रोसिङटनको अर्धशतकमा पोखरा ८ विकेटले विजयी

पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकीय इनिङ्सको मद्दतमा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। 

पोखराको जितमा रोसिङटनले ४८ बलमा ५ छक्का र ४ चौकासहित सर्वाधिक ६५ रन बनाए। प्रतियोगितामा पहिलो पटक मौका पाएका अर्जुन कुमालले अविजित ४३ रनको योगदान दिए। उनले ५३ बल खेल्दै १ छक्का र २ चौका प्रहार गरे।

चितवनका बलरतर्फ सैफ जैब र रिजन ढकालले समान १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए। 

पोखराका धनन्जय लक्षनले ३ विकेट लिए भने विपीन कार्की, रोहित चन्द र किरन ठगुन्नाले समान १–१ विकेट हात पारे।

शनिबारको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो।

अब लिग चरणको अन्तिम खेल आइतबार अपराह्न ३:३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।