो कोपभाजनमा पर्नु परेको थियो।
राजगद्दी त्याग गरेर आफ्ना नाबालक छोरा गीर्वाणयुद्धविक्रमलाई राजा बनाई सन्न्यासी भइसकेका रणबहादुर शाहले बनारसबाट नेपाल फर्केपछि नयाँ मुख्तियार भई नेपालमा रहेका भारदारहरूमाथि अनेकौं दोष थोपर्न थालेका थिए। तीमध्ये अङ्ग्रेजलाई नेपाल ल्याउन कोठी खोल्नका लागि १८ हजार रुपैयाँ दिएको दोष लगाई काजी त्रिभुवन प्रधानलाई तत्कालै विष्णुमतीमा लगेर काट्ने आदेश दिए। हाल:को रणमुक्तेश्वरमा भएको उनको घरसमेत सर्वस्व गरी त्यहाँ रणबहादुर आफैँ बस्न थालेका थिए। तर मारिनुअघि काजी त्रिभुवनले भारदारी सभा राखेर सबै पोल खोलिदिने बताएपछि वि.सं. १८६३ वैशाख १४ गते राती उनकै घरमा कचहरी बस्यो।
कचहरीकै समयमा रणबहादुर शाहसँग क्रुद्ध भएर उनकै सौतेला भाइ शेरबहादुर शाहीले तरबार चलाई उनको प्राण लिए। तत्कालै बाल नरसिंह कुँवरबाट शेरबहादुर पनि काटिए। त्यतिखेर भात खान गएका भीमसेन थापा हात पुछ्दै आइपुग्दा उनले स्वामी महाराजको हत्याको बदलामा ‘लौ हेर त, अब टेकु दोभानदेखि आर्यघाटसम्म सोला चढाउन सकिनँ भने म भीमसेन थापै होइन’ भनी ललकारेर कर्नाल फुकाई सबै सैनिकलाई सामेल हुन सूचना दिए। भीमसेन थापाले त्यस बेला ठुलो रक्तपात मच्चाए। यो हत्याकाण्डमा सति जाने १६ जना स्त्रीसहित ७७ जना पुरुष गरी ९३ जनाको ज्यान लिइएको थियो (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’–२०५२:६१–६४)।
यस्तो अवस्थामा आफ्ना भदै स्वामी महाराज रणबहादुर शाहको हत्यालगत्तै विलासकुमारी आफ्ना भदै नाति बालक राजा गीर्वाणयुद्धविक्रम शाहलाई आवश्यक आड भरोसा दिन भनी आफ्नो राज्यबाट दौडादौड गरी काठमाडौं आइपुगेकी थिइन्। यस हत्याकाण्डमा काजी भीमसेन थापाको नै प्रमुख हात रहेको छ भन्ने त्यति बेला राजधानी काठमाडौं कोठा–कोठामा खासखुस चलिरहेको थियो। मुख फोरेर भन्न सक्ने साहस भने कसैमा थिएन। यो हल्ला यिनको कानसम्म पनि आइपुगेकोले यिनको मुखबाट भने अनायास नै फुत्कियो। यिनको यही अपराधले गर्दा मुख्तियार भीमसेन थापाले सिपाहीहरूलाई लगाएर यिनलाई काठमाडौंबाट धपाएर वार्षिक १४ सय रुपैयाँ जीवन वृत्ति दिई सल्यान राज्यकै फलावाङमा पुर्याएर राखियो र सल्यान राज्यलाई अन्यायपूर्वक नेपाल अधिराज्यमा गाभियो। पृथ्वीनारायण शाहले यिनलाई दाइजोको रूपमा दिएको बिर्ता पनि बलपूर्वक हरण गरियो (बाबुराम आचार्य ‘नेपालको संक्षिप्त वृत्तान्त’–२०६३:२९०–२९१)।
सल्यानी राजा राज्यच्यूत गरिए
