डोल्पाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइयस अपरेटर हरिचन्द्र विष्टविरुद्ध आरोपपत्र दायर गरेको हो।

खरिद प्रक्रिया मूल्यांकनमा संलग्न बोलपत्र मूल्यांकन समितिका सदस्य तथा आयोजनाका इन्जिनियर शिशिरकुमार गुरुङ, निर्माण कम्पनी दिव्यानिर्माण सेवा प्रालि दुनै डोल्पा र सो कम्पनीका भीमराज न्यौपानेलाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको वडा नं. ५ स्थित खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा आरोपपत्र दायर गरिएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सबै आरोपितविरुद्ध जनही ५५ लाख ८९ हजार ६३ रुपैयाँ ६ पैसा बिगो कायम गरिएको छ।