विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा अल्टिट्युड राइडर्सका सञ्चालक पक्राउ

विशु सिञ्जालीले १३ पोल्यान्डेली पर्यटकलाई अल्टिट्युड राइडर्स प्रालिमार्फत नेपालमा मोटरसाइकल राइडको प्रलोभन दिई अनलाइनबाट विश्वासमा पारेर ठगी गरेको साइबर ब्युरोले जनाएको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणका लागि सहजीकरण गर्ने भन्दै अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा अल्टिट्युड राइडर्स प्रालिका संस्थापक, सुर्खेत बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिञ्जालीलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाइएको जानकारी दिए। उनले भने, “पर्यटकको जाहेरीपछि पक्राउ गरी सिञ्जालीलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो र अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।”

अनुसन्धानका क्रममा सिञ्जालीले आफ्नो अल्टिट्युड राइडर्स प्रालि कम्पनीमार्फत ‘नेपालस्थित मोटरसाइकल राइडको व्यवस्था गरिदिने’ भनी म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना पर्यटकलाई विश्वासमा पारेको पत्ता लागेको छ।

सिञ्जालीले राइडर्सका लागि मोटरसाइकल राइड, खाना, बस्न, तथा अन्य सहयोगसहितको सम्पूर्ण प्याकेज दिने शर्तमा सम्झौता गरी सात दिनभित्र ३० प्रतिशत रकम लिएर शर्तबमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन बनेको अनुसन्धानबाट देखिएको छ।

पीडित पोल्यान्डका नागरिकको निवेदनका आधारमा विद्युतीय माध्यमसम्बद्ध ठगीको आरोपमा खोजी गर्दा उनी रोल्पामा रहेको पत्ता लागेपछि ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो।