हङकङ आगलागीमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

हङकङको अपार्टमेन्ट कम्प्लेक्समा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ भने ७६ जना घाइते भएको अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

हङकङको एक अग्लो अपार्टमेन्ट कम्प्लेक्समा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ। स्थानीय मिडिया र एएफपी समाचार एजेन्सीले हङकङको अग्नि नियन्त्रण विभागलाई उद्धृत गर्दै आगलागीमा अहिलेसम्म ७६ जना घाइते भएको जनाएका छन्। घाइते हुनेहरूमध्ये ११ जना अग्नि नियन्त्रक छन्। करिब ९०० मानिसहरूलाई रातारात अस्थायी आश्रयस्थलहरूमा सारिएको थियो।

उत्तरी उपनगर ताई पो जिल्लामा रहेको वाङ फुक कोर्ट कम्प्लेक्समा लागेको आगो बिहीबार दोस्रो दिन पनि जारी रहँदा अग्नि नियन्त्रकहरूले नियन्त्रणको प्रयास गरिरहेका छन्। वाङ फुक कोर्ट कम्प्लेक्सको केही झ्यालबाट बाक्लो धुवाँ निस्किरहेको देखिन्थ्यो भने उद्धारकर्ताहरू जलेका अपार्टमेन्टहरूमा खोजबिन गरिरहेका थिए।

आगलागीमा कति मानिस बेपत्ता छन् वा फसेका छन् भन्ने खुल्न सकेको छैन। हङकङका नेता जोन लीले बिहीबार बिहान २७९ जनासँग सम्पर्कविच्छेद भएको बताएका छन्। यद्यपि, अधिकारीहरूले पत्रकार सम्मेलनको क्रममा भत्किएका भवनहरूभित्र रहेका बेपत्ता व्यक्तिहरूको अद्यावधिक विवरण भने बिहीबार सार्वजनिक गरेनन्

आगो बाँसको मचान र निर्माण जालीबाट शुरू भएको विश्वास गरिएको छ। त्यसपछि परिसरमा रहेका आठ भवनहरूमध्ये सात वटामा फैलिएको थियो। अधिकारीहरूले बिहीबार दिउँसोसम्म चार भवनहरूमा लागेको आगो प्रभावकारी रूपमा निभाइएको र बाँकी तीन टावरहरू नियन्त्रणमा रहेको जानकारी दिएका छन्।

अग्नि सेवाका उपनिर्देशक वोङ का-विङले उद्धारकर्ताहरू ‘उच्च तापक्रमसँग लडिरहेका छन् र सावधानीपूर्वक भुइँ तला माथि जाँदै, राम्ररी खोजी गरिरहेका छन्’ भनेर बताएका छन्। उनले थप घाइतेहरूको उद्धारको सम्भावनालाई अस्वीकार गर्न नमिल्ने पनि बताएका छन्।