प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित श्री विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, छात्रवृत्ति, दिवा खाजा र पाठ्यपुस्तक शीर्षकमा आएको कुल रकममध्ये चार लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको देखिएको छ।

प्रवक्ता पौडेलका अनुसार, आयोगको अनुसन्धानबाट छात्रवृत्तिका लागि निकासा भएको ५१ हजार ६०० रुपैयाँ कुनै पनि विद्यार्थीलाई वितरण नगरिएको, दिवा खाजाका दुई लाख ४७ हजार ५० रुपैयाँमध्ये जम्मा नौ हजार ९०० रुपैयाँ बराबरको खाजा मात्र खुवाइएको र बाँकी दुई लाख ३७ हजार १५० रुपैयाँ दुरुपयोग भएको पाइएको छ। 

यस्तै, पाठ्यपुस्तक शीर्षकमा प्राप्त एक लाख १६ हजार ७२९ रुपैयाँमध्ये केवल एक हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी तीन विद्यार्थीलाई वितरण गरिएको र बाँकी रकम खर्च नभएको अनुसन्धानबाट खुलेको छ।

यसका साथै, सामाजिक सुरक्षा कर ३९ हजार ७१४ रुपैयाँ ९५ पैसासमेत दाखिला नगरी हिनामिना गरिएको आयोगद्वारा दायर गरिएको आरोपपत्रमा उल्लेख छ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिबाना र दुरुपयोग गरिएको सम्पूर्ण रकम असुल–उपर गर्ने मागदाबी लिएको छ।