भक्तपुरमा कात्तिक ९ गते भाइटिका

भक्तपुरमा कात्तिक ७ गतेदेखि ९ गतेसम्म तिहार मनाउने निर्णय गरिएको छ। नगरप्रमुख सुनिल प्रजापति र तलेजुका पुजारी नाइकेहरूबीचको छलफलले यस्तो निर्णय गरेको हो।

तलेजुका पुजारीसँग छलफल गर्दै नगरप्रमुख प्रजापति

काठमाडौँ- भक्तपुर नगरपालिकामा कात्तिक ७ गतेदेखि ९ गतेसम्म तिहार मनाइने भएको छ। बुधबार नगरप्रमुख सुनिल प्रजापति र तलेजुका पुजारी नाइकेहरूबीच भएको कात्तिक ७ गतेदिख ९ गतेसम्म तिहार मनाउने निर्णय भएको हो।

भक्तपुर नगरपालिकाका अनुसार बैठकले ७ कात्तिकमा लक्ष्मीपूजा, ८ मा म्ह पूजा र ९ गते भाइटिका टीका लगाउने निर्णय गरेको छ। भक्तपुरको तलेजु मन्दिरका पुजारी नाइकेहरूको सुझावअनुसार ७ कात्तिकको साँझदेखि औँसी तिथि सुरु हुने भएकोले उक्त दिन लक्ष्मीपूजा, ८ गते साँझदेखि प्रतिपदा तिथि सुरु हुने र उक्त दिन साँझ ४:५२ देखि साँझ ५:२४ सम्म सूर्यग्रहण लाग्ने भएकोले सूर्यग्रहणपश्चात उक्त दिन प्रतिपदा तिथिमा म्हा पूजा गर्ने र ९ गते भाइटिका लगाउने निर्णय भएको नगरपालिकाले सूचना जारी गर्दै जानकारी दिएको छ।

अन्य ठाउँमा भने कात्तिक १० गते भाइटिका लगाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटिकाको उत्तम साइत रहेको जनाएको छ।