हिउँद/जाडो याममा पानी नपर्ने भएकाले वर्षाले प्रदूषण पखाल्ने सम्भावना भएन हाम्रोमा। जाडो भएसँगै ज्यान र वरपरको वातावरण तताउन थप इन्धनको प्रयोग गर्ने भए मान्छेले।
वर्षा याम सकिएर हिउँद लाग्न थालेसँगै प्रदूषण बढ्दो क्रममा छ। वायु प्रदूषण हुनमा कुनै पनि स्थानको भौगोलिक अवस्थितिको समेत भूमिका रहन्छ। काठमाडौँ उपत्यकाकै कुरा गर्दा डाँडाकाँडाले घेरेको एउटा खाल्डो हो यो। यस खाल्डोभित्र अनेकन् मानवजन्य कर्म हुन्छ। ती कर्मका क्रममा अनेक प्रदूषक निस्केर हावामा जान्छ।
गाडीहरूबाट निस्कने धुवाँ, भान्छामा खाना पकाउँदा निस्कने धुवाँ/खार, सडक र जमिनमा हुने मसिना धुलाका कणहरूले वायुलाई प्रदूषित पार्छ। जाडो बढेसँगै शरीर र वरपरको वातावरण न्यानो बनाउन मान्छेले दाउरा, छ्वाली, पराल र कागजलगायत सामग्री बाल्ने गर्छन्। गरिबी र अभावले ग्रस्त व्यक्ति र समुदायले त फोहर र टायरसमेत जलाएको देखिन्छ। यही बेलातिर कतिपय बालीका ठुटा, गाँज र जराहरूसमेत जलाउँछन् किसानले। यसो गरेर कृषि-बाइप्रडक्टको व्यवस्थापन गर्छन् उनीहरू।
यी सबै खालका कर्मका क्रममा धुवाँ उत्पन्न हुन्छ र सो आखिर वायुमण्डलमा नि जाने गर्छ। धुवाँसँगै धेरै हलुका र मसिना धुलाका कण पनि वायुमण्डलमै आउने भयो। के ख्याल गर्नुपर्छ भने त्यही धुवा र धुलाको कण मिसिएको हावाबाट नै हामी श्वास फेरिरहेका हुन्छौँ। पृथ्वी निवासी मानव मात्र नभई अन्य जीवले पनि यही हावाबाट सास फेर्ने हो।
अर्को सरल तथ्य के हो भने हावा तातो भयो भने सो हलुका हुन्छ र सतह/जमिनबाट उडेर क्रमशः माथि जान्छ। जाडो महिनामा काठमाडौँमा चाहिँ डाँडाकाँडाले घेरेको हुँदा यहाँभित्रको प्रदूषित वायु बाहिर निस्केर जान पाउँदैन। दिउँसो घाम लाग्दा/चर्कँदाचाहिँ त्यो प्रदूषित हावा हलुका भएर जमिनभन्दा माथि उठ्छ। त्यसो हुँदा जमिनमा रहेका मान्छे तथा अन्य जीवले पनि दिउँसो तुलनात्मक रूपमा कम प्रदूषित हावामा श्वास फेर्न पाउँछन्। त्यसैले पनि कतिपय विज्ञहरूले खुला ठाउँमा बिहान-साँझमा दौडन र या शारीरिक अभ्यास नगर्न या कम गर्न सुझाएका हुन्।
परेको पानीले चाहिँ वायुमा रहेका प्रदूषणलाई पखालेर भुईँमा झारिदिन्छ। कहिलेकाहीँ माटोका धुलोलगायत प्रदूषणका कणहरू गह्रुँगो भएर आफै जमिनमा थिग्रन्छ। आकाशका प्रदूषकहरू पखालिँदा आकाश खुला देखिन्छ। भिजिबिलिटी बढेर जान्छ। त्यसो हुँदा वर्षा याममा वायु प्रदूषण कम भएको हो।
तर यतिखेर मनसुन सकिएको छ र काठमाडौँ उपत्यकामा पनि बिहान र साँझ प्रदूषण बढ्दो छ। जाडो महिनामा नेपालमा पानी पार्ने पश्चिमी वायुले हो। मनसुनचाहिँ पूर्वबाट छिर्छ। नेपालको हकमा हाम्रो अधिकांश वर्षा (८० प्रतिशत) सबैजसो जुन, जुलाई र अगस्ट सेप्टेम्बरमा हुन्छ। त्यसो हुँदा हाम्रोमा जाडो याममा धेरै पानी पर्दैन। उता, इजरायलमा भने धेरैजसो वर्षा जाडो याममै हुन्छ।
हिउँद/जाडो याममा पानी नपर्ने भएकाले वर्षाले प्रदूषण पखाल्ने सम्भावना भएन हाम्रोमा। जाडो भएसँगै ज्यान र वरपरको वातावरण तताउन थप इन्धनको प्रयोग गर्ने भए मान्छेले। इन्धन बालेसँगै त्यसबाट उत्सर्जन हुने प्रदूषकहरूका कारण जाडो याम थप खतरापूर्ण हुन गएको हो।
काठमाडौँको हकमा यहीँ भित्रको प्रदूषण मुख्य कारक भए पनि तराई मधेसको हकमा चाहिँ आन्तरिकसँगै बाह्य–सीमापारिको प्रदूषण (ट्रान्सबन्ड्री पलुसन) पनि वायु प्रदूषणको कारक बन्ने गरेको छ। उत्तर प्रदेश र पन्जाबजस्ता सघन खेती किसानी भएको क्षेत्रबाट हाम्रोतर्फ प्रदूषण आउने गरेको छ। काठमाडौँसम्म त्यस्तो हावा आएको हाम्रै अनुसन्धानले पनि देखाएको छ। तर उताको प्रदूषण त्यति धेरै मात्रामा चाहिँ यहाँसम्म आइपुग्दैन।
त्यस्तै, नेपालमा मार्च र अप्रिलताक अझै सुख्खा हुने हुँदा यहाँका पाखा र वनजंगलमा आगलागीको प्रकोप हुन्छ। मनसुनभन्दा अगाडि (प्रिमनसुन पिरियड) मा डढेलो लाग्ने हुन्छ। त्यसले पनि हावालाई थप प्रदूषित गराउँछ। त्यो पनि काठमाडौँ उपत्यकासम्म आउँछ।
सारमा के भन्न सकिन्छ भने तापक्रम (हावाको चिसोपन) प्रदूषणको एउटा कारक हो। उडेर बाहिर जानुपर्ने हावा एकै ठाउँमा गुम्सेर रहनु (विशेष भूगोल) अर्को कारण हो। हाम्रोमा प्रदूषणका कारक सामान्य नै हुन्। तर संसारभर र हाम्रोमा पनि प्रदूषण सिर्जना गर्ने साधनहरू झनै बढ्दो छन्। शहरीकरण र जनशंख्या बढेसँगै निजी सवारी साधन खरिद र प्रयोग बढ्दो छ। त्यसो हुँदा हाम्रोमा प्रदूषण मूल रूपमा मानव सिर्जित नै हो।
त्यसो हुँदा प्रदूषणका स्रोतहरूलाई कम गरे मात्रै पनि हामी प्रदूषण कम गर्न सक्छौँ। काठमाडौँमा उद्योग र कलकारखाना धेरै छैन, तर सवारी साधन धेरै भएकाले यहाँको प्रदूषणको मुख्य स्रोत सवारी साधनहरू हुन्। धेरै संख्यामा निजी सवारी साधन हुनुको कारण हामीसँग व्यवस्थित र चुस्त सार्वजनिक सवारी साधन नहुनु पनि हो। अहिले भएकै सार्वजनिक सवारीको प्रयोग गरेर कतै जान खोज्दा पनि भनेको समयमा कतै पुग्ने सुनिश्चित हुँदैन। त्यही भएर मान्छेहरूले निजी सवारी साधन प्रयोग गरेका हुन्।
आगामी दिनमा सबै तहका सरकारले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित र चुस्त बनाउने हो भने मान्छेहरूले निजी सवारीसाधन प्रयोग कम गर्लान्। हुन त अहिले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग पनि बढेको छ। यो राम्रो कुरा हो। तर निजी स्तरमा भन्दा पनि सरकारी तहमै विद्युतीय सवारी साधनहरूलाई चुस्त र व्यवस्थित सार्वजनिक यातायातको माध्यम बनाउने हो भने त्यसले वायु प्रदूषण कम गर्न योगदान गर्न सक्छ।
काठमाडौँलगायत शहरहरूको हकमा अलि ठुला पार्कहरू बनाउन सक्दा त्यसले पनि वायु प्रदूषण न्यूनीकरणमा भूमिका खेल्न सक्छ। शहरहरूमा खुला स्थानहरूको पनि अभाव छ हामीकहाँ। मिचिएका सार्वजनिक जमिनहरू फिर्ता ल्याएर हरित करण गर्दा पनि त्यसले हावा स्वच्छ पार्न भूमिका खेल्नेछ।
त्यससँगै, जनसाधारणमा पनि प्रदूषण बारेको सचेतना बढाउन आवश्यक छ। सर्वसाधारणले पनि जे पायो त्यही डढाउने गर्नुभएन। फोहर डढाउन त झनै भएन। वायु प्रदूषणबारे स्कुलका साना बालबालिकाहरूमा सचेतना जगाउने काम गर्नुपर्यो। बालबालिकामार्फत फैलाइएको चेतना र ज्ञान दीर्घकालीन होला कि!
अर्को कुरा, चैत्र वैशाख जेठतिर ठुलाठूला डढेलो लाग्दा निरीह बनेर त्यसलाई हेरिराख्नुपर्ने अवस्था छ। ठूलो संख्यामा जीवजन्तु र वनस्पति डढिरहँदा सर्वसाधारणले केही गर्न नसक्ने अवस्था हुन्छ। आकाशबाट पानी परे निभ्छ, नपरे डढेलो महिनौँ ननिभ्ने कुरा दुखद हो। त्यसका लागि सबै तहका सरकारले प्रयास गर्नुपर्ने हो, तर प्रयास एकदमै कम देखिन्छ। कतिपय अवस्थामा चाहिँ सामान्य रूपमा लागेको आगो निभाउनसमेत कसैले चाख दिँदैनन्। कालान्तरमा त्यही आगोले ठूलो क्षेत्रको वनजंगल डढाउँछ। जमिनको जैविक विविधतालाई त नास गर्छ नै, हावालाई समेत सास फेर्न नसकिने बनाउँछ।
(काफ्ले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक हुन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
