सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा १८ रनले पराजित

सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै एनपीएलमा लगातार दोस्रो जित दर्ता गरेको छ, यता पोखराले भने अर्को पराजय बेहोरेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत शुक्रबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ। सुदूरपश्चिमले पोखरालाई १८ रनले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने पोखराको यो दोस्रो पराजय हो। यसअघि सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद शुरूआत गरेको थियो। पोखरा भने पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो।

लक्ष्य पछ्याउने क्रममा पोखराका कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन पर्याप्त भएन। उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे। 

त्यस्तै, जेम्स निशमले २५ बलमा २ चौका र ५ छक्काको मद्दतमा ४७ रन बनाए। ड्यानियल डाउथवेटले १६ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ३७ रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका हर्मीत सिंहले २ विकेट लिए। त्यस्तै, स्कट कुगेलेइजन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अभिनाश बोहरा र नरेन साउदले समान १-१ विकेट हात पारे।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे।

पहिलो विकेटका लागि ब्राउन र विनोद भण्डारीले १०८ रनको शतकीय साझेदारी गरेका थिए। विनोदले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। 

बलिङतर्फ पोखराका जेम्स निशमले ३ तथा ड्यानियल डाउथवेट र आकाश चन्दले २-२ विकेट लिए।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि शुरू भएको एनपीएलको दोस्रो सिजनमा आठ टोलीको सहभागिता रहेको छ। मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन्।