माया मात्रै गर्छु भन्ने सोच हाबी हुँदा बच्चालाई आवश्यक नियम र मर्यादाका कुरा सिकाउन बिर्सिरहेका हुन्छन् कतिपय अभिभावक।
एक्लै सन्तान हुर्काइरहेका अभिभावकको मनोभावना र संघर्ष कस्तो हुन्छ होला? एक दिन हामी यही विषयमा लामो समय गफियौँ।
साढे दुई र साढे तीन वर्षका छोराछोरी आफ्ना श्रीमानहरूसँगै हुर्काइरहँदा पनि थुप्रै साना ठूला अप्ठेरा परिस्थितिबाट हामी हरेक दिनजसो गुज्रिरहेका हुन्छौँ। छोराछोरीले गर्ने बाल बिठ्याइँ, अनौठा र रोचक प्रश्न, यी अनेकन् अवस्थाले हामी श्रीमान-श्रीमतीलाई नै, कसरी त्यस्ता परिस्थितिसँग ‘डिल’ गर्ने भनेर अक्सर सोच्न बाध्य गराउँछ। यस्तोमा एक्लै सन्तान हुर्काइरहेका अभिभावकले कस्ता प्रश्न र परिस्थितिको सामना गर्लान् र त्यस्तो अवस्थालाई कसरी ‘डिल’ गर्ने भन्ने कौतुहलता मन उठ्छ।
अझ बाल्यावस्था र किशोरावस्थाको बिचको समयमा बालबालिकाले राख्ने जिज्ञासा, उनीहरूको शारीरिक, मानसिक, भावनात्मक विकासमा आउने परिवर्तन आदिबारे सहज र सरल तरिकाले बुझाउन ‘सिंगल प्यारेन्ट’हरूले कस्ता चुनौती भोगिरहेका हुन्छन् होला? यो प्रश्नमा हाम्रो गफ झनै लम्बियो। भर्खर बोल्न सिक्दै गरेका छोराछोरीले सोध्ने प्रश्नले त कहिलेकाहीँ हामी उत्तरविहीन हुन्छौँ। यस्तो अवस्थामा, बाल मनोभावनामा ठेस नपुग्ने गरी यौन तथा प्रजनन स्वास्थ्यका सवालमा जवाफ दिनु आफैमा जिम्मेवारीपूर्ण काम हो। के भुल्नुहुन्न भने यौन शिक्षाको महत्वबारे बुझ्ने सन्दर्भमा हाम्रो समाज भर्खर बामे सर्दै छ।
श्रीमान् श्रीमतीबिच सम्बन्ध विच्छेद भएका, दुईमध्ये एकको मृत्यु भएका वा रोजगारीको सिलसिलामा लामो समयसम्म टाढा भएर बसेका, वा बच्चाको अभिभावकत्व लिइरहेका तर आमाबुवाको साइनो नभएका (हजुरबा/आमा, मामा–माइजू, ठूलोबा/आमा, आदि) ले बालबालिका हुर्काइरहनुभएका थुप्रै उदाहरण हाम्रा वरपर छन्। बुवाआमा दुवैले सँगै बच्चा हुर्काइरहेको अवस्थामा पनि छोराछोरीले राख्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी प्रश्न, समस्या र जिज्ञासाको समाधान गर्न गाह्रो भइरहेको हुन्छ।
यौन स्वास्थ्य र यौन शिक्षाको सवालमा अझै संकुचित मान्यता रहेको समाजमा सही ढंगले खुलेर प्रश्न गर्नु, जिज्ञासाको समाधान गर्नु धेरैको लागि नयाँ अभ्यास हो। कहिलेकाहीँ बालबालिकाको प्रश्न यति संवेदनशील भइदिन्छ कि यौन स्वास्थ्य र शिक्षाबारे जानकारलाई नै पनि उत्तर दिन निकै बेर सोच्नुपर्ने हुन्छ। यस्तोमा, एकल अभिभावकत्वको जिम्मेवारी लिइरहेका अभिभावकले भोग्ने मनोसामाजिक अवस्था रोचक र गम्भीर दुवै छ।
