सन्तोष परियारले छोडे रास्वपा

रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले 'फरक राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने' कारण देखाउँदै पार्टी परित्याग गरेका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। विघटित प्रतिनिधिसभामा रास्वपाका तर्फबाट प्रमुख सचेतक रहेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन्।

उनले राजीनामा पत्रमा लेखेका छन्, “बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसमेत नरहने जानकारी गराउँदछु।”

रास्वपाका प्रवक्ता मनिष झाले परियारले पार्टी छोडेको पुष्टि गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिए। यसअघि रास्वपाका तर्फबाट शिक्षामन्त्री बनेकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन्।