हात्तीको बथान झापा प्रवेश, सचेत रहन वन कार्यालयको आग्रह

डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ।

झापा– डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान जिल्लामा प्रवेश गरेकाले सर्वसाधारणलाई सावधान रहन आग्रह गरेको छ। गस्ती र माइक प्रयोग गरी सर्वसाधारणलाई सचेत गराउनुका साथै सावधानी अपनाउन आग्रह गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।

मोरङबाट झन्डै २५ देखि ३० को संख्यामा बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेकाले स्थानीयलाई सो बारे जानकारी दिँदै सचेत रहन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए।

उनका अनुसार, डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० हात्तीको बथान नेपाल प्रवेश गरेका थिए। सोमध्ये करिब एक वर्षअघि ३० वटा हात्ती भारततर्फ फर्किएका थिए भने बाँकी मोरङ र सुनसरीका वन क्षेत्रमा थिए। तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको हो।

प्रमुख श्रेष्ठले हात्तीको बथान आइतबार शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेको बताए। जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रिकालीन गस्ती र माइक प्रयोग भइरहेको उनले जानकारी दिए। हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखांकन गरी सोही क्षेत्रमा गस्ती गरिरहेको उनले बताए।

प्रमुख श्रेष्ठका अनुसार हात्ती दिनभर सामुदायिक वन क्षेत्रमा बस्ने र राति मात्र हिँड्ने गर्दछन्। आइतबार र सोमबारसम्ममा बाहुनडाँगीको प्रसाद गौँडा हुँदै हात्तीको बथान भारततर्फ फर्कने आकलन गरिएको छ।