तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आएका बेला विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै हरेक वर्ष गाेरु जुधाउने चलन छ।
त्रिशूली– नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ। तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा माघे सङ्क्रान्ति मेलाका अवसरमा हरेक वर्ष गोरु जुधाउने चलन छ।
यसपटक जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए। उनका अनुसार समितिले जुधाउने गोरु दर्ता गर्न पुस २३ सम्म समय दिएकाे थियो। गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले बताए।
गोरु जुधाइ प्रतिस्पर्धा व्यवस्थित, आकर्षक र रोचक बनाउने तयारी रहेको उनले बताए। “यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उनले भने, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ।” गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ।
प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु र उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरु धनी किसानलाई नगदसहित सम्मान गरिने छ।
स्पेनी बुलफाइटको झल्को
यहाँ जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिलकुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ। यहीँको अनुसरण गर्दै अहिले नुवाकोटसहित देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको हो। तर, उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्त्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका अध्यक्ष मदन श्रेष्ठले बताए।
“पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर धेरै पटक कार्यक्रम रोक्न पनि खोजियो”, उनी भन्छन्, “गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो।” तारुकाको गोरु जुधाइको अवलोकन गर्न आन्तरिकसरह नै बाह्य पर्यटक पुग्ने गर्दछन्। किसानले आफ्नो खेतीपातीमा जोत्न पाल्ने गोरुलाई नै विशेष स्याहारसुसार गरेर जुधाउन ल्याउने गरेका छन्।
जुधाउनकै लागि किसानले गोरुलाई बलियो बनाउन र जुरो उमार्न अण्डा, चामल, मासलगायतका घरमा उत्पादित खुराक खुवाउने गरेको किसान रुपेश अधिकारीले बताए। केही किसानले त माघे सङ्क्रान्तिमा जुधाउनलाई खेतीपातीमा सघाउने समयसमेत घटाएर जुधाउन भनेर नै स्याहारसुसार गर्ने उनको भनाइ छ।
कहिले शुरू भयो?
बुढापाकाका अनुसार तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आएको समय विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर देखाइएको थियो। त्यसलाई निरन्तरता दिँदै आइएको हो। झन्डै दुई सय वर्ष लामो इतिहास बोकेको भएकाले संरक्षण गरिएको हो अधिकारीले बताए। किसानले स्वतःस्फूर्त जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत गरिएको थियो।
जुधाउनलाई भनेर तारुकाका किसानले जुरो पलाउने स्थानीय जातका गोरु पाल्ने, त्यसलाई खुराक खुवाएर प्रतिस्पर्धा गराउने चलनलाई जोगाउँदै आएको स्थानीय ९० वर्षीय झमबहादुर प्रधान बताउँछन्। “ट्याक्टर प्रयोग गर्नेलाई अनुदान दिइन्छ। गोरु पाल्ने किसानलाई केही छैन”, प्रधान भन्छन्, “हामी किसानले आधा पेट खाएर भए पनि खुराक खुवाएर पालिएका गोरुलाई जुधाएर परम्परा जोगाएका छौँ।”
कसरी जाने?
तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीस्थित कटहरबोट पाटो काठमाडौँबाट ६० किलोमिटर दूरी छ। काठमाडौँबाट धादिङको गल्छीसम्म (पृथ्वी राजमार्ग) ४८ किमी र गल्छीबाट बेलकोटगढी रातमाटेसम्म छ किमी सडक व्यवस्थित कालोपत्रे सडक छ।
तारकेश्वर- ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार रातमाटेस्थित त्रिशूली नदीमा निर्माण गरिएको पक्की पुल केही समयअघिदेखि सञ्चालनमा ल्याइएको छ। पुल तरेर तारुका पुग्न थप छ किमी कच्ची सडक पार गर्नुपर्छ। धादिङबेँसीबाट दाङसिंह हुँदै पनि पुग्न सकिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
