अफगानिस्तानमा फेरि गयो शक्तिशाली भूकम्प

सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।

काठमाडाैँ– अफगानिस्तानमा फेरि एक पटक शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान देशको उत्तरी भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म शहरबाट २२ किलोमिटर दक्षिण-पश्चिममा रहेको ​​​​​​मजार-ए-शरीफ नजिकै २८ किलोमिटर गहिराइमा गएको बताएको छ। त्यस क्षेत्रमा लगभग पाँच लाख २३ हजार जनसंख्या छ।

स्थानीय समयानुसार बिहान १२:५९ बजे भूकम्पको धक्का महसुस गरिएको थियो। समाचार एजेन्सी रोयटर्सले कम्तीमा ७ जनाको मृत्यु भएको र १५० भन्दा धेरै घाइते भएका उल्लेख गरेको छ। 

"आज बिहानसम्म १५० जना घाइते र सात जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ र उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ," मजार-ए-शरीफ नजिकैको पहाडी उत्तरी प्रान्त समंगनमा स्वास्थ्य विभागका प्रवक्ता समिम जोयान्डाले रोयटर्सलाई बताए।

गत अगस्टमा पनि अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको थियो। त्यतिबेला गएको भूकम्प र श्रृंखलाबद्ध परकम्पनका कारण हजारौंको मृत्यु भएको र हजारौं घाइते भएको तालिबान प्रशासनले जनाएको छ।

अफगानिस्तान भूकम्पको हिसाबले संवेदनशील मानिन्छ, किनकि यो देश दुई प्रमुख सक्रिय प्लेटहरूमा अवस्थित छ। यसले गर्दा भूकम्प आइरहने र क्षति पुर्‍याउने सम्भावना हुन्छ।

सन् २०१५ मा, उत्तरपूर्वी अफगानिस्तानमा भूकम्प जाँदा अफगानिस्तान र नजिकैको उत्तरी पाकिस्तानमा सयौंको मृत्यु भएको थियो। सन् २०२३ मा अर्को भूकम्पले कम्तिमा दुई हजार जनाको ज्यान लिएको थियो।