लैंगिक विनिर्माणवाद र महिला हिंसाको अन्त्य

ऐतिहासिक विभेदको दुष्चक्र तोड्न सामाजिक–सांस्कृतिक–लैंगिक विनिर्माणवादको विचारसहित राजनीतिक युद्ध मैदानमा हामी पनि कुनै न कुनै कुनाबाट यहाँहरूलाई साथ दिनेछौँ।

नोभेम्बर महिनालाई संसारका सबै नागरिकले 'मन्थ अफ जेन्डर इक्वेलिटी' (लैंगिक समानताको महिना) का रूपमा सम्झने गर्छन्। संयुक्त राष्ट्रसंघले सन १९८१ को नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलन दिवसका रूपमा मान्यता दिएको छ भने त्यस यताका नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मै पुग्ने सोह्र दिने लैगिंक सक्रियताका अभियानहरू पनि प्रचलनमा ल्याएको छ। यसैले यो महिनालाई लैगिंक समानताको महिना, मानवअधिकारको महिना वा महिला सक्रियताको महिना भनेर भन्ने पनि गरिन्छ।

यस महिनामा संसारका सबै प्रतिभावान्, संर्घषशाली, क्रान्तिकारी, मानव अधिकारवादी महिला र तिनको आवाज एवं समाज रूपान्तरणमा योगदानबारे सबैतिर चर्चा गर्ने गरिन्छ। हामी पनि नेपाललगायत अन्यत्र पनि रहेका यस्ता कर्मशील, संर्घषशाली क्रान्तिकारी नारी र कर्मठ महिलाहरूबारे सानो चर्चा गरौँ। 

अन्त्य गरौँ महिलाद्वेशी राजनीतिक पाखण्ड
भर्खरै नेपालमा जेनजी आन्दोलनले महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्की पाएको छ। संवैधानिक र राजनीतिक रूपले शक्तिशाली पदमा पुग्ने नेपालको पहिलो महिला हुन् उनी। शायद यस्तो पद पाउन (राज्य संचालन गर्न) पितृसत्ता र पुरुषवादको वर्चस्व रहेको समाजमा महिलाका लागि निकै गाह्रो हुन्छ। उहाँबाट लैङ्गिक समानता, महिला हकहित र अधिकारका क्षेत्रमा नीतिगत हस्तक्षेपको अपेक्षा गरिन्छ। तर नियालेर हेर्दा, कतिपय प्रमुख राजनीतिक व्यक्तित्व, केही पूर्व प्रम र उच्च ओहदा ओगटेका मान्छे अनि संरचनात्मक सामाजिक लाभमा रहेका पदाधिकारीले यसमा उति खुसी प्रकट गरेको देखिन्न।

महिलाले पनि कार्यकारी प्रमुख भई देश चलाउन सक्छन् भन्नेमा उनीहरू अविश्वास प्रकट गर्छन्। एक नेताले सुशीला कार्कीलाई कठपुतली भने र अर्काले कार्कीको उमेर र शारीरिक अवस्थामाथि गलत टिप्पणी गरे। सामाजिक सञ्जालबाट उदाएका कतिपय 'धुन्धुकारि'हरूले सुशीलालाई के भने भन्नेबारे त टिप्पणी नै के गर्नु? राजनीतिक नेतृत्वमा महिला हुनेवित्तिकै तिनको व्यक्तिगत सम्बन्ध, शरीर र पोसाकबारे टिप्पणी हाम्रोजस्तो पितृसत्तात्मक समाजमा स्वाभाविक हो। महिला कमजोरै हुन्छन् र यिनमा सामाजिक/राजनीतिक नेतृत्व-क्षमता हुन्न भन्ने पितृसत्तावादी पूर्वाग्रह पुरुषसँगै महिलामा पनि देखिन्छ।

