टुकुटुकु बन्दीपुरे उकाली

स्कुल त फेरियो तर तारन्तार विद्यालय फेर्दा मेरो पठनपाठन सोचेझैँ अघि बढ्न सकेन। बन्दीपुरमा मेरो पढाइले छुट्टै लय लिएको थियो, त्यो बीचमै रोकियो।

‘बन्दीपुरे उकाली लामो, मर्स्याङ्दी डुङ्गाले तरेर’ बोलको कवि मविवि शाहको प्रकृति प्रेमले भरिपूर्ण गीति कविताको हरफसँग साक्षात्कार धेरैपछि मात्र भएको हो। त्यो गीत तारादेवीको मधुर स्वरमा रेडियोमा सुनेको पनि एसएलसी दिने बेलातिरको हुनुपर्छ। त्यो गीति कविताको भित्री मर्म र गीतको भाका टिप्न नसके पनि बन्दीपुरे उकालीसँग मेरा पाइला सानै उमेरदेखि गाँसिएको थियो। 

२०२२ सालमा म जन्मेको गाउँको प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरेपछि मेरो पढाइ अन्योलमा पऱ्यो। त्यस बेला म दश वर्ष पनि पुगेको थिइनँ। आफू जन्मेको गाउँको स्कुलले मलाई दिन सक्ने त्यति नै थियो। त्यस बेला गाउँका केटाकेटी धेरैले पढ्ने भनेको पनि त्यति नै थियो। तर बुबाआमालाई भने मलाई जसरी भए पनि थप पढाउनु थियो। त्यही उद्देश्य पूरा गर्न आमाको हात समातेर म बन्दीपुर गएँ। त्यहीँबाट मेरो माध्यमिक शिक्षाको सुरुवात भएको हो।

सानो बच्चा थिएँ, पहिलो पटक खोलाघाटमा डुङ्गा चढ्दा मर्स्याङ्दी नदीको नीलो पानी समुद्रजस्तै लाग्यो। त्यहाँबाट नागबेली परेको बन्दीपुरे ठाडो उकालो हिँड्दा मलाई  हिमाल चढेजस्तै भयो। त्यस्तो उकालो बाटो मैले पहिलो पटक हिँडेको थिएँ। सुईँसुईँ  स्याँठ चल्ने उकालो बाटो दिनभर हिँडेर हामी आमाछोरा साँझ झमक्क परेपछि बन्दीपुर बजार पुगेका थियौँ। हामी पुग्दा त्यहाँको मुख्य बजार मइन्टोलको उज्यालोले धपक्क बलेको थियो। मट्टितेलको टुकीको भरमा मेरो बाल्यकाल बितेकोले बजारको झिलिमिली उज्यालोले मलाई एक छिन तिरिमिरी बनायो।

त्यतिखेर बन्दीपुरको रवाफ नै अर्को थियो। बन्दीपुर लामो समयसम्म तनहुँ जिल्लाको सदरमुकाम थियो। बन्दीपुर बजार उत्तर मनाङदेखि तराईको ठोरीसम्म जोड्ने नुनतेल मार्गमा पर्ने पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रमध्ये एक थियो। ढुङ्गाले छापेको बजारमा सखारैदेखि भरियाहरूको लौरीको आवाज सिपाहीले बुट बजारेझैँ सुनिन्थ्यो।

बन्दीपुर बजारको ठूलो तामझाम थियो। म भर्ना भएको भानु हाइस्कुल सिमेन्टले प्लास्टर गरेको दुई तले भवनमा सञ्चालित थियो। तनहुँ जिल्लाकै नामुद स्कुलमा गनिने सो स्कुलको रबाफ अर्कै थियो। फुसको छानाको गाउँले स्कुलमा पढेको यो कलिलो बच्चो नयाँ स्कुलमा भर्ना भएको केही दिन त रनभुल्लमा पऱ्यो। रहँदा-बस्दा बिस्तारै बानी पर्दै गयो।

