हाल अमेरिकामा करिब चार प्रतिशत उडान कटौती गरिएका छन्। यातायातमन्त्री सेन डफीका अनुसार ‘शटडाउन’ लामो समयसम्म रहिरह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।
अमेरिकी संघीय सरकारको बन्द (शटडाउन) का कारण उत्पन्न आर्थिक संकटका कारण हवाई यातायात प्रणाली प्रभावित भएको छ। संकटका बाबजुद अधिकांश नियमित उडानहरू सञ्चालनमा रहे पनि यात्रुहरूले विमानस्थलहरूमा व्यापक असुविधा भोगिरहेका छन्। शुक्रबार मात्रै देशभरका एयरलाइन्सहरूले करिब एक हजार उडान रद्द गरेका छन्।
शटडाउनका कारण हवाई यातायात नियन्त्रकहरूले तलब पाएका छैनन् र उनीहरूमा कार्यभार पनि अत्यधिक बढेको छ। यसबाट उत्पन्न तनाव कम गर्न संघीय उड्डयन प्रशासन (एफएए)ले व्यस्त विमानस्थलमा सेवा घटाउने आदेश दिएको छ। फलस्वरूप, एटलान्टा, डलास, डेनभर, शार्लोटलगायत प्रमुख विमानस्थलहरूमा यात्रुहरूले लामो सुरक्षा लाइन देखिनुका साथै अन्तिम क्षणमा उडानहरू रद्द भएका छन्।
एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन्। यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यातायातमन्त्री सेन डफीका अनुसार यदि ‘शटडाउन’ लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।
ह्युस्टनको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रुहरू बिहानैदेखि लामो लाइनमा उभिन बाध्य भए। कतिपयले कुर्दा–कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए। एटलान्टामा पुगेकी कारा बर्गेरोनले भनिन्, “लाइनहरू लगातार सर्दै थिए, यस्तो भीड मैले पहिले कहिल्यै देखेकी थिइनँ।”
केही यात्रुलाई भने अझ कठिनाइ भयो। कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उनलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो। उनले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोजे पनि उपलब्ध भएन। अन्ततः उनी ‘क्रस–कन्ट्री ट्रक चलाएर जानुपर्ने’ भयो।
भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको बताएका छन्।
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडानहरू रद्द भएका थिए। यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो। वासिङ्टनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो। यहाँ १८ प्रतिशत उडान अर्थात् करिब ८० भन्दा बढी रद्द गरिए।
डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ। अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ। साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ। युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुहरूलाई पुनः बुकिङका लागि सक्रिय प्रयास गरिरहेको बताएका छन्।
ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो। नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ।
यातायातमन्त्री डफीको भनाइ छ, “हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ।”
विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ। अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृंखलामा पनि प्रभाव पार्नेछ।
एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भने, “हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो। यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ।”
एयरलाइन्सको नियन्त्रणमा नभएको कारणले उडान रद्द भएमा मात्र टिकट फिर्ता गर्न सरकारले निर्देशन दिएको छ। यस्तो अवस्थामा एयरलाइन्सहरू खाना र बस्ने खर्च दिन बाध्य हुने छैनन्।
यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भनिन्, “आतंकित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस्।”
शटडाउन छिट्टै अन्त्य नभए आगामी बिदाका दिनअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
