सम्झौताको म्याद सकिन अब तीन हप्ता मात्र बाँकी रहँदा साँगा–धुलिखेल सडक विस्तारको ४० प्रतिशत काम अझै अधुरो छ।
काभ्रेपलान्चोक– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक खण्डको स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार अत्यन्तै सुस्त गतिमा अघि बढेको छ। सम्झौताअनुसार काम सक्ने म्याद समाप्त हुन अब तीन हप्ता मात्र बाँकी रहँदा अझै ४० प्रतिशत विस्तार कार्य अधुरो अवस्थामा रहेको छ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेल सडकखण्डमा तीन वर्षमा विस्तार कार्य सक्नेगरी स्तरोन्नति थालिएको थियो। यसअन्तर्गतको पहिलो खण्ड साँगा–धुलिखेलको आठ किलोमिटर सडक विस्तारका लागि २०७९ मंसिर २७ गते सम्झौता भएको थियो। उक्त सम्झौताको म्याद अब जम्मा २१ दिन मात्र बाँकी छ। उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले तीन वर्षभित्र सक्नेगरी रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार करिब तीन वर्षको अवधिमा हालसम्म जम्मा ६० प्रतिशत मात्रै काम भएको छ। पहिलो खण्डको विस्तार कार्यको ठेक्का म्याद मंसिर २६ गते सकिँदै छ।
ठेक्का म्याद सकिनै लाग्दा केही स्थानमा तीव्र गतिमा काम भइरहेको छ भने केही स्थानमा अवरोधका कारण काम रोकिएको महीनाैँ भइसक्यो। हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भएको छ। यस्तै, अहिले बनेपाको पुलबजार–जनागाल क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको छ।
इन्जिनियर खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको छ। पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँ लेनको ८०० मिटर लम्बाई र १० मिटर चौडाइमा कालोपत्र सम्पन्न भइसकेको छ। बनेपाबाट साँगातर्फको बायाँ लेनमा भने कालोपत्रको तयारी भइरहेको छ।
यस्तै, बाँसघारी–बुडोल क्षेत्रमा मुख्य लेन (मेन लेन) मा कटिङ र सहायक लेन (सर्भिस लेन) मा ग्राभेल राख्ने काम भइरहेको छ। बनेपाको चाँदनी चोकमा कल्भर्ट राख्ने तयारी भइरहेको छ भने चण्डेश्वरी खोला क्षेत्रमा पर्खाल लगाउने तथा माटो भर्ने (फिलिङ) काम भइरहेको छ। साँगा–भैँसेपाटी क्षेत्रको ढुंगेधारामा पनि अहिले कटिङको काम भइरहेको छ।
पछिल्लो समय राजमार्गको पहिलो खण्डका विभिन्न स्थानमा विस्तार कार्यलाई तीव्रता दिइए पनि बनेपा–पुलबजार क्षेत्रमा भने करिब दश महिनादेखि करिब २०० मिटर सडक खण्डको काम स्थानीयद्वारा अवरुद्ध छ। स्थानीयहरूले ‘सेन्टर लाइन’ को विषयलाई लिएर अवरोध पुर्याएका हुन्।
आयोजनाका इन्जिनियर खनालका अनुसार नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै समाधानको विकल्प निस्कन सकेन। त्यसैले, विवादित क्षेत्र छाडेर अन्यत्रको कामलाई तीव्रता दिइएको छ।
आयोजनाले सूर्यविनायकदेखि धुलिखेलसम्मको दुई खण्डमा करिब ५० प्रतिशत काम भएको जनाएको छ। आयोजना प्रमुख विजयकुमार महतोले दिएको जानकारीअनुसार साँगा–धुलिखेल (पहिलो खण्ड) मा ६० प्रतिशत र सूर्यविनायक–साँगा (दोस्रो खण्ड) मा ४२ प्रतिशत काम सकिएको छ। उहाँका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका छ वटा घर भत्काउन बाँकी रहेको र सो प्रक्रियामा रहेको छ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगाको ७.५ किलोमिटर विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो। उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते समाप्त हुँदै छ।
प्रमुख महतोले भने, “दुवै खण्डमा विस्तार कार्य सक्न म्याद थपेर आउँदो असार मसान्तसम्ममा काम सम्पन्न गर्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको छ।” साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि यो सडक ६ लेनमा विस्तार थालिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
