नेप्से परिसूचक ३४ अंक बढ्यो, साढे ७ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को विन्दुमा उक्लिएर बन्द भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४.२२ अंकले बढेको छ। यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधबार भने सामान्य घटेको थियो।

बुधबार २५६६.१६ विन्दुमा रोकिएको नेप्से परिसूचक यस दिन २६००.३८ अंकमा उक्लिएर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ५.४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २.३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९३ अंकले बढेको छ। यस दिन परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।

आज कुल ३१९ स्टकको ५३ हजार ११२ पटकको कारोबारबाट सात अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको दुई करोड ६० लाख १० हजार ७१८ कित्ता शेयर कारोबार भयो। अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम दुई अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। यसअघि बुधबार पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको एक करोड १५ लाख कित्ता शेयर कारोबार भएको थियो। 

यस दिन दुइटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुराँस लघुवित्त वित्तीय र उन्नति सहकार्य लघुवित्तको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

गुराँस लघुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर दुई हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भयो भने उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता १० प्रतिशतले नै बढेर २ हजार २.१० रुपैयाँमा अन्तिम कारोबार भयो। त्यस्तै, सुपर माई हाइड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

बिहीबार एनआईबीएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ। यस म्युचुअल फण्डको इकाई मूल्य ५.७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाई मूल्य ५.२४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक कारोबार भयो। सो कम्पनीको यस दिन एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ। यस दिन हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ। विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको हो।