मंसिर २६ गतेसम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

आयोगले झूटा विवरणका आधारमा नाम दर्ता भएको पाइएमा उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आग्रह गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत यही मंसिर २६ गतेसम्म दाबी–विरोध तथा विवरण सच्याउन सकिने जनाएको छ। 

आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा अनलाइनमार्फत विवरणमा रहेका त्रुटि सच्याउन, झूटा विवरणविरुद्ध उजुरी दिन र मतदाता नामावलीलाई अद्यावधिक गर्न अनुरोध गरिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भदौ ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरणलाई अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको हो। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरू मतदानका लागि योग्य मानिने आयोगले जनाएको छ।

संकलित मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भइसकेको र त्यसमा नाम, ठेगाना वा अन्य विवरणमा त्रुटि भए सच्याउनका लागि मंसिर २६ गतेसम्म निवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ। 

आयोगले झूटा विवरणका आधारमा नाम दर्ता भएको पाइएमा विरोधमा उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिहरूको नाम हटाउन सूचना दिन आग्रह गरेको छ। दाबी–विरोधका सबै प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तयारी छ।

यसैगरी आयोगले मतदान स्थल छनोटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित कतिपय मतदान स्थलहरूको पुनरवलोकन समेत गरेको छ। मतदाताले अब आफ्नो वडाभित्रका मतदान स्थलमध्ये आफूलाई सुविधाजनक लाग्ने स्थल छनोट गर्न अनलाइन प्रणालीमार्फत निवेदन दिन सक्नेछन्। 

आयोगले मतदाता नामावलीलाई शुद्ध, विश्वसनीय र त्रुटिरहित बनाउन आम मतदाता तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ।