‘समानुपातिकमा मात्र भए पनि भोट हाल्न पाए हुन्थ्यो’

‘हाम्रो भोट फेयर हुन्छ। किनभने हामीले उनीहरूबाट केही पनि फाइदा लिएको छैन। यसकारण, हाम्रो हात माथि छ। कसैले इन्फ्लुएन्स गर्न सक्दैन।’

विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्नसक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्ने व्यवस्था छैन। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ। यसका निम्ति सरकारले पनि गृहकार्य गरिरहेको छ। विभिन्न मुलुक पुगेका नेपाली श्रमिकसँग मतदानको विषयमा उकालोले कुराकानी थालेको छ। कामकै सिलसिलामा रजनी ढुंगाना यूएईको दुबईमा छिन्। उनी रिक्रुटिङ कम्पनी ‘ओएसीस’की सहसंस्थापक हुन्। लामो समयदेखि प्रवासी कामदारको हकहित, मताधिकारको मुद्दा उठाउँदै आएकी ढुंगानासँग उकालोका लागि किरण दहालले जुममार्फत गरेको कुराकानी:

दुबई जानु भएको कति भयो?
तीन वर्ष भयो। त्यस अगाडी म कुवेतमा थिएँ। कुवेतबाट नेपाल फर्किएँ। नेपालमै केही काम गरौँ जस्तो लागेको थियो। तर, हामीले त्यहाँको सिस्टममा काम गर्न जानेनौँ। अलिअलि पैसा पनि डुब्यो। त्यसपछि दुबई आएँ। यसकारण लामो समयदेखि मुलुक बाहिर छु।

नेपालको निर्वाचनमा भोट नहालेको कति भयो?
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा म नेपालमा थिएँ। प्रतिनिधिसभा निर्वाचनको समयमा चाहिँ दुबईमा भएकाले भोट हाल्न पाइन। 

प्रवासी नेपालीलाई मतदानको सुविधा दिने विषय लामो समयदेखि चर्चामा छ। यसको सम्भाव्यताबारे निर्वाचन आयोगले विभिन्न समयमा अध्ययन प्रतिवेदन बनाएको छ। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश छ। तर पनि कार्यान्वयन भएको छैन। नोट चल्ने, भोट नचल्ने किन भयो?
विदेशमा बस्ने नेपालीलाई आफ्नो देशको सम्झना धेरै आउँछ। छिमेकीको घरबाट हेर्दा आफ्नो घरमा कहाँकहाँ भ्वाङ परेको छ, स्पष्ट देखिने रहेछ। विदेशमा बस्ने नेपालीलाई धेरै मन दुख्छ। हामीले ‘विवेकशील नेपाली’मा रहँदा पनि नोट चल्ने, भोट नचल्ने भनेर अभियान चलाएका थियौँ। युरोप र अमेरिकामा बस्ने नेपालीको मनोविज्ञान म खासै बुझ्दिन। तर, मध्यपूर्वमा काम गर्नेहरूले १०० रुपैयाँ कमाएका छन् भने १ रुपैयाँ आफूसँग राखेर ९९ रुपैयाँ नेपाल पठाउने हुन्।

आफूसँग न्यूनतम पैसा राखेर बाँकी सबै नेपाल पठाउँछन्। राज्यलाई केही पर्दा उनीहरूलाई दुख्छ। यता हाम्रो ‘पीआर’ हुँदैन। घर पनि हुँदैन। अन्ततः हामी नेपाल फर्किनुपर्छ भन्ने हामीलाई थाहा छ। त्यसका निम्ति हाम्रो झोला सँधैभरी प्याक गरेर राखिएको हुन्छ। नेपाललाई हामी नचाहिए पनि हामीलाई नेपाल चाहिएको छ।

