आयोगले सार्वजनिक गर्‍यो प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन कार्यक्रम

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ। आयोगको आइतबारको बैठकले दुवै निर्वाचनको कार्यक्रम आफ्नो वेबसाइट र नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिले हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक प्रणाली दुवैको कार्यक्रम तोकेको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रमअनुसार माघ ६ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ। सोही दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा माघ ७ गते उजुरी दिन सकिनेछ। मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ र सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुनेछ। सो कार्यक्रमअनुसार मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्ने समय तोकिएको छ।

मंसिर २४ गते निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन हुनेछ। त्यसपछि पुस १३ र १४ गते राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नेछन् र माघ २० गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

त्यसैगरी, राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन आगामी माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा हुने आयोगले जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार, राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म नामावली प्रकाशन हुनेछ।

नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गरिने र पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभाका सदस्यका लागि माघ ११ गते बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म मतदान हुने आयोगले जनाएको छ।