जनावर बोल्न सक्दैनन्, सहमति या असहमति दिन सक्दैनन्। जहाँ सभ्यता र करुणा छ, त्यहाँ जनावरको गरीमा रक्षाका लागि कडा कानून र त्यस अनुसारको व्यवहार आवश्यक छ।
विश्वका धेरै विकसित देशमा पाल्तु जनावरहरू पारिवारिक जीवनको अभिन्न हिस्सा मानिन्छन्। बेलायतमा त करिब आधा घरधुरीले कम्तीमा एक जनावर पाल्ने गरेका छन्। कुकुर र बिरालो विश्वभर नै सबैभन्दा लोकप्रिय पाल्तु जनावर हुन्, जसमा ल्याब्राडोर, फ्रेन्च बुलडग, ककर स्पानियल र डोमेस्टिक सर्ट हेयर बिरालो सर्वाधिक मन पराइन्छन्। यिनका अलावा बेलायतका धेरै परिवारले खरायो, गिनी–पिग, ह्याम्स्टर (एक प्रकारको मुसो), सुगा, परेवा तथा केहीले सर्प र छेपारोजस्ता अद्वितीय जनावर पनि पाल्छन्। बेलायतमा नेपाल र विश्वका अन्य देशमा झैँ धेरै शंख्यामा सामुदायिक (सडक/छाडा) कुकुर हुँदैनन्, तर पाइने केहीलाई मानवीय व्यवस्थापन गरिन्छ।
घरपालुवा जनावरसँग समय बिताउने संस्कृतिले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्छ। कुकुर वा बिरालोसँग खेल्दा तनाव, चिन्ता र एक्लोपन कम हुन्छ। यिनीसँग घनिष्ठता बढ्दा शरीरमा अक्सिटोसिन हर्मोन उत्पादन भई मन शान्त र खुसी बन्छ। अमेरिकन हार्ट एसोसिएसनको अध्ययनले देखाएअनुसार कुकुर पाल्नेहरूले दैनिक कुकुर डुलाउन हिँड्ने (डग–वाकिङ) गर्नुपर्ने भएकाले शारीरिक सक्रियता बढ्छ, मुटु–स्वास्थ्य राम्रो हुन्छ र रक्तचाप सन्तुलित रहन्छ। बालबालिकामा पाल्तु जनावरले जिम्मेवारी, दया, करुणा र आत्मविश्वास विकास गर्छ। पार्कमा कुकुर घुमाउँदा अन्य कुकुर मालिकसँग भेटघाट हुन्छ। त्यसमार्फत सामाजिक सम्बन्ध विस्तार हुने भएकाले जनावरहरूले सामाजिक जीवनमा पनि जोड्ने पुलको काम गर्छन्।
युकेमा जनावरको सुरक्षाका लागि कडा कानुनी व्यवस्था बनेका छन्। मुख्यतया ‘पाल्तु जनावर ऐन १९५१’ र ‘जनावर कल्याण ऐन २००६’ ले प्रत्येक मालिकलाई जनावरलाई उचित खाना, पानी, बसोबास, उपचार, व्यायाम र मानसिक सन्तुलनको व्यवस्था गर्न बाध्य बनाउँछ। माथिको व्यवस्थालाई जनावरका पाँच स्वतन्त्रता (फाइब फ्रिडम्स) भनिन्छ, जसले जनावरलाई भोक, तिर्खा, असजिलो अवस्था, रोग, डर तथा मानसिक पीडाबाट मुक्त राख्न आवश्यक बनाएको छ।
बेलायतमा कुकुर र बिरालोलाई अनिवार्य रूपमा माइक्रोचिप्स लगाउनै पर्ने कानुन बनेको छ। विकसित देशमा नेपाल, भारत र पाकिस्तानमा जस्तो सडकमा कुकुरलगायत अन्य घरपालुवा जनावर देखिँदैनन्। तर यहाँ बेलाबखत बिरालाहरू भने बाहिर घुमफिर गरेको देख्न सकिन्छ। घरपालुवा भए पनि बिरालाहरू बाहिर पनि जाने वा घरभित्र मात्र बस्ने दुई प्रकारका हुन्छन्। बाहिर जाने बिरालाहरूको लागि घरको ढोकामै विशेष प्वाल (क्याट फ्ल्याप) बनाइएको हुन्छ र त्यही बाटोबाटै आउने–जाने गर्छन्।
आफ्नो जनावरलाई सुरक्षित राख्नु मालिकको कर्तव्य हो। तर बेलाबेला यस्ता जनावरहरू हराउने भएकाले चिप्सको व्यवस्थापछि मालिकको विवरण पत्ता लगाएर हराएका जनावरलाई फिर्ता गर्न धेरै सजिलो भएको छ। कडा नियम तथा सतर्कता अपनाउँदा पनि युकेमा कुकुर र बिरालो चोरी गम्भीर र बढ्दो समस्या मानिन्छ। पछिल्ला तथ्यांकअनुसार सन् २०२४ मा मात्र करिब १,८०८ कुकुर चोरी भएका थिए, जसले दैनिक रूपमा करिब पाँच कुकुर हराइरहेका छन् भन्ने देखाउँछ। विगत १० वर्षको समग्र तथ्यांक हेर्दा २३ हजारभन्दा बढी कुकुर चोरी भएका छन्, तर तीमध्ये निकै कम, करिब १९ प्रतिशत जति मात्रै मालिकसम्म फिर्ता हुन्छन्। सबैभन्दा धेरै चोरी हुने कुकुरका जातमा फ्रेन्च बुलडग, रटवाइलर, बोर्डर कोली र चिहुआहुआ आदी पर्छन्। कुकुर चोरीका हिसाबले सबैभन्दा ‘हटस्पट’ क्षेत्र मानिन्छ लन्डन।
बिरालो चोरीका तथ्यांक कुकुरको तुलनामा धेरै व्यवस्थित रूपमा संकलन गरिएको छैन, तर विभिन्न स्थानीय रिपोर्टहरूले बिरालो पनि चोरी हुने घटना स्थिर रूपमा बढिरहेको जनाउँछन्। समग्रमा हेर्दा, पाल्तु जनावर चोरी प्रायः सोख, प्रजनन व्यवसाय, अवैध बेचबिखन वा आर्थिक फाइदाका कारण हुने गर्छ। यही जोखिमका कारण बेलायत सरकारले पछिल्ला वर्षमा नयाँ कानुनी कडाइ गरेको छ, जसमा ‘पाल्तु जनावर अपहरण ऐन २०२४’ले कुकुर र बिरालो चोरीलाई अलग अपराध मान्दै पाँच वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ। ‘पेट थेफ्ट टास्कफोर्स तथा डग्स ट्रस्ट’जस्ता संस्थाहरू मालिकलाई सहयोग गर्दै चोरी नियन्त्रणमा काम गर्छन्।
हराएका अनि घर मालिक भेट्न नसकेको अवस्थामा जनावर उद्धार तथा पुनः घरेलुकरण गर्ने काममा युके अत्यन्त सक्रिय छ। केवल इङ्गल्यान्डमै एक हजारभन्दा बढी उद्धार संस्था छन्। यसमध्ये रोयल सोसाइटी फर द प्रिभेन्सन अफ् क्रुअल्टी टु एनिमल्स (आरएसपीसीए) सबैभन्दा ठूलो संस्था हो। यसले सयौँ केन्द्र र शाखामार्फत जनावरको उपचार र हेरचाह गर्छ। डग्स ट्रस्ट, क्याट्स प्रोटेक्सन, स्कटिस एसपीसीए, ब्लुक्रस, मेहिउ नटजस्ता संस्थाहरू पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। यस्ता केन्द्रहरूबाट धेरैले जनावरहरू लगेर पाल्ने चलन छ।
बेलायतमा पाल्तु जनावर पाल्न सजिलो हुनुको मुख्य कारण यहाँको व्यापक र व्यवस्थित सुविधा प्रणाली हो। हरेक शहर र टोल टोलमा भेटेरिनरी क्लिनिक र अस्पताल उपलब्ध छन्, जसले नियमित स्वास्थ्य जाँच, खोप, औषधि, आपत्कालीन उपचार र सर्जरी सम्मका सेवा दिन्छ। कुकुर र बिरालोका लागि व्यवहार सुधार, आज्ञापालन र सामाजिकीकरणका प्रशिक्षण कोर्सहरू पनि सजिलै उपलब्ध छन्।
काम वा यात्रा गर्दा जनावरलाई दिनभर सुरक्षित राख्न सकिने डेकेयर सुविधा र लामो समयका लागि बोर्डिङ/होटेल सुविधा उपलब्ध छन्, जसमा घर मालिकको आर्थिक हैसियत अनुसार छुट्टै कोठा, खेलकुद र पौष्टिक भोजन समावेश हुन्छ। कतिपयले भने आफू बाहिर जाँदा छिमेकी अनि त्यसो नहुँदा, जनावर हेरविचार गर्ने कम्पनी वा व्यक्तिलाई घरमा नै बोलाउने गरिन्छ। बेलायतमा हजारौँ पेट होटेल (पशुका होटेल) र बोर्डिङ केन्द्रहरू छन् भने करिब साँढे पाँच हजार व्यक्तिले घरमै कुकुर बिरालोलाई हेरचाह गर्ने होम-बोर्डिङको लाइसेन्स प्राप्त गरेका छन्।
