श्रीलंकामा मौसमी विपद्ले ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध

विपद्का कारण श्रीलंकाभरि करिब ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध भएको सिलोन विद्युत् बोर्डले जनाएको छ।

हालै आएको विनाशकारी मौसमी विपद्का कारण श्रीलंकाभरि करिब ८५ प्रतिशत विद्युत् आपूर्ति अवरुद्ध भएको सिलोन विद्युत् बोर्ड (सीईबी)ले जनाएको छ।

सीईबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार, प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत् उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको थियो। उनले अधिकांश विद्युत् जडान पुनर्स्थापित भइसकेको र बाँकीलाई छिट्टै सञ्चालनमा ल्याउन काम भइरहेको जानकारी दिए।

सीईबीका अनुसार, आपत्कालीन अवस्थाका क्रममा १६ हजार ७७१ ट्रान्सफर्मर सेवा अवरुद्ध भएका थिए। तीमध्ये १४ हजार ५४९ ट्रान्सफर्मर मर्मत तथा पुनर्स्थापना भइसकेका छन्। बाँकी उपकरणलाई यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको सीईबीले जनाएको छ।