सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

सुदूरपश्चिमले ६ खेलमा लगातार जित निकाल्दै १२ अंक जोडेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। 

सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो। यो जितसँगै सुदूरपश्चिमले ६ खेलमा लगातार जित निकाल्दै १२ अंक जोडेको छ। चितवनले भने ६ खेलमध्ये २ मा जितसहित चार अंक जोडेको छ।

जितका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमा समेटियो। प्लेअफमा पुग्न जितको खोजीमा रहेको चितवनका ब्याटरहरू चल्न सकेनन्। उसका लागि रवि बोपाराले २९ रन, देव खनालले २८ रन, अर्जुन साउँदले १६ रन र कुशल मल्लले १५ रनको योगदान दिए।

सुदूरपश्चिमको जितमा पुनीत मेहराले सर्वाधिक ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले १-१ विकेट लिए भने तीन ब्याटर रनआउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकको मद्दतमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि लिन रिटायर्ड हर्ट हुनुअघि ७५ रन बनाए। ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे। ओपनर विनोद भण्डारीले २१ रनको योगदान दिए। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४-२४ रन बनाए। पुनीत मेहराले १३ रन र हर्मित सिंहले १ रन बनाए भने इशान पाण्डेले पनि १ रन मात्रै बनाए।

चितवनका लागि सैफ जाइबले २ विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले १-१ विकेट लिए।

बिहीबार नै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाजले प्लेअफमा स्थान बनाएको थियो।