यसले हाम्रो समाजको सोच, चिन्तन र लैङ्गिक समानता प्रतिको व्यवहारमा दोहोरो चरित्र देखाउँछ र पाखण्ड (हिपोक्रेसी) उजागर गर्छ। लैगिंकता यही पाखण्डभित्र हुर्केको सोसल कन्स्ट्रक्ट (सामाजिक निर्माण) हो, जसले हमेसा पित्तृसत्ताको धम्की प्रकट गर्छ। अब यसलाई डिकन्स्ट्रक (विनिर्माण) गर्नै पर्छ। देशको प्रमलाई त घटिया भाषा प्रयोग गर्छन् र अनुचित रूपमा लाञ्छित गर्छन् भने समाजमा अघि बढ्न खोज्ने, राजनीतिमा आउने, नोकरी व्यवसाय गर्ने र अन्य क्षेत्रमा नेतृत्व लिन खोज्ने सङ्घर्षशील छोरी–दिदी–बहिनी र समग्र आम महिलालाई कति अवरोध गर्छ यो समाजले?  तर सारा अवरोध बीच पनि संसारमा महिलाहरू अगाडी आएका छन्। समाज रूपान्तरणमा उल्लेख्य योगदान गरेका छन्। आफूलाई पुरुष जत्तिकै सक्षम रहेको प्रमाणित गरेका छन्।

बेइजिङ डिक्लरेसन र जेन्डर इक्वेलिटी
सन् १९९५ मा चीनको बेइजिङमा भएको चौथो युएन वुमन कंग्रेसले डिक्लरेसन अन जेन्डर इक्वलिटीको घोषणापत्र जारी गरेको थियो। यसमा १८९ देशले महिला, स्कुल छात्रा र छोरीहरूको लैगिंक अधिकारलाई हृदयबाटै सम्मान गरेका थिए। यस घोषणाले १२ वटा जेन्डर सेन्सेटिभ क्रिटिकल सेक्टर (लैंगिक संवेदनशील निर्णायक क्षेत्र) हरूमा कार्यसम्पादन गर्न उच्च प्राथमिकता दिएको थियो, जसमा सन् २०३० भित्र सबै देशले सबै क्षेत्रमा लैंगिक समानता (जेन्डर इक्वेलिटी) कायम गर्ने लक्ष्य तय भएको थियो। 

खासगरी महिला हिंसा उन्मुलन, महिला गरिबी उन्मूलन, महिला अधिकार ग्यारेन्टी, राजनीतिक सहभागिता र सामर्थ्य विकास अनि शिक्षामा उच्च प्रगति गर्नेजस्ता उद्देश्य निर्धारित थिए। त्यस बेला अमेरिकी पूर्व विदेश मन्त्री हिलारी ल्किन्टनले भनेकी थिइन्–महिला अधिकारको सम्मान नै मानव अधिकारको सम्मान हो। यति बेला बारम्बार यो प्रश्न उठ्छ–के बेजिङ घोषणाको तीस वर्षमा यस क्षेत्रमा राम्ररी प्रगति भएको छ? के ती बाचाहरू पूरा भए? पक्कै छैनन्। किनकि संयुक्त राष्ट्रसंघको जेन्डर इक्वलिटी रिपोर्ट–२०२५ ले यसमा धेरै ग्यापहरू विद्यमान रहेको देखाएको छ।

यसमा रहेका हेरौँ केही ग्याप
आजका दिनमा समेत संसारमा बर्सेनि ३० लाख आमा बच्चा जन्माउन अस्पताल नगई अकालमा ज्यान गुमाउँछन्। हरेक साल १३ करोड छोरीहरूले बीचैमा स्कुल छोड्छन्। हरेक साल ७ करोड छोरीहरू बालविवाहको चपेटामा पर्छन्। २० करोड छोरीहरूको प्रजनन अंग काटिन्छ। २ अरब छोरीहरूको सामाजिक सुरक्षा योजना छैन। हरेक ३ जना छोरीमध्ये १ जना कुनै रूपको महिला हिंसाको चपेटामा आउँछन्।

