कहिले पूरा हुन्छ बीपी राजमार्ग पुनर्निर्माण?

काभ्रेपलान्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दी क्षेत्रबाट राजमार्गको स्थायी पुनर्निर्माण भइरहेको छ।

काभ्रेपलान्चोक– बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण शुरू गरिएको छ। नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। 

गतसाल असोज दोस्रो साता तथा यस वर्षको असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलान्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो। बाढीपहिरोले  सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण शुरू गरिएको कार्यालयले जनाएको हो। 

क्षतिग्रस्त सडकमध्ये तीन खण्डको स्थायी पुनर्निर्माण लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। उनका अनुसार काभ्रेपलान्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य शुरू गरिएको हो। 

ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। अबको पुनःनिर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ। “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ,” योगेशले भने। 

उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ। डालाबेंसीदेखि चार सयबेँसीसम्म ८.५ किमी सडक पुनर्निर्माण लागि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको छ। 

यस्तै, चार सयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११.०८ किमी सडक पुनर्निर्माण लागि लामा–नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो। नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुंगा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ। 

क्षतिग्रस्त कूल २९.५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ। यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको छ। यस खण्डको पुनर्निर्माण लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउनेछ। 

“दुई वर्षमा काम सम्पन्न गर्नेगरी मंसिरको शुरूआतदेखि नै स्याथी पुनर्निर्माण थालिएको हो,” उनले भने। क्षतिग्रस्त खण्ड पुनर्निर्माण लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइसकेको छ। 

काभ्रेपलान्चोकतर्फका तीन सडकखण्डलाई ७ अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो।