सिंहदरबार जल्नुका अनेक कारण होलान्, तर…

सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्वीकार्नै पर्छ।

नेपालको इतिहासका पानामा धेरै आन्दोलन भए—कुनैले राणा शासनको त कुनैले राजतन्त्रको जरो उखेले। कुनैले प्रजातन्त्रको ज्योति बाले र कुनैले सामाजिक न्यायको लागि रगत बगाए। तर २०८२ को जेनजी आन्दोलनले देशको राजनीति, प्रशासन र जनजीवन नै हल्लाइदियो। युवा पुस्ताको क्रोधको स्वर थियो आन्दोलन, जसले वर्षौँदेखि सहेका अन्याय, भ्रष्टाचार र असमानताविरुद्धमा विद्रोहको आगो बाल्यो। सडकका ब्यारिकेड सडकमै फ्याँक्दै सरकारी भवनहरूमा त्यसले तोडफोड गर्‍यो र अन्ततः सिंहदरबारलाई आगोको लपेटामा पार्‍यो।

यो आगजनीलाई दुर्घटना, आन्दोलनकारीको उन्माद र कसैको षड्यन्त्र मात्रै भन्नु गलत हुन्छ। इतिहासका धुलाम्य अभिलेखहरू एक छिन छोडेर हृदयबाट हेर्ने हो भने सिंहदरबार आफ्नो अहंकार, भ्रष्टाचार र जनताप्रतिको क्रूर उदासीनताको कारणसमेत जल्यो। यो जलन राष्ट्रिय धनजनको विनाश मात्र होइन, वर्षौँदेखि सञ्चित कुसंस्कार, अन्याय र विभेदको पराकाष्ठासमेत थियो। सिंहदरबार जल्नुमा यसका 'पाप' पनि धेरै हदसम्म उत्तिकै जिम्मेवार छन्।

नेपालको प्रशासनिक हृदय मानिएको यो दरबारको हृदय कठोर र संवेदनाहीन थियो। राणाकालमा चन्द्रशमशेरले बनाएको यो भव्य महल सुरुमा राणाको विलासिताको लागि प्रतीक र स्थान थियो—बलियो पर्खालले घेरिएको, कोठैकोठा भएको। अनेक विदेशी र सम्भ्रान्त वर्गको झल्को दिने आकृतिहरू सजाइएका। नियोक्लासिकल (बेलायती शैली) मा बनाइएको। पछि यो भवन राजतन्त्रको प्रतीक बन्यो र गणतन्त्र आएपछि प्रशासनिक केन्द्र।

गणतन्त्रकालमा पनि यसले आफ्नो राणा/शाहकालीन चरित्र उति बदल्न सकेन। जनताबाट टाढा रहने, शासक सुरक्षित राख्ने र अहंकारी शक्ति संरक्षण दिने काम यसबाट भइरह्यो। केही दिन पहिले एक जना सर्वसाधारण भन्दै थिएँ, "हामी सिंहदरबार छिर्न पाउँदैनथ्यौ। त्यहाँ भित्र हामीलाई छिराउन सक्ने हाम्रा कोही थिएनन्…।"

हुन पनि, जनतालाई बाहिर राखेर बलियो पर्खालभित्र गजधम्म बसेको थियो सिंहदरबार। यो भवनले वर्षौँयता जनताको अपेक्षामा कुठाराघात गर्दै आयो। जनताले सोचेका थिए—यी भवन हाम्रो करबाट बनेको हुन्, हाम्रो लागि काम गर्छन्, हाम्रा सपना साकार पार्न काम गर्छन्। तर भवनभित्रका बेथितिहरूले जनताको आशा दिनदिनै जलाउँदै आएका थिए। 

सोचौं त, सिंहदरबारभित्रका बेथिति कति गहिरा र विषाक्त थिए? पहिलो त, सो भवन देशको ढुकुटीको संरक्षक हुनुपर्नेमा बेहिसाब लुटको अखडा बनेको थियो। जनताको पसिनाबाट सङ्कलित कर विकासका लागि होइन, मन्त्री र कर्मचारीको विलासिताका लागि खर्च हुन्थ्यो। सदाचार र सरलता सिंहदरबारभित्र दुर्लभ थियो। विदेश भ्रमणहरूका नाममा लाखौँ उडाइनु सामान्य थियो। महँगा गाडी, रक्सी र मासुसहितका आलिसान पार्टी/भोज सामान्य विषय थिए। यी सबै सिंहदरबारका हलहरूका नाङ्गा नाच थिए, जसले जनताको पीडाको उपहास गर्थे।