नेपाल सरकारलाई केन्द्र माने पनि त्यस बेला आश्रित राज्यका रूपमा सल्यान राज्यको छुट्टै अस्तित्व थियो। त्यसमा पनि पृथ्वीनारायण शाहको एक मात्र छोरी विलासकुमारीका पति त्यहाँका राजा थिए। भीमसेन थापाले जबरजस्ती सेना लगाएर सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गराए। उनीमाथि लागेको एउटै आरोप थियो, उनी त्यतिखेरका नेपाल विरोधी मानिएका भवान शाही (सिंह)सित मिल्नु।
इतिहासकार त्रिरत्न मानन्धरले तत्कालीन ऐतिहासिक सामग्रीहरूको आधारमा कसरी सल्यान राज्यका राजालाई राज्यच्यूत गरियो भन्ने विषयमा सिनास जर्नल ‘कन्ट्रि्रब्यूसन्स् टु नेपालिज स्टडीज’ वर्ष ११ अङ्क २ (वैशाख २०४१:८६–९०) मा यसबारे उल्लेख गरेका छन्। जो यस्तो छ:
वि.सं. १८६६ को सुरुमा सुबेदार अंगद कार्कीले सल्यानका सरदार गोपाल शाही प्रदानाकाका भवान शाही (सिंह) सँग मिलेको सूचना नेपाल सरकारलाई प्रदान गरे। यो सूचना पाउने वित्तिकै नेपाल सरकारले कार्कीलाई यसबारेमा फेरि एक पटक राम्ररी बुझ्न अह्रायो। यस आदेशको बोधार्थ पत्र पाल्पाका तत्कालीन हाकिमलाई पनि पठाइयो। त्यतिखेर भीमसेन थापाका बाबु जनरल अमरसिंह थापा (साना) पाल्पाका हाकिम थिए। पत्रमा यदि सल्यानमा भवान शाहीसँग कोही मिल्न गएको निश्चित भएको अवस्थामा आवश्यक परे त्यसतर्फ सैनिक पठाउन पर्नेसमेत उल्लेख गरिएको छ। सल्यानको अवस्था बुझ्न केन्द्रबाट तत्कालै दुई जना सुबेदार शिवा राना र अमरसिंह रानालाई त्यसतर्फ पठाइयो। यी दुई सुबेदार सल्यान नपुग्दै सल्यानी राजाले नेपाल सरकारलाई पत्र लेखेर सरदार गोपाल शाही काँगडाबाट फर्कँदा भवान शाहीको प्रदनाका गढीमा पसेको स्वीकार गरे।
यो पत्र पाउने बित्तिकै नेपाल सरकारले सल्यानका राजालाई हटाउने निर्णय गरिहाल्यो। वि.सं. १८६६ वैशाख सुदी ७ मा पाल्पाका हाकिम अमरसिंह थापाका नाममा तुरुन्तै दुई वटा पत्र पठाइए। पत्रमा रणबहादुर शाहका पालामा पनि सल्यानी राजाले ठुलो काममा धोका दिएको, पछि दुई तीन पल्ट बोलाउँदा पनि काठमाडौं नआएकाले उनको राजा पदवी खारेज गर्नुपर्ने उल्लेख छ। सबैभन्दा ठुलो आरोप चाहिँ उनीमाथि भवान शाही (सिंह) सँग मिलेको लगाइएको छ। पत्रको सङ्केतअनुसार भवान शाही नेपाल सरकारका विरोधीमध्ये एक थिए।