कक्षामा फुच्चे केटामध्ये म एक थिएँ। फुच्चे हुनुको फाइदा पनि थियो। हामी साना फुच्चे केटाहरू सबैभन्दा अगाडिको बेन्चमा बस्थ्यौँ, अलि ठूला विद्यार्थी पछाडिको बेन्चमा बस्थे। स्वभावतः सँगै बेन्चमा बस्ने मजस्तै फुच्चे केटाहरूसँग मेरो पहिलो मित्रता गाँसियो, जसमध्ये थिए–गजेन्द्र, क्षेत्र र माधव आदि। कक्षामा अरू पनि मिल्ने साथी थिए। सबैको नाउँ अहिले याद हुँदैन, दुःख लाग्छ।

माधवसँग भने सुरुवाती दिनमा नै झगडा भयो–अनाहकमा मेरो नयाँ किताब कापी च्यात्यो उसले। मैले पनि उसको किताबकापी च्यातेर उसको घमन्ड तोडेँ। त्यसको सजाय हामी दुवैले पायौँ। शिक्षकले हामीलाई दिनभर अफिस कोठामा उभ्याए। त्यसपछि उसको र मेरो बोलचाल बन्द भयो। एउटै बेन्चमा बसे पनि बोलचाल हुन्थेन। साथीहरूले धेरै प्रयास गरे, सरहरूले पनि हामी दुवैको कान निमोठे। तर हामी बोलेनौँ। 

बालसुलभ कलिलो हृदयमा चोट बिझेपछि निको हुन धेरै गाह्रो हुँदो रहेछ।

गाउँको प्राइमरी स्कुलबाट एकाएक हाई स्कुलमा पढ्दा पठनपाठनको स्तरमा ठूलो भिन्नताको कारण सुरुमा निकै सकस परे पनि त्यसलाई बिस्तारै चिर्न सफल भएँ। पढाएको बेला ध्यान दिएर सुन्थेँ। भनेको बेला पाठ बुझाउँथेँ। त्यसले गर्दा सरहरूको लाडप्यार पाएको थिएँ। त्यसरी माया गर्ने सरहरूमा क्लासटिचर शुक्र प्रधान अनि मथुरालाल प्रधान, विश्वनाथ आचार्य आदि थिए।

मेहनतकै फल होला–स्कुलको वार्षिक परीक्षामा यस फुच्चे केटोले कक्षामा प्रथम स्थान ल्याउन सफल भयो। तर उसलाई त  के थाहा? रिजल्ट आउँदाताक ऊ हिउँदे बिदामा घरमा रमाइरहेको थियो। पछि पुरस्कारस्वरूप कक्षा ७ को एक झोला किताब हात परेपछि मात्र थाहा पाएको थियो।

छोरा क्लासमा पहिला भएकोमा बाआमाको खुसीको सीमा थिएन। उहाँहरूले छोराले पढाइ राम्रो गरोस् भनेर भीमसेनलाई भाक्नु भएको रहेछ, कबोलअनुसार चढाउनुभयो। 

कक्षा ६ मा प्रथम भईकन पनि मैले प्यारो बन्दीपुरको भानु हाई स्कुलमा कक्षा ७ मा पढ्न पाइनँ। बुबाले मलाई त्यहाँबाट झिकेर हाम्रै छिमेकी गाउँ गाईखुरको लक्ष्मी हाई स्कुलमा भर्ना गर्नुभयो। त्यसरी स्कुल सार्नुको मुख्य कारण छोरालाई घरबाट नजिकको विद्यालयमा ल्याउनु थियो।