कोभिड महामारी ताकको एउटा मात्रै उदाहरण लिऔँ न! स्वास्थ्य मन्त्रालयमा औषधि खरिदमा घोटाला भएको थियो। अस्पतालमा बेड नपाएर जनता अस्पताल बाहिरको सडकमा छटपटाउँदै मर्थे, औषधि नपाएर बच्चाहरू प्राण त्याग्थे। यस्तो बेला सिंहदरबारमा कमिसनको खेल चल्थ्यो, करोडौँ रुपैयाँ पानीझैं बग्थ्यो। यता जनता भोकमरी र रोगको सिकार बन्दै थिए। सिंहदरबारको अहंकार थियो त्यो—जनताको आँसु बेवास्ता गर्दै सुखमा डुब्ने, जसरी कुनै राजा महलमा रमाउँदै गर्दा प्रजाको दुःख बिर्सन्छ। सम्झी ल्याउँदा लाग्छ, यिनै लाजको भुङ्ग्रोले जल्दै थियो सिंहदरबार भदौ २४ का दिन।  

जल्नुको दोस्रो कारण थियो–सिंहदरबारको क्रूर उदासीनता। सिंहदरबारका बाक्ला र बलिया पर्खालले जनप्रतिनिधिहरूलाई समेत जनताबाट अलग गरेका थिए। त्यहाँ छिर्ने बित्तिकै जनता बिर्साउने ल्याकत राख्थ्यो सिंहदरबार। मल नपाएर किसानहरू आफ्नो खेतबारी सुकेको हेर्दै रुँदै थिए, युवाहरू रोजगारी नपाई विदेश जाँदै थिए। महिलाहरू हिंसा र उत्पीडित जाति समूहहरू शोषणबाट पीडित थिए, तर सिंहदरबारका कोठाहरूमा केवल राजनीतिक षड्यन्त्र चल्थ्यो। जनप्रतिनिधिसमेतका हृदय ढुंगाझैँ हुन्थे सिंहदरबार छिरेपछि।

सिंहदरबारमा सत्ता परिवर्तनका लागि गठबन्धनहरू बन्दै जान्थे, उता जनताका अपेक्षा मर्दै जान्थ्यो। यो भवनले सेवकहरूलाई अहंकारी बनायो। सेवकहरूले सोचे–हामी जनताभन्दा माथि छौँ, पर्खालभित्र पूर्ण सुरक्षित छौँ। तर सेवकहरूको लापरबाही र उदासीनताले जनतामा तुस सञ्चित गर्‍यो। बादलमा वर्षा सञ्चित भएर आँधी आउन सक्ने तथ्य सेवकहरूले ख्याल गरेनन्।

अतः सोसल मिडियामा आफ्ना पीडा साटासाट गर्ने जेनजीलाई सिंहदरबार आफ्नो लागेन। शासकहरूको अभेद्य किल्ला ठाने तिनले। सम्भवतः यिनै कारण हो, आफ्नै करबाट बनेको र भोलिका दिनमा आफ्नै रगतपसिना (कर) तिरेर पुनर्निर्माण गर्नुपर्ने संरचना बल्दा समेत कतिपय समझदार युवाले समेत सिंहदरबार जल्दा उल्लास मनाएको! अर्बौँको क्षति हुँदासमेत निभाउन तत्पर नदेखिएको! 

प्रश्न उठ्छ–त्यो आगजनी आवश्यक थियो? अर्बौँको भौतिक सम्पत्ति र ऐतिहासिक दस्ताबेज बचाएर विद्रोह छेड्न सकिन्थेन? राजनीतिक नेतृत्व र समाजमा अन्य तप्का सचेत र जागरूक भएको भए पक्कै सकिन्थ्यो होला। तर सिंहदरबार आफ्नो लाजसमेत छोप्न नसक्ने अवस्थामा पुगेकोचाहिँ सत्य हो। वर्षौँदेखि जनताको करबाट बनेका सिंहदरबारका कोठाहरूमा भ्रष्टाचारका कथाहरू लेखिएका थिए। एउटा कोठामा बजेट घोटाला, अर्कोमा नियुक्ति घोटाला, अर्कोमा ठेक्का घोटाला। सिंहदरबार साक्षी थियो ती नाङ्गोनाचको, जहाँ मन्त्री र कर्मचारी पैसा-पोजिसनमा नाच्थे, घूसको चास्नीमा डुब्थे।

