करिब चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे योजनाले किएभ र युरोपेली राजधानीमा तीव्र चिन्ता जगाएको छ।
युक्रेनका प्रमुख पश्चिमी सहयोगी राष्ट्रले अमेरिकाद्वारा तयार गरिएको विवादास्पद शान्ति योजनामा संशोधन गर्न दबाब दिएका छन्। उक्त योजना मस्कोको दीर्घकालीन मागसँग निकट देखिएको भन्दै उनीहरूले दबाब दिएका हुन्।
फ्रान्स, जर्मनी र बेलायतका उच्चस्तरीय प्रतिनिधिमण्डलको समन्वयमा युक्रेनले आइतबार स्विट्जरल्यान्डमा अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ताको तयारी गर्दैछ। लगभग चार वर्षदेखि जारी युद्ध रोक्न अमेरिकाद्वारा प्रस्तावित २८ बुँदे योजनाले किएभ र युरोपेली राजधानीमा तीव्र चिन्ता जगाएको छ।
शनिबार युरोपेली संघ (ईयू), क्यानडा र जापानका नेताले संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी पहलको स्वागत गरे पनि सीमा बलपूर्वक परिवर्तन गर्न नहुने र युक्रेनी सेनामा व्यापक कटौती अस्वीकार्य हुने स्पष्ट सन्देश दिएका हुन्। नाटो र ईयू सम्बन्धी निर्णय सदस्य राष्ट्रको सहमतिबिना सम्भव नभएकोमा उनीहरूको जोड छ।
यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जले जोहानेसबर्गमा भएको जी२० शिखर सम्मेलनमा भेट्दै युरोपलाई परामर्शबिना शान्ति प्रक्रिया अघि नबढाउन चेतावनी दिए। म्याक्रोनका अनुसार शान्ति योजनाले युरोपको सुरक्षा चिन्तादेखि युक्रेनको सम्भावित ईयू सदस्यता तथा रुसको फ्रिज गरिएको सम्पत्तिसम्म धेरै विषयलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ, त्यसैले ‘व्यापक परामर्श’ अपरिहार्य छ।
युक्रेनका वार्ताकारले आइतबार जेनाभामा अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्ने तयारी गरिरहेका छन्। बैठकमा अमेरिकी पक्षबाट सेना सचिव ड्यान ड्रिस्कोल र राष्ट्रिय सुरक्षा सल्लाहकार तथा विदेशमन्त्री दुवै भूमिकामा रहेका मार्को रुबियो सहभागी हुने अपेक्षा गरिएको छ।
पश्चिमी राष्ट्रहरूले युक्रेनलाई दिगो र न्यायसंगत समाधानबिनै शान्ति सम्झौतामा हतार नगर्न आग्रह गर्दै आएका छन्। युरोपेली नेताका अनुसार क्रेमलिनले युद्ध मैदानमा फाइदा खोज्ने रणनीतिमा वार्ता लामो समयदेखि अवरुद्ध गरेको छ।
जी२० शिखर सम्मेलनअघि बोल्दै बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रुसले बारम्बार शान्तिको नाटक गरे पनि यसको कार्यले कहिल्यै त्यसलाई पुष्टि नगरेको टिप्पणी गरे।
जर्मन चान्सलर मेर्जले पनि युक्रेनको बिना सहमति शान्ति सम्भव नभएको बताए। युरोप कुनै पनि शान्ति प्रक्रियाको अनिवार्य भाग हुनुपर्ने स्पष्ट सन्देश ट्रम्पलाई दिएको उनको भनाइ थियो।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी जनताले सधैँ आफ्नो मातृभूमिको रक्षा गर्ने दृढ प्रतिज्ञा दोहोर्याएका छन्। जेलेन्स्कीले आफ्नो देशले सार्वभौमिक अधिकार र अमेरिकी समर्थनबीच कठिन छनोटको जोखिम खेप्नुपर्ने अवस्था पनि उल्लेख गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव आफ्नो अन्तिम प्रस्ताव नभएको बताउँदै चाँडै शान्ति हासिल हुनुपर्ने धारणा राखे। अमेरिकी योजना अनुसार युक्रेनले केही भूभाग रुसलाई हस्तान्तरण गर्नुपर्ने, सेनाको आकार घटाउनुपर्ने तथा नाटो सदस्यतामा रोक सिर्जना हुनेजस्ता माग रहेका छन्। यी मागलाई किएभले बारम्बार अस्वीकार गर्दै आएको छ। (रासस/एपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