हेर्दा त बन्दीपुरको डाँडा हाम्रो गाउँबाट मर्स्याङ्दीपारि नजिकै देखिन्थ्यो। तर त्यहाँ पुग्न बर्सातको समयमा दुई दिन लाग्थ्यो। वर्षा लागेपछि खोलाघाट र सतीघाटमा डुङ्गा लाग्थेन। काशी जाने कुत्तीको बाटो भनेझैँ छोरा भेट्नकै लागि बुबा घरबाट दक्षिण लाग्नुपर्नेमा उल्टो उत्तरदिशाको बाटो समातेर चेपेघाट अनि तार्कुघाटको मर्स्याङ्दीको पुल तरेर फेरि दक्षिण दिशा समात्दै बन्दीपुर धाउनुहुन्थ्यो।

मलाई वर्षको एक पटक दशैँको बिदामा घर आउन पनि ज्यानको बाजी लगाउनुपर्थ्यो। असोज महिनामा मर्स्याङ्दीको उर्लँदो भेलमा बोटेहरूले जोखिम मोलेर डुङ्गा चलाउँथे। कहिलेकाहीँ त डुङ्गा घाटभन्दा धेरै तल नदी किनारामा उत्रन्थ्यो। पानीको छालले हिर्काएर निथ्रुक्क भिजिन्थ्यो। डुङ्गा नदीको तीरमा किनारा लागेपछि बल्ल ठूलो सास फेरिन्थ्यो। स्कुल फेर्नुको मुख्य कारण त्यही थियो।

स्कुल त फेरियो तर तारन्तार विद्यालय फेर्दा मेरो पठनपाठन सोचेझैँ अघि बढ्न सकेन। बन्दीपुरमा मेरो पढाइले छुट्टै लय लिएको थियो, त्यो बीचमै रोकियो। मलाई माया गरेर पढाउने सरहरू त्यतै छुटे, मिल्ने साथीहरूलाई पनि मैले धेरै 'मिस' गरेँ। नयाँ स्कुलमा भर्ना हुँदा सुरुसुरुमा पुराना साथीहरूसँग ज्यादै न्यास्रिएँ।  गाईखुरमा मेरो पढाई पार लाग्लाजस्तो भएन। एक वर्ष जसोतसो काटेर फेरि बन्दीपुर फर्केँ।

बन्दीपुर आउन पाउँदा म धेरै रमाएँ। किनकि त्यहाँ मेरा नजिकका  आफन्त थिए, पहिले देखिका साथीभाइ थिए। धेरै माया गर्ने सरहरू थिए। सरहरू पनि उनै थिए, खेल्ने साथी पनि तिनै। चिजकुमार 'मित्र' हेडमास्टर थिए। विज्ञान विषय पढाउने देवीदत्त पौडेल भर्खर आएका थिए, जो 'सरजु' सरको नामले विद्यार्थीमाझ चिनिन्थे। पछि उनी त्रिभुवन विश्वविद्यालयमा भौतिक विज्ञानको विशिष्ट प्राध्यापकको साथै रोनास्टको प्राज्ञसमेत भए। गणित विषय राजकुमार श्रेष्ठ र भूगोल वुधेन्द्रराज जोशीको भागमा थियो भने सामाजिक विषयको जिम्मा मथुरालाल प्रधानको थियो। नेपाली र संस्कृत विषय हाम्रा सुपरिचित गुरु चुँदीरम्घाका विश्वनाथ आचार्यले  पढाउँथे।

माध्यमिक कक्षामा अङ्ग्रेजी विषय पढाउन काठमाडौँबाट एमए पास गरेका एक शिक्षक थपिए, जसलाई हामी एमए सर भन्थ्यौँ। उनी हामीलाई अङ्ग्रेजी व्याकरण कण्ठस्थ घोकाउँथे। कण्ठ नगर्नेलाई छडीले पिट्थे। उनको पिटाई मैले पनि खाएँ। विद्यार्थीमाझ उनको राम्रो छवि बन्न सकेन। जसरी आए, त्यसरी नै चाँडै गइहाले। हामीलाई उनको वास्तविक नामसमेत थाहा भएन।