यी कारण देखाई पृथ्वीनारायण शाहका ज्वाइँ सल्यानी राजा रणभिमलाई उनको पदबाट हटाई राज्यको बन्दोबस्त गर्न सुब्बा रुद्रवीर शाहीलाई पठाउने सूचना दिइयो। उनी नपुगुन्जेल सल्यानको बन्दोबस्त मिलाउन सरदार जगदेउ भण्डारीलाई आदेश दिइयो। उनलाई दरसुर पल्टन लिई तुरुन्तै सल्यान गई सल्यानी राजासहित उनका छोरा, भाइ, भैयाद तथा भारदारहरूलाई पक्री दरबार (सम्भवतः काठमाडौं) पठाउन र सल्यानको हातहतियारसमेत सबै माल जिम्मा लिई राख्ने आदेश दिइयो। सोही मिति अर्थात् वि.सं. १८६६ वैशाख सुदी ७ देखि रणभीम शाहलाई राजा नमान्नू र यदि केन्द्रको आदेश नमाने जहान बच्चासमेत सर्वस्व हुने लालमोहर जारी गरियो। सल्यानी राजालाई पक्राउ गरेर आठै प्रहर बन्दुक र संगीनले घेरेर ल्याउनू भन्ने आदेश दिइयो।
त्यस बेला सल्यानका राजा र उनका समर्थकहरूबाट नेपाल सरकारविरुद्ध हुने खतराप्रति सजग हुँदै काठमाडौंबाट सल्यान र सल्यानबाट काठमाडौं आउने जाने चिठी पत्र र मानिसहरूमाथि कडा निगरानी राखी कुनै संदिग्ध मानिस फेला परे तुरुन्तै पक्राउ गरेर पाल्पा चलान गर्न आदेश दिइयो। यति कार्य सम्पन्न गरिसकेपछि वि.सं. १८६६ वैशाख सुदी १० मंगलबार विधिवत् रूपमा रणभीम शाहलाई सल्यानको राजाको पदबाट हटाइएको घोषणा गरियो।
रणभीम शाहमाथि एउटै आरोप लगाइएको थियो त्यो थियो नेपाली विरोधी तत्त्व भवान शाही (सिंह) साग उनको मित्रता। तर ती भवान शाही को थिए, उनी कस्तो प्रकारको नेपाल विरोधी कार्यमा संलग्न थिए र उनलाई नेपाल सरकारले किन खारेज गर्न खोजेका लगायत प्रश्नहरूको समाधान तत्कालीन दस्ताबेजहरूले गरेको पाइँदैन। त्यसमाथि भवान शाहीसँग मिलेको आरोप प्रत्यक्ष रूपमा गोपाल शाहीमाथि लगाइएको थियो, रणभीम शाहमाथि थिएन। रणबहादुर शाहको हत्यामा भीमसेन थापाको प्रत्यक्ष रूपमा हात नभए तापनि हत्याकाण्डमा उनी अप्रत्यक्ष रूपमा संलग्न थिए भन्ने कुरा तत्कालीन स्रोतहरूले गरेका छन्। यस स्थितिमा आफ्नो भदै रणबहादुर शाहको हत्याप्रति विलासकुमारीले चिन्तित हुँदै सम्भवतः सो हत्याकाण्डको लागि भीमसेन थापाको आलोचना गरिन्। त्यसपछि भीमसेन थापाले सल्यानतर्फबाट खतरा महसुस गर्न थाले र उनी त्यसलाई समाप्त पार्ने दाउमा लागे। भवान शाही घटनालाई निहुँ बनाई उनले सल्यानी राजालाई पदच्युत गरी राज्यको अस्तित्व नै समाप्त पारे (मानन्धर, २०४१:८९–९०)।
रणबहादुर शाहको हत्याकाण्डमा भीमसेन थापाको हात रहेको आशङ्का गर्ने इतिहासकारमध्ये बाबुराम आचार्य पनि एक हुन्। उनले आफ्नो पुस्तक ‘जनरल भीमसेन थापा: यिनलाई मैले जस्तो देखें’ (२०६५:२८) मा स्वयम् स्वामी महाराजको अध्यक्षतामा बसेको महत्त्वपूर्ण कचहरीमा यस्तो भयानक दुर्घटना हुँदा काजी भीमसेन थापा भने खाना खान जाने बहाना बनाई कचहरीबाट फुत्केर बागको महलतिर लागेकोले यो कचहरी तथा यसको परिणाममा पनि काजी भीमसेन थापाबाटै पूर्वनिर्धारित कार्यक्रमअनुसार सम्पन्न भएको आशङ्का उत्पन्न हुन आएको उल्लेख गरेका छन्।
