अन्तर्वार्ता

‘कतारबाटै भोट हाल्न पाइन्छ भन्नेमा हामीलाई शंका छ’

‘सर्वप्रथम, राज्य विदेशमा बसेका नेपालीसँग जोडिनुपर्‍यो। यहाँका विभिन्न संघसंस्थासँग सम्बन्ध बनाउनुपर्‍यो। राजदूतावास चुस्त हुनुपर्‍यो। यो काम भइरहेको छैन।’

विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्नसक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतादानबाट बञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्न पाएका छैनन्। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ। यसका निम्ति सरकारले पनि गृहकार्य गरिरहेको छ। कामका सिलसिलामा विभिन्न मुलुक पुगेका श्रमिक नेपालीसँग मतदानको विषयमा उकालोले कुराकानी थालेको छ। कामकै सिलसिलामा करिम बक्स मिया कतार पुगेको तीन दशक भयो। नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्वअध्यक्ष रहेका करिम गैरआवसीय नेपाली अभियन्तासमेत हुन्। उनीसँग मताधिकारको विषयमा उकालोका निम्ति किरण दहालले जुममार्फत गरेको कुराकानी:

तपाईं कतार जानु भएको कति भयो?
म यहाँ आएको ३० वर्ष पुग्न लाग्यो। सन् १९९६ (२०५३ साल)देखि कतारमै काम गरिरहेको छु। यहाँ आएको पनि लामो समय बित्यो। यता राम्रै छ। यहीँ बस्ने बानी लाग्यो। अब त यतै आनन्दको अनुभूति हुन थालेको छ।

नेपालमै बस्नेगरी फर्किने योजना छ कि छैन?
योजना नभएको होइन। बीचबीचमा कोशिश पनि गरेको हुँ। तर, सन्तोषजनक नतिजा आएन।

नेपालको चुनावमा भोट नहालेको कति भयो?
विदेश आए पनि चुनावका समयमा म बिदा मिलाएर नेपाल पुगेको छु, त्यसकारण प्राय: चुनावमा भोट हालेको छु। मेरो मताधिकार आजसम्म खेर गएको छैन। गणतन्त्रपछिको स्थानीयदेखि संघीय चुनावसम्ममा भाग लिएँ। दुवै संविधानसभाको चुनावमा  भोट हालेँ। २०७९ सालको निर्वाचनमा बिदा मिलाएर नेपाल गएको थिएँ।

त्यति टाढादेखि भोट हाल्नकै निम्ति नेपाल आउन के कुराले हौसला दिन्छ?
एउटा नागरिकको हिसाबले यो मेरो कर्तव्य हो। यो अधिकार हो। नेपालका विभिन्न परिवर्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी भएको छु। एक मतदाताको नाताले निर्वाचनबाट टाढा रहनु हुँदैन। म भाग्नु हुँदैन। यसकारण पनि म मतदानमा सहभागी हुन्छु।  

भोट हाल्न कतारबाट नेपाल आउन कत्तिको सहज हुन्छ?
नेपालमा निर्वाचनको वातावरण बन्यो र निर्वाचन हुने निश्चित भयो भने छुट्टी मिलाउन सकिन्छ। अहिले फागुन २१ गते निर्वाचन हुने चर्चा छ। त्यसको सुनिश्चितताबारे सबैतिरबाट शंका छ। यसपटक भोट हाल्न पाइँदैन जस्तो छ। फागुन २१ को लागि बिदा मिलाएर बसौँ, चुनाव सर्ने हो कि भन्ने डर छ। चुनाव हुने निश्चित भयो भने धेरैले बिदा मिलाउन सक्छन् जस्तो लाग्छ।

नेपालबाट कतार गएका सबैजना श्रमिक तपाईंले जस्तै भोट हाल्नकै निम्ति नेपाल आउने सम्भावना होला र? 
सम्भव हुँदैन। राज्यले प्रयत्न गर्ने हो भने यसका निम्ति वातावरण बनाउन सक्छ। कतिपय कुरा हामीले मिलाउनु पर्छ, कतिपय विषयमा राज्यले ध्यान दिनुपर्छ। 

अहिले विदेशमा बस्ने नेपालीलाई पनि चुनावमा भोट हाल्न दिनुपर्छ भन्ने विषय उठिरहेको छ। तपाईंलाई के लाग्छ?
कथनी र करनी मिल्न जरुरी हुन्छ। यसमा सर्वोच्च अदालतको आदेश छ। जबजब निर्वाचन आउँछ, यसबारेमा बहस हुन्छ। अहिले सुशीला कार्की नेतृत्वको सरकारले विदेशमा बस्ने नेपालीलाई पनि मतदानको अधिकार दिने विषय अगाडी ल्याएको छ। यसको सान्दर्भिकता पनि हेर्नुपर्छ। जहाजहाँ नेपालीको बाहुल्यता छ, त्यहाँबाट राजदूतहरूलाई अनावश्यक रूपमा फिर्ता बोलाइएको छ। अर्कातिर, सर्वोच्चले यसलाई कार्यान्वयन नगर्नु भन्यो, तर पनि फिर्ता बोलाइयो। यसैबेलामा सरकारले विदेशमै बसेर पनि भोट हाल्न पाउनुपर्छ भनिरहेको छ। यो कताकता अमिल्दो सुनिन्छ। कतारमा वैध र अवैध गरेर लगभग चार लाख नेपाली छन्। यो देशबाट राजदूत फिर्ता बोलाइएको छ। दूतावास राजदूतविहीन छ। यस्तो बेलामा सरकारले यहीँबाट मतदानको व्यवस्था गर्छ भनेर कति विश्वास गर्न सकिएला? यसकारण सरकारले कोशिस गर्दैमा हुन्छ जस्तो लाग्दैन। तर, विदेशमै बसेर मतदान गर्न पाइयो भने राम्रो हो। मतदान गर्न ६ महिना पहिलादेखि नै बिदा मिलाउनु पर्ने, कम्पनीमा रस्साकस्सी गर्नुपर्ने बाध्यता रहँदैन। अहिलेको विषम परिस्थितिमा चुनाव हुने वा नहुने, दलहरू सबै एक ठाउँमा आउने वा नआउने भन्नेमै चर्चा परिचर्चा भइरहेको छ। विवाद छ। सर्वप्रथम, घरभित्र सबै कुरा मिलाउनु पर्‍यो। त्यसपछि विदेशतिर सुनिश्चित गर्नुपर्छ। यसकारण कतारमै बसेर यसपटक भोट हाल्न पाइन्छ भन्नेमा हामीलाई शंका छ।

सरकारले सुविधा उपलब्ध गरायो भने पनि भोट हाल्न कत्तिको सहज होला?
कति प्रतिशत नागरिकका निम्ति सरकारले यो सुविधा उपलब्ध गराउँछ भन्ने विषय महत्त्वपूर्ण हुन्छ। वैदेशिक रोजगारीमा विशेषगरी मध्यपूर्वी खाडी राष्ट्र र मलेसियामा नेपालीको बाहुल्यता छ। त्यहाँ कति प्रतिशत नेपाली कस्तो काम गर्छन् भनेर थाहा पाउनुपर्छ। धेरै नेपाली १२–१४ घण्टा काम गर्छन्। उनीहरूलाई बाहिरी संसार कस्तो छ भनेर थाहै छैन। बिहान चार बजेदेखि बेलुका ९/१० बजेसम्म काम गर्छन्। ती नेपाली माझ सरकार कसरी पुग्छ? निर्वाचन आयोग ती मान्छेसम्म कसरी पुग्छ? निर्वाचन अभियान कसरी चलाइन्छ? ती कामदार रहेका कम्पनीसँग कूटनीतिक सम्बन्ध बनाउनका निम्ति राजदूतावासले काम गर्नुपर्‍यो। राजदूतावास पनि ठिकठाक चल्नुपर्‍यो। दूतावासमा राजदूत छैन, कर्मचारीको अभाव छ, पासपोर्ट नवीकरण गर्न लाइन बस्नुपर्छ। कम्पनीले भनेको समयमा पोसपोर्ट नवीकरण गराउन समय उपलब्ध गराउँदैन। चुनाव भनेको पासपोर्ट नवीकरण गरेजस्तो मात्र होइन। कतार सरकार र त्यहाँका कम्पनीसँग समन्वय गर्नुपर्ने होला। आर्थिक रणनीति बनाउनुका साथै अन्य व्यवस्था पनि मिलाउनु पर्ला। यसको तयारी कहाँ छ? अध्यादेश ल्याएर मात्र हुँदैन नि, राज्यको अरू तयारी पनि आवश्यक पर्छ।