चुनावका लागि यहाँदेखि नेपाल जान गाह्रो हुन्छ। बिदा मिल्दैन, आर्थिक हिसाबले पनि सम्भव हुँदैन। यहाँबाट सबैथोक छाडेर जान नेपालीले धान्न सक्दैनन्। भोटका निम्ति दूतावासमा सबै संरचना तयार पारेर चुनावमा भोट हाल्न पाए धेरै राम्रो हुन्थ्यो। समानुपातिकमा मात्र भए पनि भोट हाल्न पाए हुन्थ्यो। तर, अब दूतावासले त्यो धान्न सक्छ कि सक्दैन। यहाँ एउटा सामान्य कामका निम्ति दूतावास जाँदा पनि धेरै गाह्रो हुन्छ।

चुनावमा निष्पक्ष पर्यवेक्षक हुन्छन् कि हुँदैन, यो पनि प्रश्न छ। खर्चले पनि धान्नुपर्‍यो। तर पनि काम गर्न सकिन्छ जस्तो लाग्छ। हाम्रो दूतावासले काम गर्न खोज्यो भने सम्भव नहोला भन्न सकिँदैन। त्यसका निम्ति हाम्रो तर्फबाट सहयोग गर्न तयार छौँ। तर, भोट दिन पाए अति राम्रो हुन्थ्यो।

यूएईमा पनि धेरै नेपाली छन्। यदि भोटिङको व्यवस्था गरिदिने हो भने सबैले भोट हाल्न सम्भव छ?
दुबईमा यसका निम्ति सजिलो छ। आज चुनाव छ भने रोस्टर मिलाएर भोट हाल्न जान सम्भव हुन्छ। तर, यहाँको पर्यवेक्षक निष्पक्ष हुन जरुरी छ। भोटिङका नाममा स्रोत साधन मात्र खर्च हुनु हुँदैन। अलिकति गृहकार्य गरियो भने असम्भव हुँदैन। यूएई ठूलो देश पनि होइन। यहाँको सात वटै इमिरेट्समा डेढ घण्टाभित्र जहाँ पनि जान सकिन्छ। आबुधाबीमा हाम्रो दूतावास छ। त्यहाँ पुग्न सबै इमिरेट्सबाट धेरैमा डेढ घण्टा लाग्छ।

यातायातको राम्रो सुविधा छ, चौबीसै घण्टा बस मिल्छ। यात्राका निम्ति समस्या हुँदैन। १२ घण्टा ड्युटी भयो भने पनि १ घण्टा छुट्याएर भोट हाल्न जान सकिन्छ। भोट हाल्न मन नगर्ने पनि होलान्। नेपालमा पनि घर अगाडी मतदान केन्द्र हुँदा पनि भोट हाल्न नजानेहरू होलान्। तर जसलाई इच्छा छ, उनीहरूका निम्ति सहज बनाउनुपर्छ। अहिले नेपालीहरू सोसल मिडियामार्फत एक अर्कासँग जोडिएका छन्। प्रचारप्रसार गर्न पनि सजिलो छ।

भोटिङका निम्ति पनि अभियान चलाउनुपर्ला नि?
प्रवासीलाई मतदाता शिक्षा दिनुपर्छ। २० प्रतिशत जति सचेत होलान्। ८० प्रतिशत नागरिक ‘ब्ल्यु कलर’ काममा आएका छन्। यसकारण शिक्षा चाहिन्छ। यहाँ डिजिटलाइज्ड पनि गर्नुपर्छ। हाम्रो दूतावास अझै डिजिटलाइज्ड भइसकेको छैन। चुनावका लागि दूतावास र एनआरएनलगायत सरोकारवालाले पनि काम गर्नुपर्छ। उनीहरूको काम सधैँ कलाकार ल्याएर नचाउने मात्र होइन। शिक्षा दिएर यहाँका नेपालीलाई झकझकाउनु पनि पर्‍यो।