शक्ति केन्द्रित गर्नु र जनताबाट टाढा रहनु सिंहदरबारको स्वभाव थियो। जेनजी आन्दोलनले ती उद्देश्यलाई चुनौती दियो। सिंहदरबार जलन जनताको प्रतिशोध पनि थियो, जसरी जर्मनीमा असमानताको कारण सिर्जित जनविद्रोहले बर्लिनको पर्खाल ढाल्यो। सिंहदरबार जलेपछि त्यसभित्रका अन्याय, अत्याचार र विभेद पनि सँगै जल्नुपर्ने थियो, अपसोच, एक महिनाको समयले सिंहदरबारका पर्खालहरूमात्र जलेको देखिन्छ, यसभित्रको अहंकार र स्वार्थी भावना भने अझै खरानी भएको बुझिँदैन।

दृश्यबाट बढी प्रभावित हुन्छ मानव मनोविज्ञान। एउटा गीतै छ, 'वन डढेको सबैले देख्छन्, म डढेको कसैले देख्दैनन्।' सिंहदरबार डढेको देखेर हामी व्यथित भइरहँदा सिंहदरबारबाट डढाइएका र पोलिएकाहरूको आर्तनाद हामीले ख्याल कम गर्‍यौँ। उखु किसानले आफ्नो उखुको पैसा नपाउँदा आत्महत्यासमेत गरे। मजदुरहरूले न्युनतम् ज्यालासमेत पाएनन्। (अहिले पनि पाएका छैनन्।) यी बेथितिलाई सिंहदरबारले बेवास्ता गर्‍यो, र नै बेवास्ताले आगोको रूप लियो।

आगजनीलाई कतिले नियोजितसमेत भनेका छन्, तर जनताको सञ्चित रिसको विस्फोट हो सो मूल रूपमा। सिंहदरबारका कोठाहरूका धुवाँ केबल काठ र फर्निचरको मात्रै होइन, वर्षौँदेखि सञ्चित भ्रष्टाचार, अन्याय र पीडाको समेत हो। यति कुरा स्विकार्नै पर्छ।

दहनका गहिरा पीडा छन्—ऐतिहासिक दस्ताबेजहरू नष्ट भए, कर्मचारीहरूको जीवन जोखिममा पर्‍यो। पुनर्निर्माण करोडौँ अर्बौँ लाग्नेछ। तर ‌कुनै युवक या युवती सम्झौँ, जसले आन्दोलनमा भाग लियो। बेरोजगार उस/उनले जागिरको लागि आवेदन दिएको थियो/थिइन्, तर मनग्य घूस दिन नसक्दा या 'ठाउँ'मा पहुँच नपुग्दा 'असफल' ठहर्‍याइयो। अनि त्यो युवा यही शहरमा कामको खोजीमा दौडिरह्यो/रहिन्। अन्यायको केन्द्रको रूपमा पहिचान बनेको त्यस सिंहदरबारमा आगो लागेको यी युवाले पनि देखे। यस्तो अवस्थामा यिनले सिंहदरबारमा पानी खन्याउँदा हुन् कि अरू केही? 


अब प्रश्न उठ्छ—सिंहदरबार पुनर्निर्माण कसरी गर्ने?

जलेको सिंहदरबार नेपालीका लागि अवसर पनि हो—पारदर्शी, पहुँचयोग्य र जनमुखी सिंहदरबार बनाउने। भद्रकालीमा उभिएर सरकारी सम्पत्ति जलेको देख्दा धेरैका आँखा रसाउँछन्, तर –यही वियोगको जगमा बसेर हामी अब संयोगको भविष्य लेख्न सकौँ। पुरानो शासकीय सोच डढाइएको रूपमा यसलाई बुझ्दा हामी सुन्दर भविष्यतर्फ अघि बढ्न सल्काऊँ। 

ठूलो राष्ट्रिय क्षतिमा भएको छ जेनजी आन्दोलन/विद्रोह/ध्वंस। खरानी टकटक्याउँदै नवनिर्माणमा लाग्दैगर्दा हामीले सोच्नुपर्छ–भोलिका दिन भवितव्यले कुनै सार्वजनिक/सरकारी भवनमा आगो लाग्दा काठमाडौँ महानगरपालिका या ललितपुरको दमकल आउनुपूर्व जनता स्वयंले लोटा, बाल्टी र गाग्री लिएर आफैँ सरकारी सम्पत्ति जोगाउन तत्परताका साथ आउन्।

अब नयाँ सिंहदरबार बनोस्—जसमा जनताको आवाज गुन्जियोस्, जसमा भ्रष्टाचारलाई ठाउँ नहोस्। सिंहदरबार जले पनि नेपाली आत्मा जीवित छ। यो जलनबाट उठौँ, नयाँ नेपाल बनाऔँ।

(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)