बन्दीपुरकै रामकुमार 'जीवनमित्र'ले पनि हामीलाई केही समय अङ्ग्रेजी पढाए। उनी पनि एमए पास थिए। त्यतिखेर विश्वविद्यालयवाट एमए पास गर्नुलाई ठूलो सफलता र योग्यता ठानिन्थ्यो। पहिलेका एमए सर र जीवनमित्र सरमा आकाश जमिनको फरक थियो। उनी मधुर स्वरमा हामीले बुझ्नेगरि बिस्तारै पढाउँथे। पछि उनी भूमिसुधार अधिकारी पनि भए। मैले कलेज सिद्ध्याएर जागिरे जीवनमा प्रवेश गर्दासमेत उनीबाट प्रेरणा पाइरहेँ। शालीन व्यक्तित्वका धनी 'जीवनमित्र' सरको काठमाडौँको महाराजगन्जमा मोटरसाइकल ठक्करबाट निधन भएको खबरले हामी धेरै  मर्माहत भयौँ।

विज्ञान र गणित विषय 'सरजु' सरले कुशलतापूर्वक अध्यापन गरिरहेका थिए। तर अङ्ग्रेजी विषय पढाउने दक्ष शिक्षकको भने स्कुलमा खडेरी नै थियो। २०२३ सालमा हेडमास्टरको अभिभारा बोकेर चिजकुमार श्रेष्ठको आगमनपछि स्कुलको मुहार नै फेरियो। हामी विद्यार्थीमाझ उनी 'अकेला' सरको नामले सुपरिचित थिए, जुन उनको उपनाम थियो। त्यतिखेर बन्दीपुरमा पढेलेखेकाहरूमा त्यसरी उपनाम राख्ने फेसन नै थियो। हाम्रै स्कुलमा  'मित्र', 'जीवन मित्र', 'सरजु' सर थिए। थपिन पुगे 'अकेला' सर।

प्रधानाध्यापकको रूपमा 'अकेला' सर जति कुशल व्यवस्थापक थिए, अङ्ग्रेजी विषयको शिक्षकको रूपमा उत्तिकै अब्बल। तर स्कुलमा उनको अभिभावकत्व हामीले छोटो समयको लागि मात्र पायौँ। ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा भाषाबिज्ञान विषयमा उच्च अध्ययनको लागि उनी २०२६ सालको सुरुतिर बेलायत गए। बेलायतको अध्ययनपश्चात्  उनले पिसकोरमा काम गर्न सुरु गरे, स्कुल फर्किएनन्। आफ्नो मुटुभन्दा प्यारो जन्मस्थल बन्दीपुर अनि उत्तिकै प्यारो भानु हाई स्कुललाई छाड्नु पर्दाको पीडा चिज सरले आफ्नो आत्मसंस्मरण ‘घुमीफिरी बन्दीपुर’मा विस्तृत उल्लेख गरेका छन्। 

त्यसको केही समयपछि 'सरजु' सरले पनि स्कूल छाडेपछि हाम्रो पढाई बेहाल भयो। ‘मित्र’ सर त ‘अकेला’ सरलाई हेडमास्टरको जिम्मेवारी सुम्पेर पहिल्यै चितौन गइसकेका थिए। त्यसरी एकपछि अर्को गर्दै सरहरूले स्कुल छाड्दै गएपछि विद्यालयको पठनपाठन नराम्ररी प्रभावित हुन पुग्यो, जसको  प्रत्यक्ष असर हामी विद्यार्थीलाई पर्ने नै भयो। कक्षा ९ मा पुग्दा म आफैँ फ्रन्टबेन्चको आसलाग्दो विद्यार्थीबाट एकाएक ब्याकबेन्चर हुन पुगेँ। पछाडिको बेन्चमा बसेर हल्ला गर्ने, कापीको पाना च्यातेर जहाज बनाएर उडाउने, अनि पछाडिबाट चकले हिर्काउनेजस्ता उटपट्याङ क्रियाकलाप गर्ने  लोथर विद्यार्थीको जमातमा म पनि सामेल भएँ।