जतिखेर यस्तो निर्मम घटना भइरहेको थियो, त्यस बेला तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाह बालक नै थिए भने उनको नायवी तत्कालीन राजमाता ललितत्रिपुरसुन्दरीको हातमा थियो। यी राजमाता भीमसेन थापाकी भतिजी थिइन्।
बाबुराम आचार्यले ‘जनरल भीमसेन थापा: यिनको उत्थान र पतन’ (२०६९:३) मा उल्लेख गरेअनुसार भीमसेन थापाका बाबु अमरसिंह थापा (साना) का माहिला छोरा काजी नयनसिंह थापाको काजी रणजित पााडेकी छोरी ‘राजकुमारी’ नामकी क्षेत्रीय कन्यासँग विधिपूर्वक सम्बन्ध स्थापित भएको थियो। महारानी ललितत्रिपुरसुन्दरी यिनैकी छोरी थिइन्। नयनसिंह भीमसेन थापाका सहोदर भाइ हुन्। त्यसैले तत्कालीन समयको राजनीतिमा भीमसेन थापाले जे चाहे त्यही हुनसक्ने अवस्था थियो।
भीमसेन थापाको शक्तिको स्रोत मानिएकी ललितत्रिपुरसुन्दरीको १८८८ चैत १६ गते निधन भएपछि थापाको पतनका दिन पनि सुरु भए। थापाका विरोधीहरूले शिर उठाउने मौका पाए, जसको सामना गर्न उनलाई धेरै समय र शक्ति लगाउनु परेको थियो (गंगा कर्माचार्य (हाडा), ‘कन्ट्रीब्यूसन्स् टू नेपालिज स्टडिज’ वर्ष २७ अंक २–जुलाई, सन् २०००:२७०–२७१)।
लामो समयपछि वि.सं. १८८४ मा त्यहाँको प्रशासकका रूपमा देखा परेका तेजबहादुर शाहलाई भीमसेन थापाको पतनपछि सल्यानी राजाको उपाधि दिइयो। उनको राज्य फलावाङ क्षेत्रमा मात्र सीमित थियो। तेजबहादुर राज्यच्यूत राजा रणभीम शाहका छोरा नभई भतिजा वा नजिकका नातेदार थिए। अन्यथा उनलाई राजा बनाइने थिएन (मानन्धर, २०४१:९०)।
तर इतिहासकार रामनिवास पाण्डेले ‘प्राचीन नेपाल’को सङ्ख्या १७ (कात्तिक २०२८:५६)मा तेजबहादुर रणभीम शाहकै छोरा भएको उल्लेख गरेका छन्। पाण्डेले सल्यानको राजवंशमा मले वमका सन्तानको रूपमा चौधौं पुस्ताका बद्री शाही, उनका छोरा श्रीकृष्ण शाही र उनका नाति रणभीम र रणभीमका छोरा तेजबहादुर भन्ने उल्लेख गरेका छन्। यद्यपि मानन्धरले वंशावलीअनुसार रणभीमका छोराहरू रघुनाथ, रघुवर, घनश्याम, भारत र गदाधर रहेका हुँदा तेजबहादुर रणभीमका छोरा नभई नजिकका नातेदार उल्लेख गरेका छन्। त्यो बेला आफूलाई अकण्टक अधिनायकका रूपमा स्थापित गराउन मुख्तियार भीमसेन थापाले सानो निहुँमा पृथ्वीनारायण शाहकी छोरी र ज्वाइँमाथि गरेको यो ठुलो अत्याचार थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
