भिजिट भिसामा नयाँ मापदण्ड लागू, अब यी ४ कागजात भए पुग्ने

अध्यागमन विभागले भिसासम्बन्धी ६ बुँदे प्रावधान खारेज गरी मन्त्रीस्तरीय निर्णयमार्फत नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ।

काठमाडौँ— सरकारले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नेपाली नागरिकका लागि नयाँ मापदण्ड लागू गरेको छ। अध्यागमन विभागको प्रस्तावमा गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट यसअघि लागू रहेको ६ बुँदे मापदण्ड खारेज गर्दै आज (शुक्रबार) देखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०८० माघ १० गतेदेखि लागू भएको ६ बुँदे मापदण्डसहित यसअघिका भिजिट भिसासम्बन्धी सबै प्रावधानहरू खारेज गरिएको जानकारी दिएको छ। नयाँ मापदण्ड कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट लागू गरिएको हो।

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भिजिट भिसामा विदेश प्रस्थान गर्ने नेपाली नागरिकको व्यवस्थापन अपेक्षित रूपमा विवादमुक्त हुन नसकेको र सुरक्षाका लागि बनाइएका प्रावधान नै कतिपय अवस्थामा नागरिकलाई हैरानी र अनियमितताको कारक बनेको गुनासोलाई दृष्टिगत गरी मापदण्ड परिवर्तन गरिएको जनाइएको छ। विभागले अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्ने र अध्यागमन प्रशासनमा पूर्ण सुशासन कायम गर्ने लक्ष्य लिएको जनाएको छ।

विज्ञप्तिमा भिजिट भिसाको विवादकै कारण नेपाल प्रवेश गर्ने विदेशीको गहिरो जाँचपड्ताल गर्ने र सूक्ष्म निगरानी गर्ने महत्त्वपूर्ण कार्य ओझेलमा परेको उल्लेख छ। यसअघि, उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले समेत नागरिकका मौलिक हकको प्रत्याभूति गर्न र स्वार्थ समूहका चलखेल निरुत्साहित गरी सुशासन कायम गर्न ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो।

गृह मन्त्रालयको निर्णयपछि अब भिजिट भिसामा विदेश प्रस्थान गर्दा अब कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट, आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वः घोषणा भए पुग्छ।

विभागले सबैलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राका बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क भएर यात्रा गर्न अनुरोध गरेको छ। विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकको प्रस्थान र आगमनलाई व्यवस्थित गर्न अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५ कार्यान्वयनमा छन्।