सरसफाइ नभएको भन्दै ओम अस्पतालको क्यान्टिन ७ दिन बन्द

काठमाडौँ महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग टोलीले गरेको अनुगमनका क्रममा सरसफाइमा लापरबाही गरेको पाइएपछि ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ।

काठमाडौँ– सरसफाइमा लापरबाही गरेको भन्दै चाबहिलस्थित ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ। काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा सरसफाइमा लापरबाही गरेको पाइएपछि क्यान्टिन बन्द गर्न निर्देशन दिइएको हो।

हेल्दी बाइट्स सर्भिसेज् प्रालिले सञ्चालन गरेको उक्त क्यान्टिनमा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अत्यन्त अस्वच्छ वातावरण, कीटनाशक नियन्त्रण व्यवस्था सन्तोषजनक नरहेको र लेबलविहीन खाद्य वस्तु प्रयोग गरिएको भेटिएको थियो।

अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्तासमेत नगरेको पाइएपछि सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो।

ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालिका प्रशासनिक प्रबन्धक विपिन जंगमले हाल क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको बताए। “हामी संरचना मर्मत, रङरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउनेछौँ,” उनले भने।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीका अनुसार, तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत रूपमा राम्रो देखिएको थियो। तर, दुवै क्यान्टिनमा पनि कीटनाशक नियन्त्रणको व्यवस्था सन्तोषजनक थिएन।

मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा सुधार आवश्यक रहेको पाइएको थियो। टोलीले सञ्चालकहरूलाई पेस्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको छ।

त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनलाई पनि खाद्य रङको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ।

महानगर र खाद्य विभागले कानूनअनुसार स्वच्छ र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेस्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको छ।