प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिन एक दर्जन दलले दिए दर्ताको निवेदन

आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनका लागि, हालै एकता घोषणा गरेको नेपाली कम्युनिस्ट पार्टीसहित एक दर्जन राजनीतिक दलले पहिलो दिन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेका छन्।

काठमाडौँ– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ।

हालै एकताको घोषणा गरेको नेपाली कम्युनिस्ट पार्टी र एकता प्रक्रियामा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लगायत १२ राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्य तालिकाअनुसार सोमबारदेखि मंसिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताए।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो जमघटले सबै राजनीतिक दल निर्वाचनमा भाग लिन आतुर रहेको देखिएको छ।

आयोगका अनुसार आगामी निर्वाचनमा भाग लिन देश विकासका सन्ध्या खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंहले सोमबार दल दर्ताका लागि निवेदन दिएका छन्।

यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीका सरस्वतीकुमारी झा, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेश गरेका छन्।

यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पनि नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निवेदन पेश गरेको आयोगले जनाएको छ।