जो बिहानदेखि बेलुका अबेरसम्म काम गर्छन्, उनीहरूलाई पनि मतदानमा सामेल गराउन के गर्नुपर्छ?
नेपालमै पनि स्थानीय तहदेखि संघको निर्वाचनमा भोट हाल्ने नागरिक छन्। उनीहरूलाई हरेक निर्वाचनमा अभिमुखीकरण गर्नुपर्छ। विभिन्न सन्देश पुर्‍याउनुपर्छ। तर पनि कतिपय मतदाता मत हाल्नै जाँदैनन्। मत बदर हुन्छ। यो नेपालको वास्तविकता हो। मताधिकारको विषयमा नेपालभित्रै पनि हामी सचेत छैनौँ। ऋण–धन गरेर अदक्ष कामदारका रूपमा नेपाली विदेश आएका छन्। निलो बर्दी लगाएर १२ घण्टा काम गर्छन्। उनीहरूसम्म निर्वाचन अभियान लैजानुपर्छ। त्यो अभियान चलाउन पाए माहोल बन्थ्यो होला। कानून बन्दैमा चुनाव हुँदैन, चुनाव हुँदैमा मतादाता मत हाल्न जाँदैनन्। सर्वप्रथम, राज्य विदेशमा बसेका नेपालीसँग जोडिनुपर्‍यो। यहाँका विभिन्न संघसंस्थासँग सम्बन्ध बनाउनुपर्‍यो। राजदूतावास चुस्त हुनुपर्‍यो। यो काम भइरहेको छैन।

के गर्‍यो भनेचाहिँ सहज हुन्छ? सबैले भोटिङ गर्न कसरी पाउँछन्?
दूतावासलाई राजदूतविहीन बनाउनु हुँदैन। नेपाली दूतावासमा कर्मचारीको अभाव छ, त्यो पूरा गर्नुपर्‍यो। विभिन्न संघसंस्थाको सहयोग लिएर सचेतना जगाउनुपर्‍यो। दूतावासले सम्बन्धित देशको सरकार र रोजगारदातासँग पनि अन्तरक्रिया र समन्वय गर्नुपर्‍यो। नेपालीलाई सहज तरिकाले मतदानमा सहभागी बनाउन राजदूतावास वा कतार सरकारले मात्र चाहेर हुँदैन, मुख्यतः कम्पनीहरूले कामदारलाई समय उपलब्ध गराइदिनुपर्‍यो। यसका निम्ति कम्पनीसम्म पुगेर छलफल गर्नुपर्छ। यसमा नेपाल सरकार, राजदूतावास, नेपाली संघसंस्था, कतार सरकार र सम्बन्धित रोजगारदाताको आवश्यक सहकार्य अनिवार्य छ। त्यसपछि मात्र हामीले सोचे अनुसारको प्रतिफल ल्याउन मतादाताको संख्या बढाउन सकिन्छ।

चुनाव नै नहुने खाडी मुलुकले नेपालको चुनावमा भाग लिन कामदारलाई समय उपलब्ध गराउलान्?
यहाँको सरकारले साथै दिँदैन भन्न सकिँदैन। अन्य देशका चुनाव हुँदा यहाँ बसेका ती देशका नागरिकले पनि भोट हाल्न पाएका छन्। त्यसकारण, कतार सरकारले साथ नदेला भनेर सोच्नु हुँदैन। तर, चुनावका निम्ति वातावरण बनाउनुपर्छ। यसका लागि कूटनीतिक सम्बन्धलाई चुस्त बनाउनुपर्छ।

कतारमा तपाईंले अरू पनि नेपाली भेट्नुहुन्छ होला। चुनावका विषयमा उहाँहरू के भन्नुहुन्छ?
यहीँ बसेर भोट हाल्न पाइयो भने हुन्थ्यो भन्ने अधिकांशको मनोविज्ञान छ। अधिकांशको मत यही हो। सबैले कतारमै बसेर भोट गर्न पाए भने सजिलो हुन्थ्यो। तर, हामीले व्यवहारिक पाटो केलाउनुपर्छ। विदेशमा बसेका नेपालीले पनि भोट दिन पाउनका निम्ति यतिबेला सहज सम्भावना देख्दिन।