अझै पनि महिलाहरू पुरुषले भन्दा ३ गुणा कम ज्याला पाउँछन्। व्यवसायको मुख्य व्यवस्थापकीय नेतृत्वमा ३०% भन्दा कम महिला छन्। संसारभरको राजनीतिक पदमा महिलाहरू जम्मा २७.२% प्रतिनिधि छन्। यही पाराले राष्ट्रिय राजनीतिमा आउन महिलालाई सयौँ वर्ष लाग्छ भने बालविवाह अन्त्य गर्न त तीन सय वर्ष लाग्छ। बेइजिङ घोषणापत्रले परिकल्पना गरेबमोजिम बराबरी गरिने भनिने यी नतिजा आउँदो पाँच वर्षमा प्राप्त हुँदैनन्, जसले निराशा मात्रै दिएको छ।

यसरी हेर्दा लैगिंक बराबरी र महिला अधिकारको लक्ष्यमा संसार नै असफल भएको छ। यसमा राजनीतिक विरोधाभास (पोलिटिकल हिपोक्रेसी) को चित्र नराम्ररी उदांगिएको छ। त्यसो हुँदा महिला बराबरीका बडेबडे भाषण केबल राजनीतिक नौटंकी देखिन्छ। प्रत्येक देशका नेताले आफ्ना मुलुकमा बेइजिङ बाचा पत्र बमोजिम लैगिंक बराबरीका लागि केही काम नगरेर केबल झूटा प्रतिबद्धता गरेछन् भन्न सकिन्छ।

जेन्डर इक्वलिटी रिपोट–२०२५ अनुसार महिलालाई सामाजिक बराबरी स्थानमा ल्याउन राजनीतिक नेतृत्वमा ल्याउनै पर्ने, महिलामा राष्ट्रिय लगानी बढाइँ व्यापक रोजगारीसहित स्वावलम्बन गराउने र लैगिंक नीतिगत रूपान्तरण तीव्र पार्नेजस्ता कार्यहरू तत्काल सबै देशले अघि बढाउनुपर्छ भनेको छ।

यसको अर्थ सबै समाजले तेज रफ्तारमा लैगिंक विनिर्माणवाद  (डिकन्सट्रक्सन अफ जेन्डर डिस्पारिटी) को विचार अगाडी बढाउनुपर्छ, जसले इतिहासबाट सरेर आएको लैगिंक विभेद, महिलाजन्य अन्याय र पितृसत्ताका सबै सामाजिक–सांस्कृतिक संरचनाहरूको व्युत्पत्तिहरू भत्काओस्। भाषा, साहित्य, दर्शन, विचार र राजनीतिमा रहेको भालेवादी–मनुवादी हेजेमनीलाई ध्वस्त गरी अब लैगिंक विनिर्माणवादको शक्तिशाली हस्तक्षेप तीव्र बनाउने गरी जानुपर्छ। यहाँनिर भारतीय कम्युनिस्ट नेता क. बृन्दा कराँतको यो भनाई सान्दर्भिक हुन्छ–खासमा महिला मुक्तिको आन्दोलन साम्राज्यवाद र राष्ट्रिय उत्पीडनका विरुद्ध एकै पटक लड्दैछ। यो निरन्तर छ।

जबसम्म महिलाले राजनीतिक अधिकार (नीति निर्माण) सँगै आर्थिक (उत्पादन साधन र सम्पत्तिमाथि) निर्णयको अधिकार पाउन्नन्, तबसम्म यो विनिर्माणको लडाई चलिरहन्छ। 

राष्ट्रपति केथरिन: एक आशा 
भर्खरै मात्र आयरल्यान्डमा केथरिन कोन्नली राष्ट्रपतिका रूपमा आएकी छन्। उनी सामाजिक न्याय, जेन्डर इक्वलिटी र मानवअधिकार रक्षामा प्रतिबद्ध देखिन्छिन्। उनी नवउपनिवेशवाद र गाजा नरसंहार विरुद्ध बोल्छिन्। चिलीको राष्ट्रपति पनि समाजवादी जारा जेनेटको प्रबल सम्भावना देखिन्छ।

यसले विश्व राजनीतिमा अब प्रभावशाली महिलाहरूको उदय भइरहेको देखाउँछ। विश्वमा महिला समानताको एउटा आशा उदाइरहेको देखिन्छ। उनीहरूले नाटो युद्ध, अन्य मिलिटरी खर्च नगर्न र सो रकम महिला शिक्षा, बालबालिका कल्याण र सामाजिक हितकारितामा लगाउन सबैसँग आग्रह पनि गरेका छन्। दुवै वामपन्थी स्कुलिङका भएकाले पनि सामाजिक न्याय र महिला अधिकारका क्षेत्रमा समग्र लेटिना र युरोपको पैरवी यसमा बढाउँछन् नै। आशा गरौँ, यस्तो महिला नेतृत्व विश्वभर सबैतिर आउनेछ।

ग्रेटा र फ्रान्सेस्का: मानवताका रक्षक
हामीले गाजा नरसंहार र इजरायली अत्याचार देख्यौँ। एक्काइसौँ सदीको साम्राज्यवादको भयानक मिलिटरी रूप र यसको क्रूरता निःशस्त्र गाजाले सामना गर्‍यो। हृदय विदारक परिदृश्य संसारले देख्यो। फासिस्ट अमेरिका, पापी युरोप र निर्घिनी अरबी शासकहरू रक्तपिपासू इजरायलसँगै देखिए। तापनि डोनाल्ड ट्रम्प र नेतान्याहु गाजामा युद्धबिराम गर्न बाध्य भए। यो अवस्था कसरी भयो भन्नेमा फर्केर हेर्दा त्यहाँ संसार हल्लाउने दुई जना नारी देखिन्छन्। यति नै खेर नै वैश्विक स्तरमा गाजा र प्यालेस्टाइनी उपरको जनसमर्थन ह्वात्तै बढेको छ, किन होला? यस सन्दर्भमा यी दुई वीराङ्गनाको नाम निकै आएको छ, जो यो अत्याचारी इजरायलविरुद्ध अझै पनि संघर्ष गर्दैछन्।

साथै यी दुईले प्यालेस्टाइनका पक्षमा विशाल वैश्विक जनमत तयार गरे र गरिरहेका छन्। यी हुन्–जलवायु अभियन्ता ग्रेटा थनबर्ग र युएन स्पेसल रेपोर्टर तथा मानवअधिकारकर्मी फ्रान्सेस्का अल्बानीज। उनीहरू मानवता र न्यायका लागि विश्व नागरिकलाई आह्वान गर्छन्। ग्रेटा जलवायु न्यायका लागि पहिलेदेखि लडिरहेकी युवती हुन्। इजरायल यी दुई साहसी नारीसँग थरथरी काँप्दैछ। गाजामा भएको आम भोकमरी हटाउन ग्रेटा थनबर्गले ग्लोबल सूमड फ्लोटिया अभियान ल्याएकी छन्। दुई पटकको यो अभियान सफल हुन दिएन इजरायलले। भर्खरै पचास वटा पानी जहाजमार्फत खानेकुरा र औषधी गाजामा ल्याइँदै गर्दा पनि बीचमा नै रोक्यो। इजरायलले यिनलाई धेरै अवरोध गरेको छ। 

यसरी नै फ्रान्सेस्काले इजरायली नरसंहारको पर्दाफास गरेकी छन्। गाजामा निहत्था बालबालिका मार्ने नेतान्याहू र उसको आइडिएफ सैन्य अधिकारीलाई हेग अदालतमा आइसीसीको नरसंहार र यूद्यअपराधको दण्ड सजाय दिने प्रस्ताव ल्याएकी छिन् उनले। फ्रान्सेस्काको अध्ययन यति गम्भीर छ कि मानवताविरुद्धको गाजा नरसंहारमा इजरायलसँग मिलेमतो गर्ने धनी देश र धेरै अमेरिकी फर्महरू, गुगल– मेटाजस्ता टेक जायन्टहरू र अन्य वार इकोनोमिक्स चलाइरहेका साठी वटा युरोपेली कम्पनीहरू पनि यो अपराधमा संलग्न (कम्पिल्सीट) भएको प्रमाण समेटेको छ। उनी मानवताकी रक्षक भएकी छन्।

जसरी यूगोस्लोभाकिया र बोस्निया हर्जगोभिनाका शासकलाई दण्डित गरियो, फिलिपिन्सका दुतेर्तेलाई पनि गरियो। अहिले उनी नेदरल्यान्ड्सस्थित अन्तर्राष्ट्रिय अपराधसम्बन्धी अदालतको स्केभेनिङ्गेन कारागारमा थुनिएको अवस्थामा छन् दुतेर्ते। यसरी नै नेतान्याहुलाई अपराधी करार गर्न आवश्यक रिपोट तयार पारेकी छन् फ्रान्सेस्काले। फ्रान्सेस्काले पेस गरेका नरसंहारको प्रमाण यति बलिया छन्। लगातार गोला बारुद र बमसँग जुद्धै गाजामा बसेर नरसंहारको स्थलगत प्रमाण संकलन गरेर प्रतिवेदन बनाएकी हुन् उनले। उनको प्रतिवेदनलाई संयुक्त राष्ट्रसंघले स्वीकारेको छ। यही प्रतिवेदनको आधारमा लेबर पार्टीले बेलायतमा नरसंहारको विपक्षमा मतदान गर्‍यो र पार्टीगत रूपमा कियर स्टार्रमर सरकारलाई यसको अनुसन्धान गर्न भनेको छ। 

इजरायल आज नरसंहारकारी प्रमाणित देखिन्छ। अझै पटक पटक युद्धविराम उल्लंघन गरी फेरि नरसंहार गर्दैछ इजरायल। तर इजरायलका धम्कीसँग यी दुई जोदाहा डराएका छैनन्। मृत्युसँग समेत डर नमान्ने यिनलाई साथ दिने करौडौं मानिस देखिदैँछन्। यी दुवै वीराङ्गनालाई धेरैले सम्मान गर्छन्। मानवताका असली रक्षक हुन् थनबर्ग र अल्बानीज। 

नेतृत्वमा महिला आऊ, साहस बढाऊ
हुन त यस बेला धेरै मुलुकमा नवउदारवाद, नवफासिवाद र सर्वसत्ताउन्मूख पित्तृसत्तावादी शासकहरूको भण्डाफोर गर्दै सशक्त प्रतिवादमा महिला नेतृत्व शानदार रूपले उदाइरहेका पनि छन्। यतिखेर संसारभर २७ जना महिला राष्ट्रप्रमुख छन्। डोनाल्ड ट्रम्पको नजिकै मेक्सिकोमा डा. क्लाउडीया सेनवान छिन्। यी एक सशक्त राजनीतिज्ञ हुन्, जो अमेरिकी फासिवाद र अन्यायविरुद्ध उभिएकी छन्। यिनी आयरल्यान्डकी केथरिनजस्तै छिन्। पेरुमा महिला राष्ट्रप्रमुख डायना बोलार्ट छिन्। ब्राजिल कोप–३० को नेतृत्व आना टोनीले गरिन्।