त्यतिखेर हामी फुच्चे केटाहरूको एउटा समूह पनि थियो, जुन गुच्चा खेल्ने ग्रुपको नाउँले चिनिन्थ्यो। त्यो समूहमा हाम्रै कक्षाका गजेन्द्र, क्षेत्र, म अनि हामीभन्दा एक कक्षा मुनिका नमस्ते, द्वारिका र जगन्नाथलगायत थिए। स्कुल छुट्टी हुनासाथ हाम्रो काम गुच्चा लडाउनु हुन्थ्यो। त्यो सीपमा मैले राम्रै प्रगति गरेको थिएँ। त्यसरी बीच बजारमा गुच्चा लडाउँदा कहिलेकाहीँ सरहरूको सातो पनि खाइन्थ्यो।

त्यति भएर पनि एक विषयमा भने मैले सरहरूको मन जितेको थिएँ। स्कुलमा प्रत्येक शुक्रवार प्राय केही न केही अतिरिक्त क्रियाकलाप हुने गर्दथ्यो–खेलकुद, साहित्यिक कार्यक्रम, वादविवाद प्रतियोगिता आदि। मेरो रुचिचाहिँ वादविवाद प्रतियोगितातिर हुन्थ्यो। वादविवादको विषय हुन्थ्यो–कलम ठूलो कि तरबार?, विद्या ठूलो कि धन?, गाउँले जीवन कि सहरी जीवन? आदि। प्रतियोगी विद्यार्थीहरू स्वभावतः विषयको पक्षमा बोल्न उद्धत हुन्थे, तर मलाई प्रतिपक्षको तर्फबाट वादविवाद गर्न मन पर्थ्यो। त्यसरी तर्क प्रस्तुत गर्दा निर्णायक सरहरू र विद्यार्थी साथीहरूले पनि ध्यान दिएर सुन्थे। त्यही कारणले होला, स्कुलको वादविवाद प्रतियोगितामा प्राय: हाम्रो टिमले जित्थ्यो। त्यसबेला मेरा खुट्टा भुईँमा हुन्थेनन्।

दश कक्षामा पुगेपछि भने पढाइमा अलि ध्यान दिनुपर्ने भयो। अब भने गुच्चा खेलेर पार लाग्थेन, वादविवाद प्रतियोगितामा भाग लिएर मात्र पनि पुग्थेन। एलएलसीको तयारीको लागि कोर्सको किताबमा घोटिनुपर्थ्यो। मेरो रुचि विज्ञान र गणित विषयभन्दा इतिहास, भूगोल, नागरिक शास्त्र अनि नेपाली विषयतिर बढी थियो। तर एसएलसीमा प्रथम श्रेणीमा पास हुने हो भने नम्बर ल्याउने भनेकै मुख्यतया गणित र विज्ञान विषय थिए। ती दुवै विषयमा म  कमजोर थिएँ।

एसएलसीको 'टेस्ट परीक्षा' सकिएपछि फाइनल जाँचको लागि हाम्रो परिक्षाकेन्द्र चितवनको भरतपुरमा तोकिएको थियो। त्यतिन्जेलसम्म तनहुँ जिल्लाभर एउटा पनि परिक्षाकेन्द्र थिएन। गोर्खा, लमजुङ र तनहुँ जिल्लाको लागि लमजुङको सदरमुकाम कुन्छा बजारमा एउटा परीक्षा केन्द्र थियो, जुन हाम्रो लागि पायक पर्थेन। त्यसैले परीक्षा फारम भर्दा भरतपुर सेन्टर रोजेका थियौँ।