फागुन २१ गते निर्वाचन छ। समय थोरै छ। तपाइले भनेजस्तो सबै काम गरेर त्यहाँबाट भोटिङको व्यवस्था गर्न कत्तिको सम्भव हुन्छ?
चाह्यो भने सकिन्छ। यो गर्न नसकिने काम होइन। दूतावास र यहाँका जानकार मानिस खटिए भने असम्भव हुँदैन। एक महिनाभित्र सबै खालको गृहकार्य गर्न सकिन्छ। सबैजना भोट गर्न नआउलान्, तर ५० प्रतिशतले मात्र भोट गरे भने पनि त्यसले ठूलो परिवर्तन ल्याउन सक्छ।

त्यहाँका अरू कामदारसँग पनि तपाईंको गफगाफ हुन्छ होला। उहाँहरूको मनस्थिति कस्तो पाउनुहुन्छ?
यो विषयमा मैले अरूसँग खास कुराकानी गरेको छैन। तर, म जोसँग निरन्तर सम्पर्कमा छु, उहाँहरूले खुब चासो राख्नुहुन्छ। आफ्नो देश देखेर उहाँहरूलाई दुख्छ। यहाँ मरुभूमिमा आएर नेपालीले हरियाली बनाएका छन्। अहिले पनि कुनै कम्पनीमा जाने हो भने ६० प्रतिशत कामदार नेपाली छन्। अलिअलि नराम्रो भए पनि खासमा नेपालीले यूएईमा राम्रो काम गरेका छन्। चाह्यो भने देशमा केही गर्न सकिन्छ भन्ने उहाँहरूलाई लागेको छ।

थोरै तलब भएको मानिसले पनि नेपालमा संरचना बनाउन पैसा पठाएको हुन्छ। भुइँचालोदेखि बाढी पहिरोको बेलामा पनि योगदान गरेका छन्। एउटा भोटले पनि ठूलो अर्थ राख्छ, यो विषयमा हाम्रो साथी सर्कलमा प्रशस्त गफ हुन्छ। दूतावास, नेपाल सरकार र यहाँको संघसंस्था मिले भने एक महिनाभित्र वातावरण बनाउन सकिन्छ।

आप्रवासी नेपालीलाई भोटिङको सुविधा दिने हो भने त्यसले नेपाली राजनीतिमा के फरक पार्छ?
एकदमै फरक पार्छ होला। हाम्रो भोट ‘फेयर’ हुन्छ। किनभने हामीले उनीहरूबाट केही पनि फाइदा लिएको छैन। यसकारण, हाम्रो हात माथि छ। हामीले यहाँबाट पनि उम्मेदवारको मूल्यांकन गरेका हुन्छौँ। कसले इमानदार भएर काम गरेको छ भन्ने थाहा हुन्छ। टाढाबाट हेर्दा स्पष्ट देखिन्छ। हामीलाई डर पनि छैन, कसैले ‘इन्फ्लुएन्स’ पनि गर्न सक्दैन। हामीले दिएको भोट राम्रो उम्मेदवारलाई जान्छ। यसले झन् महत्त्व राख्छ।

चुनाव नै नहुने खाडी मुलुकले नेपालको चुनावमा भाग लिन कामदारलाई समय उपलब्ध गराउलान्?
यस्तो गर वा नगर कसैले भन्दैन। कामदारले सुपरभाइजरसँग छुट्टी माग्न सक्छ। उनीहरूले हस्तक्षेप गर्दैनन्। उनीहरूको मुलुकका निम्ति हामीले केही नराम्रो गरेका छैनौँ। यसकारण उनीहरूले हामीलाई हस्तक्षेप गर्ने भन्ने हुँदैन।

हाम्रो दूतावास जान रोक्न सक्दैनन्। कसैले घरेलु कामदारको रूपमा नेपाली नागरिकलाई बाँधेर राखेको छ भने भन्न सकिँदैन। त्यस्तो होइन भने कम्पनीमा काम गर्ने मान्छे ड्युटी सकिएपछि स्वतन्त्र हुन्छ। उनीहरू दास होइनन्। त्यो भोटिङले यूएईको कानूनलाई असर गर्थ्यो भने भोटिङ गर्न मिल्दैन थियो। तर, त्यस्तो होइन।