बाजुराको प्रसूति केन्द्र निर्माण गर्दा अनियमितता गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा

बाजुराको हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्रको भवन निर्माण गर्दा अनियमितता गरेको आरोपमा अख्तियारले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध मुद्दा तयार गरेको छ।

बाजुरा– बाजुराको हिमाली गाउँपालिका–६ मा निर्मित प्रसूति केन्द्रको भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ।

गैरकानूनी लाभ लिने उद्देश्यले झुट्टा विवरण पेश गरी भुक्तानी लिएको र सार्वजनिक संरचनालाई प्रयोगविहीन बनाएको पाइएपछि उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

अख्तियारले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख सिंह, शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया र सबइन्जिनियर नरेश रावतविरुद्ध आरोपपत्र दायर गरेको हो। यसैगरी, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीको समेत मिलेमतो देखिएको अख्तियारको दाबी छ।

आर्थिक वर्ष ०७५/७६ मा कन्टेन्जेन्सीसहित कुल २६ लाख १५ हजार २०६ रुपैयाँमा उक्त भवन निर्माणको सम्झौता भएको थियो। यसमध्ये स्वास्थ्य कार्यालय, बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँ व्यहोर्ने गरी सम्झौता गरिएको थियो।

अख्तियारको अनुसन्धानले लागत अनुमानअनुसार भवन निर्माण कार्य नगरी बढी भुक्तानी गरेर रकम हिनामिना गरेको देखाएको छ। लागत अनुमानमा उल्लेखित दर रेटको आधारमा झुटा बिल तथा भर्पाइका माध्यमबाट पूरै भुक्तानी लिइएको थियो। लागत अनुमानबमोजिम आल्मुनियमको झ्याल, ढोकाको फ्रेम र सटर जडान गरिनुपर्नेमा स्थानीय काठको चौकोस मात्र प्रयोग भएको पाइएको छ।

अख्तियारले उनीहरूविरुद्ध जनही १५ लाख आठ हजार ५५७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो।