सामान्य अंकले घट्यो शेयरबजार

गत सातादेखि घटिरहेको नेप्से मंगलबार सामान्य बढेको थियो तर आज फेरि ​​​​​​​५.०३ अंकले घटेको छ।

काठमाडाैँ– बुधबार शेयरबजार परिसूचक नेप्से घटेर बन्द भएको छ। गत सातादेखि घटिरहेको नेप्से मंगलबार सामान्य बढेको थियो तर आज ५.०३ अंक घटेर २,६०९.०३ को विन्दुमा झरेको छ।

त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ०.८६ अंक घट्दा फ्लोट इन्डेक्स ०.३१ अंकले घटेको छ।

नेप्सेसँगै बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३२९ स्टकको ८६ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

बुधबार तीन स्टकको शेयरमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ।

कारोबारमा आएको झापा इनर्जीको शेयरमूल्य भने सर्वाधिक ९.३० प्रतिशतले घटेको छ।

आज १३ उपसमूहमध्ये उत्पादन तथा प्रसोधन झन्डै ९९ अंकले बढेको छ। यस्तै, म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढ्दा ​​​​​​​बाँकी ११ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेका छन्।