दोलखा र जुम्लाको तापक्रम माइनसमा

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ।

विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५.२ डिग्री र दोलखाको जिरीमा न्यूनतम तापक्रम माइनस ०.१ मा झरेको छ। जाडो सिजन लागिसकेको र चिसो बढ्ने क्रममा रहेको विभागले जानकारी दिएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले हिजो अस्ति जुम्लाको न्यूनतम तापक्रम माइनस २ देखि ३ सम्म रहेकामा आज तापक्रम घटेर माइनस ५.२ मा पुगेको बताए।

पछिल्लो एक/दुई दिनमा राति बादल भएकाले बढी चिसो महसुस भएको छ। दिउँसोमा भने धेरैजसो स्थानमा घाम लाग्दा न्यानो महसुस हुने गरेको छ। आज पनि काठमाडौँ उपत्यकालगायत ठाउँमा बिहानभर बादल लागेर चिसो महसुस गराएको उनले बताए।

“रातिमा बदली हुँदै र दिन बढ्दै जाँदा खुल्दै गइरहेको छ। उपत्यका र तराईमा वायुप्रदूषण पनि रहेको छ,” मौसमविद् झाले भने, “जनावरीमा अझ तापक्रम घट्दै जानेछ, अहिले बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीले असर गरेको छ। अलिअलि पाकिस्तान क्षेत्रमा पनि न्यूनचापीय क्षेत्रका कारण पश्चिमी वायु पनि बन्दैछ। त्यसले पनि असर गरिरहेको छ।”

विभागको विवरणमा काठमाडौँमा न्यूनतम तापक्रम ८.५ रहेको छ। नेपालगन्जमा न्यूनतम तापक्रम १२ रहेको छ। पोखरामा न्यूनतम तापक्रम ११, भैरहवामा १३, जनकपुरमा न्यूनतम तापक्रम १२ डिग्री रहेको छ। यस्तै, ताप्लेजुङमा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ भने जुम्लामा न्यूनतम तापक्रम माइनस ५.२ डिग्री रहेको छ।