बन्दीपुरबाट दुई दिनको पैदल बाटो हिँडेर गाईघाटमा, नारायणी नदीमा डुङ्गा चढेर जुगेडी भन्ने ठाउँ पुगेपछि मैले पहिलो पटक मोटर देखेँ। देखेँ मात्र होइन, त्यहाँबाट  नारायणघाटसम्म कच्ची मोटर बाटोमा थोत्रो स्रेब्रोलेट जीपको उफार्ने-थर्चाने यात्रा पनि गर्न पाइयो। जाँच दिनका लागि दुई महिना नारायणघाटमा बस्दा पढाइमा भन्दा बजारको रमझममा नै भुलियो। क्याम्पाचौरमा कैचीमार शैलीमा साइकल सिक्न खोज्दा धेरै पटक लडेँ, तर साइकल सिक्न सकिनँ। बरु त्यही नजिकको गणेश चलचित्र मन्दिरमा पहिलो पटक 'अन्दाज' नामको  हिन्दी सिनेमा हेरेँ।

त्यसपछि के चाहियो? फिल्म फेरिने बित्तिकै  सिनेमा हल धाउने त बानी नै पऱ्यो। जाँचको समय नजिक नआउन्जेल पढाई पाखा लागेजस्तै भयो। घुँडा घसेर पढ्नुपर्ने बेलामा त्यसरी रल्लिएर हिँडेपछि जाँच के राम्रो होस्? त्यति हुँदाहुँदै पनि थोरै नम्बरले एसएलसी परीक्षामा प्रथम श्रेणीबाट वञ्चित हुन पुगियो। गणित विषयमा त जसोतसो पास भइयो। 

त्यसो त हाम्रो ब्याचमा कसैले पनि प्रथम श्रेणी ल्याउन सकेनन्। हामीभन्दा अघिल्लो ब्याचका केही विद्यार्थीले प्रथम श्रेणी हासिल गरी स्कुलको नाक जोगाएका थिए। त्यसभन्दा अघि २०२४ सालको एसएलसी परीक्षामा हाम्रो स्कुलका छात्र गणेशबहादुर थापाले बोर्डमा चौथो स्थानमा नाम निकालेर स्कुलको मात्र नभै तनहुँ जिल्लाकै मान र शान राखेका थिए। हामीले जाँच दिएको वर्ष २०२६ को एसएलसी परीक्षामा मेरै गोरखा जिल्लाको अमर ज्योति हाई स्कुलका मेधावी छात्र बाबुराम भट्टराईले बोर्ड प्रथम भई तहल्का मच्चाएका थिए। त्यो इज्जत हाम्रो ब्याचले धान्न सकेन।

धन्न त्यो वर्ष हाम्रो स्कुलबाट एसएलसी परीक्षामा द्वितीय श्रेणीमा सबैभन्दा बढी अंक ल्याउनेमा म नै हुन पुगेछु। अहिले हेरिल्याउँदा लाग्छ–जाँचको बेला नारायणघाटको क्याम्पाचौरमा साइकल सिक्न छाडेर पढाइमा अलिकति ध्यान दिएको भए सायद नतिजा अर्कै निस्कन्थ्यो कि? त्यो त उम्किएको माछो ठूलो भने जस्तो भइहाल्यो।

एसएलसी परीक्षाको नतिजा जे जस्तो आए पनि त्यसले  मेरा लागि उच्चशिक्षाको ढोका खोलिदियो। फेल भएको भए पढाइमा ब्रेक लाग्थ्यो कि, के थाहा? धेरै वर्षपछि अहिले पछाडि फर्केर हेर्दा मलाई लाग्छ- त्यो त्यही बन्दीपुरे उकाली थियो, जहाँबाट मैले स्कुले पढाइको यात्रा सुरु गरेको थिएँ। त्यसपछि त्रिचन्द्र कलेज हुँदै त्रिभुवन विश्वविद्यालयसम्मको मेरो शैक्षिक यात्रा औसतभन्दा राम्रो रह्यो। त्यसको श्रेय तिनै श्रद्धेय शिक्षकहरूलाई जान्छ जसले अध्ययन, अनुशासन र अनुशीलनको पहिलो पाठ पढाउनु भएको थियो। त्यो ज्ञान किताबको ज्ञानभन्दा कैयौँ गुना महत्त्वपूर्ण थियो।