त्यस्तै ग्रुमिङ सेन्टरले स्नान, कपाल तथा नङ काट्ने, कान र दाँत सफा गर्नेजस्ता सेवा प्रदान गर्छ। घरपालुवा जनावरका लागि खाना, खेलौना, ओछ्यान, कपडा र स्वास्थ्य सामग्री उपलब्ध गराउने स्टोरहरू सजिलै भेटिन्छन्, अनलाइन अर्डर र डेलिभरी सुविधा पनि दिन्छन्। साथै कुकुर पार्क, प्रशिक्षण क्लब र मेलमिलापजस्ता सामाजिक र मनोरञ्जन अवसरले जनावरको मानसिक स्वास्थ्य र सामाजिक विकासमा सहयोग पुर्याउँछ।
युकेमा घरेलु जनावरसम्बन्धी व्यापार निकै ठूलो र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। २०२३–२४ मा यस उद्योगको मूल्य करिब आठ बिलियन पाउन्ड (लगभग १.२ खर्ब नेपाली रुपैयाँ) अनुमान गरिएको थियो। यसमा मुख्यतः जनावरको खाना, स्वास्थ्य सेवा, इन्स्योरेन्स, ग्रुमिङ, बोर्डिङ, खेलौना र अन्य सामग्री समावेश छन्। युकेमा करिब एक करोड ३५ लाख कुकुर र एक करोड २५ लाख बिरालो भएको अनुमान छ, जसका लागि यी सेवाको ठूलो माग रहेको छ। ह्याम्स्टर, खरायो, गिनीपिग र केही अन्य जनावरलगायत साना जनावरसम्बन्धी व्यापार पनि व्यापक छ। घरेलु जनावर उद्योगले करिब २०–२५ हजार प्रत्यक्ष रोजगार सिर्जना गरेको अनुमान छ, जसले देशको अर्थतन्त्रमा समेत योगदान पुर्याउँछ। जनावरको व्यापार वा बिक्री गर्न अनिवार्य रूपमा पेटसप लाइसेन्स लिनुपर्छ।
युकेमा दृष्टिविहीन तथा कम दृष्टि भएका व्यक्तिलाई सुरक्षित र स्वतन्त्र रूपमा हिँडडुल गर्न सहयोग गर्ने विशेष प्रशिक्षित कुकुरहरू समेत छन्, जसलाई गाइड डग भनिन्छ। यहाँ करिब ४,५०० देखि ५,००० गाइड डग सक्रिय रूपमा काम गरिरहेका छन्। एउटा पथप्रदर्शक कुकुरलाई पूर्ण रूपमा तयार गर्न करिब २ वर्षको लामो र कडा प्रशिक्षण चाहिन्छ, त्यसको जीवन भरको कुल खर्च ५५,००० पाउन्ड स्टर्लिङदेखि ६०,००० सम्म पर्छ, तर यो सेवा दृष्टिविहीन व्यक्तिलाई पूर्ण रूपमा निःशुल्क प्रदान गरिन्छ।
यी कुकुरले सडकका अवरोधहरू चिनाउने, सही बाटो देखाउने तथा बस स्टप, रेल स्टेसन, पसलको ढोकाजस्ता ठाउँ सजिलै भेट्टाउन मद्दत गर्छन्। इक्वलिटी एक्ट २०१० ले गाइड डगलाई रेस्टुरेन्ट, होटेल, ट्याक्सी, बस, रेल र सबै सार्वजनिक स्थानमा निर्बाध प्रवेशको कानुनी अधिकार दिएको छ। नयाँ पुस्ताको लागि हरेक वर्ष करिब १,४०० देखि १,५०० कुकुरका छाउरा (पपी) हरूलाई गाइड डग बनाउने तालिममा भर्ना गरिन्छ।
विश्वभर केही व्यक्तिहरूले आफ्ना पाल्तु जनावरको नाममा वसियत (विल) बनाउने अनौठो चलन चलाएका छन्। यसले जनावरप्रतिको गहिरो माया र जिम्मेवारी देखाउँछ। उदाहरणका लागि, बेलायतमा बेन रियाले आफ्नो बिरालो ‘ब्ल्याकी’को नाममा सात मिलियन पाउन्ड (करिब १.३ अर्ब नेपाली रुपैयाँ) जनावर कल्याण संस्थालाई दान गरे। त्यसैले ‘ब्ल्याकी’लाई संसारकै धनी बिरालो मानिन्छ।