जोरपाटी बस्ने ३४ वर्षका विवेक (नाम परिवर्तन) दुई सन्तानका एक्ला अभिभावक हुन्। ब्लड क्यान्सरले श्रीमतीको मृत्यु भएपछि छोराछोरीको जिम्मेवारी एक्लै उठाइरहेका उनलाई आफ्नो बच्चालाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिनुपर्छ भन्ने थाहा छ। तर, कसरी र कहिले त्यो कुरा छोराछोरीसँग गर्ने भन्ने ज्ञान भने छैन। आफै पनि ६ कक्षा मात्रै पढेका उनी श्रीमतीको मृत्युपछि खाडीको रोजगारी छोडेर नेपाल फर्केका हुन्। “स्कुलले पनि सिकाउला तर आफूले पनि घरमा सिकाउन त पर्ने हो। छोराले केही सोधे त भन्न सक्छु होला, छोरीले सोधी भने के गर्ने थाहा छैन,” विवेकले कुराकानीका क्रममा सुनाएका थिए। रामेछापमा जन्मे-हुर्केका उनलाई कहिल्यै आफ्ना आमाबाबा र शिक्षकले यौन स्वास्थ्यबारे बुझाएको र पढाएको याद छैन।
चितवनको भरतपुर ८ बसोबास गर्ने ५४ वर्षे निर्मला (नाम परिवर्तन) ले सानै उमेरमा विवाह गरिन्। श्रीमान् रोजगारीको सिलसिलामा धेरैजसो अन्य जिल्लामा बसोबास गर्ने हुँदा दुई छोरा र एक छोरी हुर्काउने जिम्मा उनैको थियो। सन्तान हुर्काउने क्रममा उनलाई छोराछोरीलाई यौन शिक्षा दिनुपर्छ भन्ने ज्ञान नभए पनि छोरीलाई केही सामान्य कुरा सिकाउने, बुझाउने गरेको सम्झना छ।
तर छोराहरूसँग उनले कहिल्यै उनीहरूका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जिज्ञासा, उत्सुकता र समस्या समाधान गरेको अनुभव छैन। निर्मलाका तीनै जना सन्तान अहिले पढाई र रोजगारीको सिलसिलामा विदेश छन्। जेठो छोरातर्फको नाति हुर्काउने जिम्मेवारी अहिले उनैको काँधमा छ। हिजोआज सामाजिक सञ्जालमा देखे सुनेका सामग्रीले उनलाई सानैबाट उमेर अनुरूपको यौन शिक्षा दिनुपर्छ भन्ने धेरथोर ज्ञान छ। तर, ती कुरा बाल्यावस्था पार गर्नै लागेको नातिलाई कसरी सिकाउने भन्नेबारे उनलाई धेरै थाहा छैन। “अलिअलि त श्रीमानले भन्नुहुन्छ नातिलाई, तर उहाँलाई पनि लाज लाग्दो रहेछ क्यारे। उत्ति सारो चासो राख्नहुन्न,” निर्मलाले सुनाइन्।
उसो त श्रीमानसँगको सम्बन्ध विच्छेदपछि एक्लै २ सन्तान हुर्काइरहेकी मोरङ (हाल काठमाडौँ) की एक महिलालाई आफूले आफ्ना सन्तानलाई कसरी यौन शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान छ। राम्रो पढेलेखेकी र राम्रै व्यवसाय सञ्चालन गरिरहेकी उनी हरेक पक्षबाट अब्बल छिन्। छोराछोरीलाई कुनै कमी हुन नदिई हुर्काइरहेकी उनलाई, छोरालाई पनि धेरै कुराहरू सिकाउन र बुझाउन सक्दिनँ कि भन्ने कुराले बेलाबखत चिमोटिरहन्छ।
“छोरी त अझै सानी छ, छोरा अब चैतमा १४ वर्ष लाग्छ। यो उमेरमा हुने शारीरिक परिवर्तन कुरा, भावनात्मक सन्तुलन र आकर्षणका विषयलाई कसरी सम्हाल्ने भनेर सिकाउन सक्दिन कि भन्ने लाग्छ,” ती महिलाले कुराकानीका क्रममा सुनाएकी थिइन्। छोरालाई यी कुराहरू कति गहन हुन्छन् र आफू कति संयमित हुनुपर्छ भन्ने कुरा सिकाउन सकिएन भने भोलि आफ्नै अभिभावकत्वमाथि प्रश्न उठ्छ कि भनेर उनी सतर्क भइरहन्छिन्। आफूले सम्हाल्न नसकेका कुराहरू इन्टरनेटको सहायताले समाधान गर्दा धेरै प्रभावकारी र सहज भएको पनि उनको अनुभव छ।