स्कुलको अध्ययन सकेर कलेज पढ्न काठमाडौँ गएपछि बन्दीपुरसँग बिस्तारै टाढिएँ। स्कुल पढ्दा मलाई असाध्यै माया गर्ने सरहरूको सानिध्य छुट्दै गयो। गुच्चा खेल्ने बालसखाहरूको साथ पनि टुट्दै गयो। धेरै वर्षको अन्तरालमा एक पटक बन्दीपुर घुम्न गएको थिएँ। तर त्यहाँ मेरा बालसखा कोही भेटिएनन्। बाल्यकालमा त्यतिका वर्ष बिताएको ठाउँ मलाई किनकिन बिरानो र अनौठो लाग्यो। समयले हामीलाई धेरै पछाडि धकेली सकेझैँ लाग्यो।

समय बदलियो, बन्दीपुरले पनि नयाँ काँचुली फेऱ्यो। धेरैले उसलाई अहिले पहाडकी रानी भन्दै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा लिन्छन्। बन्दीपुरको कलेबर फेरिए पनि मेरो कलिलो हृदयमा बसेको बन्दीपुरको त्यस बेलाको मानचित्र कहिल्यै फेरिएन। उही छपनी ढुङ्गा, उही मइन्टोलको उज्यालोले धपक्क बलेको बजार अनि बीच बजारमा हाम्रो गुच्चा खेल्ने साना फुच्चे केटाहरूको कल्याङल्याङ।

बालककालको बन्दीपुरको सम्झना त अरू पनि धेरै छन्। तर सम्झनाको तरेलीमा कहिल्यै नमेटिने त मेरो प्यारो मर्स्याङ्दी र त्यसपछि आउने बन्दीपुरे उकाली नै हो। बन्दीपुर बजारको पल्लो छेउको टुँडिखेलबाट हेर्दा मर्स्याङ्दी नदी उस्तै गरी बगिरहेको छ, तर अहिले खोलाघाटमा डुङ्गा लाग्दैन। त्यसपछि आउने बन्दीपुरे उकालीको पनि अहिले नामनिसान छैन। ती सबै विस्मृतितिर धकेलिइसके।

मैले कहिल्यै नर्बिसने सम्झना हो–पहिलो पटक डुङ्गा चढ्दा देखेको मर्स्याङ्दी नदीको नीलो पानी, जहाँको पानी छोएर आमाले 'हरहर गङ्गे' जप्नु भएको थियो। अनि डुङ्गा चढ्दा बच्चालाई कहाली लाग्ला भनेर आमाले मेरो अनुहार पछ्यौरीले ढाकेको सम्झना अहिले पनि आँखा अगाडि झलझली आउँछ।

मर्स्याङ्दी नदी डुङ्गामा तरेर त्यसपछि आउने नागबेली बन्दीपुरे उकाली त झन् म कसरी बिर्सन सक्थेँ र? वनको बाटो नागबेली उकालोमा मृगको बच्चाजस्तै फुत्रुकफुत्रुक उफ्रँदै हिँड्दाको मेरा कलिला खुट्टाको पदचापको ध्वनि अहिले पनि मानसपटलमा गुन्जिरहन्छ।

अनि सम्झन्छु त्यही पुरानो गीत, ‘बन्दीपुरे उकाली लामो, मर्स्याङ्दी डुङ्गाले तरेर।’

(पूर्व राजदूतसमेत रहेका लेखक श्रेष्ठका 'मैत्री एक्सप्रेस’, ‘नोस्टालजिया रिभिजिटेड’लगायतका कृति प्रकाशित छन्।)