त्यस्तै, नोरा हार्डवेलले आफ्ना कुकुरका लागि ५ लाख पाउन्ड (करिब ९ करोड नेपाली) छुट्याइन् भने चर्चित डिजाइनर अलेक्ज्यान्डर म्याकक्वीनले आफ्ना कुकुरहरूको हेरचाहका लागि ५० हजार पाउन्ड (८ लाख ७५ हजार नेपाली रुपैयाँ) दिएका थिए। अमेरिकामा पनि ‘पेट ट्रस्ट’ वा ‘पेट विल’मार्फत मालिकको मृत्युपछि जनावरको हेरचाह सुनिश्चित गरिन्छ। यसले केही मानिसहरूका लागि पाल्तु जनावर केवल साथी मात्र होइन, परिवारको सदस्य र अधिकारसम्पन्न प्राणी हुन् भन्ने प्रमाणित गर्छ।
विश्वभरका केही अनौठा घटनाले देखाउँछन् कि मानिस र जनावरबीचको सम्बन्ध कहिलेकाहीँ सामान्य मायाभन्दा बढी, अचम्मका ढाँचामा प्रकट हुन सक्छ। उदाहरणका लागि सन् २०१४ मा बेलायतकी अमान्डा रोजर्सले आफ्ना कुकुर सीबासँग सांकेतिक विवाह गरेकी थिइन् र जर्मनीमा उवे मित्शर्लिचले आफ्नो बिरालो सेसिलियासँग विवाह गरे।
यस्ता विवाहले कानुनी मान्यता नपाए पनि मानिसका लागि भावनात्मक रूपमा निकै महत्त्वपूर्ण हुन्छन्। जापानमा कतिपय मानिसले आफ्ना जनावरको लागि भव्य अन्त्येष्टि गर्छन् भने अमेरिकामा कुकुरलाई सांकेतिक रूपमा नगरको मेयर बनाइएको उदाहरण पनि छ। चीनमा बिरालो र कुकुरलाई संगीत बजाउन वा चित्र बनाउन तालिम दिइएको देखिन्छ। यी सबै घटनाले स्पष्ट देखाउँछ कि मानिस–जनावर सम्बन्ध केवल पालनपोषणमा सीमित छैन; यो भावनात्मक, सामाजिक र सांस्कृतिक रूपमा अनौठो र गहिरो हुन्छ।
संसारका प्राय: सबै देशले जनावरमाथि यौन तथा अन्य दुर्व्यवहारलाई गम्भीर अपराध मानेका छन्। यो केवल ‘निजी मामिला’ होइन, जनावरको गरिमा, स्वास्थ्य र सामाजिक मूल्यमा चोट पनि हो। त्यस्ता अपराध गर्नेहरूलाई नेपालमा ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना, भारतमा १० वर्षसम्म कैद, अमेरिका र क्यानडामा १–१० वर्षसम्म जेल सजाय, जर्मनीमा ३ वर्ष, अस्ट्रेलिया र युरोपमा ५–७ वर्षसम्म कैद र जनावर पाल्न प्रतिबन्ध गरिन्छ।
बेलायतमा यो अपराधलाई कडा कानुन लागू गरेर नियन्त्रण गर्ने प्रयास गरिएको छ। त्यस्तालाई ५ वर्ष कैद, असीमित जरिवाना, जीवनभर जनावर पाल्न प्रतिबन्ध र दोषीको नाम पशु दुर्व्यवहार रजिस्टरमा राखिन्छ। २०२२ मा ग्रेहम मार्सललाई आफ्नो श्रीमतीलाई पग नस्लको कुकुरसँग यौन सम्पर्क गर्न दबाब दिएको र त्यसको भिडियो खिचेको अभियोगमा ५ वर्ष ६ महिनाको कैद सजाय भयो, अदालतले यसलाई ‘अत्यन्त घृणित र विकृत’ भनेको थियो।
जनावर बोल्न सक्दैनन्,सहमति या असहमति दिन सक्दैनन्। उनीहरू माथिको दुर्व्यवहारले गम्भीर चोट र मानसिक ट्रमा दिन्छ। त्यसैले, जहाँ सभ्यता र करुणा छ, त्यहाँ जनावरको गरीमा रक्षाका लागि कडा कानुन र त्यस अनुसारको व्यवहार आवश्यक छ। जनावरविरुद्ध कार्य गरेको शंका लागे तुरुन्तै प्रहरी वा सम्बन्धित पशु कल्याण संस्थामा खबर गर्नु एक सभ्य नागरिकको अहम दायित्व हो। यो संसारलाई साझा रूपमा प्रयोग गर्ने समस्त जनावर र त्यसमाथि पनि घरपालुवा जनावर हाम्रो दुःख सुखका साथी भएकोले परिवारसमान हुन्। त्यसैले उनीहरू माथिको सद्व्यवहार मानवताको सफल परीक्षाको रूपमा लिनुपर्छ।
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