अफ्रिकाको नामिबियामा सारा आमधिला प्रधानमन्त्री छिन् भने तान्जनियामा पनि राष्ट्रपतिमा महिला नै आइन्। युरोपमा त धेरै महिला नेता छन्–आइसल्यान्डकी हाला टोमासिर र इटलीको जर्जिआ मेलोनी, स्लोभानीयाकी नातासा पार्क र ग्रीसमा केटरिना साक्लपेरलगायत छन्। एसियाको हकमा कुरा गर्दा श्रीलकांकी प्रम हरिनी अमासूर्या छन्। भारतमा द्रौपदी मूर्म राष्ट्रपति छन्। अन्य प्रभावशाली नेतामा, अमेरिकामा बर्नी स्यान्डर्ससँगै अभियान चलाइरहेकी ए ओकासिया क्रूज छिन्। सत्तासीनको सातो उडाउने बंगालादेशी लेखक तसलीमा नसरीन भारतमा छिन् भने भारतकी प्रखर वाम राजनीतिज्ञ बृन्दा करात र लेखक अरुन्धती रोय पनि छिन्। यस्ता निडर र संघर्षशील सामाजिक अभियन्ता अरू धेरै छन्, जो वैश्विक सामाजिक संरचनागत अन्याय, साम्राज्यवाद र फासिवादबिरुद्ध आवाज बुलन्द गरिरहेका छन्। यिनीहरू रोजा लक्जम्बर्गजस्ता क्रान्तिकारी छन् भने पारिजात र फ्रिडा काह्लोझैँ दृढ विचारवान् पनि छन्।

नेपालको सन्दर्भमा पनि विगतका राजनीतिक आन्दोलन र हालैको जेनजी आन्दोलनमा रक्षा बमजस्ता जुझारु नेता देखिए। अझै संर्घषशील सुशीला कार्कीलाई प्रधानमन्त्री पाएकोमा गर्व गर्न सकियो नै। सबै खाले शोषण–विभेद, दलीय पितृसत्तावादी चिन्तन, एलिट फेमिनिज्म र यस्ता राजनीतिक पाखण्डविरुद्ध खरो प्रतिरोध गरिरहेका साहना र पारिजातझैँ आजका दिनमा प्रगतिशील राजनीतिकर्मी बिन्दा पाण्डे, उषाकिरण तिम्सेना, रचना खड्का, रक्षा बम, स्मृति तिम्सेना, उमा भूजेल, जयपुरी घर्ती, देवी खडका, लेखकहरू डा. मीना पौडेल, डा. इन्द्र अधिकारी, डा. सुचेता प्याकुरेल, डा. अस्मिता विष्ट, सुशीला शर्मा, सरिता तिवारी, डा. नम्रता पाण्डे, एलिसा एकलास, नारायणी देवकोटा, अञ्जलि सुबेदी, भावना घिमिरे, अस्मिता वादी, सम्पदा, सुमिना, प्रणेता, सीमा आभाष, फूलमती, हंसा कुर्मीलगायत थुप्रै देखिएका छन्। पत्रकारितामा दिपा दाहाल, बबिता बस्नेत, अमृता अनमोल, समा थापा प्रखर छन्।

खेल क्षेत्रमा इन्दु बर्मा, साम्बालगायत छन् भने मानव अधिकार क्षेत्रमा मोहना अन्सारी अब्बल छिन्। कलाकारितातिर सुरक्षा पन्त, दिया मास्के, आँचल, केकी देखिएका छन्। धेरै प्रेरणादायी नाम छन्, जसलाई यहाँ समेट्न छुटेको होला। सूचनाको सिमितताका लागि माफी माग्छु।

अब सबैजसो क्षेत्रमा मनग्ये महिलाको संख्या र साहस बढ्दै गएको छ। यतिखेर, यति त भन्नै पर्छ–आउनुस् आधा आकाश, अन्याय र अत्याचारविरुद्ध सशक्त लडाइँ लड्नुहोस्। हजारौँ वर्षयताको उत्पीडनको हिसाब बराबर गर्नुहोस्। ऐतिहासिक विभेदको दुष्चक्र तोड्न सामाजिक–सांस्कृतिक–लैङि्गिक विनिर्माणवादको अग्रगामी विचारसहित राजनीतिक युद्ध मैदानमा हामी पनि कुनै न कुनै कुनाबाट यहाँहरूलाई पक्कै साथ दिनेछौँ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री व्यक्तिका निजी हुन्।)