मैत्रीपूर्ण खेलमा नेपालको जित

नेपालले मैत्रीपूर्ण खेल 'च्यारिटी म्याच'मा बुधबार घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले हराएको हो।

काठमाडाैँ– नेपालले मैत्रीपूर्ण खेल 'च्यारिटी म्याच'मा बुधबार घरेलु टोली भारतलाई पेनाल्टी सुटआउटमा ३–० ले हराएको छ।

सिक्किमको पाल्जोर रंगशालामा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गरे। अनिता बस्नेतको प्रहार भने बाहिरियो। भारतका लागि कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।

त्यसअघि भारतका लागि सौम्या गुगुलोथ तथा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेका थिए।

थ्री नेसन्स कप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत गएको हो। नेपालले कपको आफ्नो पहिलो खेलमा इरानसँग पराजित हुँदा दोस्रो खेलमा भने घरेलु टोली भारतलाई हराएको थियो।