‘काठमाडौँ वा मुगुबाट चुनाव लडिन्छ नै’ (भिडिओसहित)

‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’

काठमाडौँ– नेपालका प्रखर फिल्मकर्मी भनेर देश दुनियाँमा चिनिएका मीनबहादुर भाम एकाएक राजनीतिक अगुवा बनेर उदाएपछि उनलाई भेटेर शुरूआतमै जिज्ञासा राखियो— “फिल्म ‘बाँसुल्ली’देखि ‘साम्बाला’सम्म आइपुग्दा बाटो बदलिएछ त मीनजी?”

“होइन नि, म बल्ल मूलबाटोमा भने आइपुगेँ बरु,” तुरुन्तै जवाफी बनिहाले मीन। मूलधारका नाममा बनिने, चल्ने र हल्ला गरिने सनातनी माया प्रेमका दृश्य–चित्रभन्दा पर्तिर भिन्न विषय, भावभूमि र पात्रसँग जोडिएर फिल्म बनाउने मीनको गत वर्ष आएको साम्बाला अझै पनि चर्चामा छ। त्यसअघि बनेको ‘कालो पोथी’ र ‘बाँसुल्ली’ पनि घरभित्र भन्दा बाहिर बढी चर्चामा रहे। साम्बाला त बर्लिन फिल्म फेस्टिभलदेखि लोर्कानो र ओस्कारमा नेपालको अफिसियल सेलेक्सनमा पनि परेको थियो ।

“म यस्तो देशमा सिनेमा बनाइरहेछु जहाँ हरेक पटक भाषाकै कारण सब–टाइटल हालेर सिनेमा देखाउनुपर्छ। मुगु, हुम्ला वा डोल्पामा बोलिने भाषा (स्थानीय लवज)लाई राष्ट्रिय भाषा नमानिएपछि ठेट नेपाली (खस) वा अंग्रेजीमा सब–टाइटल राख्नुपर्ने अवस्था छ,” मीनले सुनाए, “कतिसम्म भने संघीयता, विकेन्द्रीकरण र गाउँगाउँमा सिंहदरबारको कुरा त यहाँ खुबै हुन्छ। तर, मैले मुगुमा बसेर बनाएको फिल्म दर्ता गर्न र अरु फिल्मी प्रक्रिया पूरा गर्न काठमाडौँ आउनैपर्छ, गाउँमा बसेर केही गर्छु भन्ने अवस्था छैन।”  

आफूलाई सिनेमा बनाएर पैसा कमाउँला भन्ने कहिल्यै नलागेको मीन बताउँछन्। मूलधार भने पनि वा अलगधार भनेर सीमारेखा कोरे पनि त्यसले पार्ने प्रभाव र पहुँचको (प्रभाव राख्ने) तह एउटै भएको उनले सुनाए। “साम्बाला निर्माणमा १५ करोड रुपैयाँ लगानी भएकोमा त्यो लगानी उठ्यो वा उठेन भनेर बहस गर्नुभन्दा साम्बालाले उठाउन खोजेको विषय, त्यो भूगोलको सौन्दर्य वा संघर्षमय नारीको जीवन मेरा लागि महत्त्वपूर्ण थियो,” उनले उकालो संवादमा भने। 

पछिल्लो समयमा भएको सामाजिक उथलपुथल र जेन–जी विद्रोहपछिको राजनीतिक परिवर्तनमाझ आफूले भरोसा राख्दै आएको नेपाली कांग्रेस पार्टीभित्र पनि यस्तै सुधार (संशोधन)को आफूले चाहना गरेकोबारे पनि उनले खुलेरै बताएका छन्। मुगुको भामबाडा गाउँमा जन्मे–हुर्केका र विद्यालय तहको पढाइ उतै पूरा गरेका मीन आउने दिनमा कांग्रेसले खटाएमा आफ्नै जिल्लामा गएर चुनाव उठ्नेसम्मको तयारीमा जुटेका देखिन्छन्। 

null

अथवा, अहिले बसोबास गरिरहेको अस्थायी थलो काठमाडौँ–३ बाटै टिकट पाए पनि आगामी निर्वाचनमा उम्मेदवार हुने उनको योजना छ। “मलाई मेरो मुगुले कति सम्झिन्छ वा बिर्सिन्छ, भन्न सक्तिन। तर, म काठमाडौँभन्दा मुगुमै धेरै खुल्न सक्छु, मेरो मनमा मुगुले गतिलो स्थान ओगटेको छ,” मीन भन्छन्।

राजनीतिमा उदाएको नवीन पुस्तासँग मीनको राम्रै अन्तर्संवाद हुने गरेको छ। कांग्रेसभित्रै पनि यथास्थितिवादी र संस्थापनभन्दा बढी विद्रोही पुस्तामा आफू जोडिन चाहेको उनले सुनाए। आउने दिनमा बाबु–छोराको सम्बन्ध तथा पुस्तान्तरण र काठमाडौँदेखि मानसरोवरसम्मको दृष्यचित्र समेटिएको फिल्म बनाउने भनेर कथा/पटकथा तयार गरिसकेका मीन अहिले भने फिल्मी दुनियाँभन्दा बढी राजनीतिमा तानिएको देखिए। 

यसअघि २०८४ को चुनाव भनेर बिस्तारै राजनीतिक गतिविधिमा होमिएका उनी अहिले आएर फागुनको चुनावी तालिका अघि सार्दै अलिक हतारमै फिल्मकर्मीभन्दा बढी कांग्रेसकर्मी बनेका हुन्। पछिल्लो समयमा देखिएको विद्रोह र सुधारको चेतसँगै बढेको ‘जजमेन्टल’ प्रवृत्तिप्रति भने उनी निकै चिन्तित देखिए। 

“अरूभन्दा पनि हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ, तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो कुरा हुँदै होइन,” मीनलाई लागेको रहेछ, “आशा, सुधार र परिवर्तनको राम्रो संकेत देखिँदै गर्दा यो हतारमा मानक बनाउने प्रवृत्तिबारे पनि सोच्नुपर्ने बेला आएको छ, यो साँच्चै डरलाग्दो अवस्था हो।”