प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ केही उडान डाइभर्ट हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ।

प्रतिकूल मौसमले हवाई उडान प्रभावित
फाइल तस्वीर

काठमाडौँ– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए। 

उनका अनुसार, प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ केही उडान डाइभर्ट हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ। पोखरा विमानस्थल आवागमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ। 

काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको तथा भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट उनले बताए।

अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ। इन्डिगो एयरको विमान नयाँदिल्ली नै तथा एयर इन्डियाको विमान लखनऊ डाइभर्ट भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए। ‘इनरुट वेदर’ खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ।