एनपीएल : लुम्बिनी प्लेअफमा, जनकपुरसहित पोखरा र चितवन बाहिरिए

शुक्रबारको खेलमा जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो।

काठमाडौँ– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ। शुक्रबार भएको खेलमा लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराएको हो।

यो जितसँगै सात खेलबाट ८ अंक जोडेको लुम्बिनी प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ। योसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफबाट बाहिरिएका छन्। यसअघि नै कर्णाली याक्स बाहिरिएको थियो। 

यता, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स भने अविजित रहँदै १२ अंकका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ।

शुक्रबार भएको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ६ विकेटको क्षतिमा १३६ रन जोड्न सफल भयो। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३२ बल खेल्दै २ चौका १ छक्काको मद्दतमा सर्वाधिक ३४ रनको जोडे।

त्यस्तै, डी'आर्सी सर्टले ३०, जेजे स्मिथले २१, निरोशन डिकवेलाले १७, दिलीप नाथले १५ रनको योगदान दिए।

बलिङतर्फ जनकपुरका संगीथ कुरेले ३ विकेट लिए। त्यसैगरी, मयन यादवले २ तथा सञ्जय कृष्णमूर्तिको नाममा १ विकेट रह्यो। 

त्यसअघि, त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रन बनायो।

जसमा संगीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे। 

बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले २–२ विकेट लिए।