भेनेजुएलाका गतिविधि निगरानी गर्न अमेरिकाले ट्रिनिडाड एन्ड टोबेगोमा राख्यो राडार

हालका महिनामा वाशिंटनले भेनेजुएलाको तट नजिकै रहेको ट्रिनिडाड एन्ड टोबेगोसँग सैन्य सहकार्य तीव्र बनाउँदै लगेको छ। काराकासले यसलाई आक्रामक संकेत भन्दै कडा आपत्ति जनाएको छ।

२०२५ नोभेम्बर ३० मा ट्रिनिडाड एन्ड टोबेगोको टोबेगोस्थित एएनआर रोबिन्सन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको अमेरिकी राडार। तस्वीर: रोयटर्स

ट्रिनिडाड एन्ड टोबेगोका प्रधानमन्त्री कमला पर्साद–बिसेसरले बुधबार संयुक्त राज्य अमेरिकाले द्वीपमा नयाँ राडार प्रणाली जडान गरेको र यसको उद्देश्य लागुऔषध तस्करी नियन्त्रण गर्नुका साथै वाशिंटनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्नुरहेको बताएकी छन्।

हालका महिनामा वाशिंटनले भेनेजुएलाको तट नजिकै रहेको ट्रिनिडाड एन्ड टोबेगोसँग सैन्य सहकार्य तीव्र बनाउँदै लगेको छ। काराकासले यसलाई आक्रामक संकेत भन्दै कडा आपत्ति जनाएको छ। विशेष गरी, अमेरिकी निर्देशित मिसाइल विध्वंसकसमेत सहभागी सैन्य अभ्यासलाई ‘उक्साहटमूलक’ भन्दै काराकासले यो मदुरो प्रशासनलाई अपदस्थ गर्ने अमेरिकी प्रयासको हिस्सा रहेको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएला सरकारमाथि दबाब अझ बढाएको छ। ट्रम्प प्रशासनले भेनेजुएलालाई लागुऔषध गिरोह संलग्न राज्यका रूपमा चित्रित गर्दै उसको राजनीतिक वैधतालाई अस्वीकार गर्ने नीति अघि बढाएको छ।

ट्रम्पको दृढ समर्थक मानिने प्रधानमन्त्री पर्साद–बिसेसरले नोभेम्बर २७ मा टेलिभिजन कार्यक्रममार्फत नयाँ विमानस्थलमा राडार जडान बताइएकी थिइन्। बुधबार जारी गरिएको उनको वक्तव्यमा अमेरिकी राडारको मुख्य उद्देश्य प्रतिबन्धित भेनेजुएलाको कच्चा तेलसँग जोडिएका अवैध गतिविधि पत्ता लगाएर रोक्ने रहेको पुनः उल्लेख गरिएको छ।

प्रधानमन्त्रीले विज्ञप्तिमा भनेका छन्, “पछिल्लो राडारले भेनेजुएलाबाट हाम्रो भूमिभित्र आइरहेका लागुऔषध, हतियार, गोलाबारुद, अवैध आप्रवासी तथा प्रतिबन्ध छल्ने उद्देश्यले भइरहेको कच्चा तेलसम्बन्धी तस्करी गतिविधि पहिचान गर्न मद्दत गर्ने छ।”

ट्रम्प प्रशासनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमै भेनेजुएलाको तेलमाथि कडा प्रतिबन्ध लगाएको थियो, जुन अहिले पनि जस्ताको तस्तै राखिएको छ। पर्साद–बिसेसरले भनिन्, “नयाँ उपकरणले ट्रिनिडाड एन्ड टोबेगोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेखनीय रूपमा बढाइसकेको छ, जसले हामीलाई पहिले उपलब्ध नभएको सुरक्षा स्तर प्रदान गर्दछ।”

काराकासले प्रधानमन्त्री पर्साद–बिसेसरलाई अमेरिकाको भेनेजुएलाविरोधी योजनामा सहभागी भएको आरोप लगाउँदै आलोचना गरेको छ। प्रधानमन्त्रीले भेनेजुएलामा सैन्य हस्तक्षेपका लागि ट्रिनिडाड एन्ड टोबेगोको भूभाग प्रयोग गर्ने अमेरिकी योजनामा आफूहरूको संलग्नता रहेको भन्दै उठेको आरोपलाई अस्वीकार गरेकी छन्।

यसैबीच, गत अगस्टदेखि वाशिंटनले क्यारिबियन क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहित युद्धपोतहरूको ठूलो दल तैनाथ गरेको छ। लागुऔषध तस्करीविरुद्धको अभियान शीर्षकमा चलाइएका कम्तीमा २२ समुद्री आक्रमणले ८३ जनाको ज्यान लिएको पुष्टि भइसकेको छ।

अन्तर्राष्ट्रिय कानूनी विशेषज्ञहरूले यस्ता प्रहारहरूलाई सम्भावित रूपमा अवैध तथा गैरन्यायिक हत्याको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन्।