एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

मंगलबारको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ।

काठमाडौँ–  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पहिलो क्वालिफायर खेल हुँदै छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंस प्रतिस्पर्धा गर्नेछन्। सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेका हुन्।

सुदूरपश्चिमले लिग चरणका सात खेलमध्ये ६ र विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो। सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो।

आज जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ।