दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने

नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ।

दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी सञ्चालन हुने
फाइल तस्वीर

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी युवराज खड्काका अनुसार, कल्भर्ट निर्माण भइरहेकाले एकतर्फी मात्र सञ्चालन गर्न लागिएको हो। 

दाउन्नेमा विगत केही दिनदेखि यातायात सञ्चालनमा समस्या हुँदै आएको छ। केही दिनअघिको झरीका कारण सडक चिप्लो र हिलो हुँदा उकालोमा सवारी उक्लिन नसकेर यातायात सञ्चालनमा समस्या हुँदै आएको छ। 

दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। सडकको अवस्था बुझेर अवरोध भएका खण्डमा वैकल्पिक बाटो प्रयोग गर्न उनले यात्रुलाई अनुरोधसमेत गरे। 

दाउन्ने खण्डमा सधैँजसो सवारीको जाम लाग्ने गरेकामा एकतर्फी हुँदा थप समस्या हुने यात्रुको गुनासो छ। नारायणगढ–बुटवल सडक विस्तारको काम शुरू भएदेखि दाउन्ने खण्डको यात्रा कष्टकर हुँदै आएको छ। 

अन्य क्षेत्रमा सडक विस्तारको काममा प्रगति भए पनि दाउन्ने क्षेत्रमा पहाड काट्ने, नाला तथा कल्भर्ट निर्माणमा ढिलासुस्ती हुँदा आवागमन समस्या हुने गरेको छ।