अर्थतन्त्र गम्भीर अवस्थामा छ, सरकार बनाउने भत्काउने खेलमा नलागौँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा सांसद केपी शर्मा ओलीले सरकार बनाउने र भत्काउने षडयन्त्रमा नलाग्न आग्रह गरेका छन्।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताउँदै उनले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताए। 

उनले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योग बन्द भइरहेको बताए।

अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले भने, “अर्थतन्त्र बडो गम्भीर अवस्थामा छ। राजश्व उपयुक्त ढंगले उठिरहेको छैन। धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको छ। पहिला यस्तो भएको थिएन।” 

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नयाँ सरकारले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए। 

उनले विगतका केही महिनामा देशले नयाँ परिवर्तन खोजेको र परिवर्तनको रूपमा नयाँ पार्टी र नयाँ सांसदहरूको उदय भएको बताए। 

सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने चुनौती आफूहरूका अघि रहेको भन्दै आन्दोलनका घाउमा मलमपट्टी गर्ने चुनौती रहेको समेत उनले उल्लेख गरे। 

अध्यक्ष ओलीले सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि काम गर्ने समय नहुने भन्दै गोटी चाल्ने नभई काम गर्ने बाटो समात्न आग्रह गरे। 

सरकार बन्न नपाउँदै भत्काउने षड्यन्त्रमा नलाग्न आग्रह गर्दै आफ्नो समयको सही उपयोग गर्न आग्रह गर्दै उनले भने, “सांसद र नेताहरूको समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने? गोटी चालाचाल होइन, काम गर्ने बाटो समातौँ। आज राष्ट्रिय एकताको आवश्यकता छ। एकताबद्ध भएर राष्ट्र निर्माणका काममा लागौँ न। म सबै दलहरूलाई आग्रह, आह्वान गर्न चाहन्छु, बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ। रचनात्मक ढंगले हाम्रो समय उपयोग गरौँ।”