निर्वाचन आयोगमा ६८ वटा दल दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दिउँसोसम्म निर्वाचन आयोगमा ६८ वटा दल दर्ता भएका छन्।

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दिउँसोसम्म निर्वाचन आयोगमा ६८ वटा दल दर्ता भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए। यस्तै, दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए। साथै, निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे।

"निर्वाचन एउटा राष्ट्रिय पर्व हो। यसमा सामान्य नागरिकहरूले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन्। यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरू दर्तामा आउनु हुनेछ," उनले भने। स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन गराउन आयोग लागिरहेको पनि प्रवक्ता भट्टराईले बताए।

त्यस्तै, उनले विदेशमा बस्ने नेपाली नागरिकहरूका लागि कानून निर्माणको चरणमा रहेको बताए। अर्थ मन्त्रालयबाट आयोगलाई ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिँदै अपुग बजेट माग गर्दै जाने पनि बताए।