कांग्रेस नेता अफताव आलमको निधन

आलमलाई दशैँअघिदेखि अस्पतालमा राखिएको थियो। एक सातायता स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ।

उच्च रक्तचाप, सुगरलगायत समस्या देखिएपछि महिनायता काठमाडौँको सीनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइहेका आलमको शनिबार बिहान निधन भएको कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्माले जानकारी दिए। 

आलमलाई दशैँअघिदेखि अस्पतालमा राखिएको थियो। पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

आलम २०५१ सालको उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए। विजयी भएसँगै २०५४ सालमा श्रम राज्यमन्त्री र २०५५ सालमा वन राज्यमन्त्री भएका थिए। 

त्यसपछि २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए। त्यसपछि भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्री बने। 

आलमले २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए। 

उच्च अदालतको वीरगन्ज इजलासले सफाइ दिएपछि उनी कारागारमुक्त भएका थिए। पछि उनलाई ब्रेन स्टोक भएको थियो। आलमका दुई छोरा र एक छोरी छन्।