हाल रोजगारीको सिलसिलामा मलेसियामा रहेका रमेश (नाम परिवर्तन) को एउटी छोरी छिन्। एकल अभिभावक उनले, छोरीलाई आफ्नो आमाबुवाको साथमा राखेर विदेशमा श्रम गरिरहेका छन्। “छोरी हुर्किँदै गर्दा के होला कसो होला भन्ने डर लागिरहँदो रहेछ। कतिपय कुरा छोरीलाई भन्न, सिकाउन पनि अप्ठेरो। बुढी भको’भा सिकाउँथी होलाजस्तो लाग्छ। तर बाउले छोरीसँग धेरै कुरा मन फुकाएर गर्न गाह्रो छ,” रमेशले म्यासेन्जरबाट हामीसँग आफ्नो असहजता साटे।
अहिलेसम्म छोरीले असहज मानेका त्यस्ता कुनै अनुभव छन् त भन्ने हाम्रो प्रश्नमा उनले त्यस्तो अनुभव नगरेको बताए। “सायद आमा (छोरीको हजुरआमा) लाई उसले सोधेकी छ कि? म खासै लामो समय ऊसँगै बसेको छैन। त्यही भएर पनि होला,” उनको यो उत्तरले हामीलाई अर्को कौतुहलता पनि जन्माइदियो। असहज मान्दै भए पनि सोधिहाल्यौँ, छोरीसँगै बस्न पाए हुने, उसका हरेक प्रश्न, उत्सुकता, बाल हठको साक्षी बन्न पाए हुने भन्ने लाग्दैन? “लागेर के गर्नु, गरिबीले त्यस्तो नभन्ने रहेछ। धेरै नेपाली बालबच्चाको भाग्यमै छैन होला, बाउआमाकै साथमै हुर्कने र बढ्ने त!,” उनको उत्तर थियो।
उनको यो उत्तरले हामी स्तब्ध भयौँ। हुन पनि रोजगारीका लागि अन्य ठाउँ जाने वा बिदेसिनेको लर्को र बढ्दो डिभोर्सका घटनाले धेरै बालबालिका ‘सिंगल प्यारेन्टिङ’बाट हुर्किरहेका छन्। यसबाहेक पनि भइपरी आउने घटनालगायत विभिन्न पारिवारिक र सामाजिक समस्याका कारण ‘सिंगल प्यारेन्टिङ’को भूमिका निर्वाह गर्नुपरेका थुप्रै उदाहरण छन्। यस्तो अवस्थामा ‘गुड प्यारेन्टिङ’, ‘यौन तथा प्रजनन स्वास्थ्य र अधिकार’, ‘यौन स्वास्थ्य तथा शिक्षाको महत्त्व’जस्ता विषय ओझेलमा परिरहेका छन्। जसले गर्दा यस्ता विषयमा देखिएका समस्यामा कसरी समाधान खोज्दा प्रभावकारी हुन्छ भन्नेबारे धेरैमा ज्ञानको अभाव छ।
प्यारेन्टिङका प्रकार
अमेरिकन क्लिनिकल साइकोलोजिस्ट डायना बौमरिन्डका अनुसार ‘प्यारेन्टिङ’ अर्थात् ‘अभिभावकत्व’का चार प्रकार छन्। ती हुन्– ‘अथोरोटेटिभ प्यारेन्टिङ’, ‘अथोरोटेरियन प्यारेन्टिङ’, ‘पर्मिसिभ प्यारेन्टिङ’ र ‘नेगलेक्टेड प्यारेन्टिङ’। ‘अथोरोटेटिभ प्यारेन्टिङ’मा अभिभावकले बालबालिकाका कुरा सुन्छन्, उनीहरूका लागि सहज वातावरण बनाइदिन्छन् र बालबालिकालाई अनुशासनमा पनि राख्छन्। ‘डेमोक्रेटिक’ अभिभावकत्व पनि भनिने यस प्रकृतिको अभिभावकत्वले बालबालिकालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउन, आफ्ना सीमितता, आवश्यकता र जिम्मेवारी सबैबारे सिकाउँदै लैजान्छ।
यस्तै, ‘अथोरोटेरियन प्यारेन्टिङ’ वा ‘अनुशासनवादी’ मानिने यस अभिभावकत्वले बालबालिकालाई कडा अनुशासनमा राख्न खोज्ने, बच्चाहरूको गल्तीमा रुखो शैलीले प्रस्तुत हुने, बच्चाबाट धेरै अपेक्षा राख्ने र उनीहरूसँग आलोचनात्मक शैलीले प्रस्तुत हुनेजस्ता प्रवृत्ति बुझाउँछ। ‘पर्मिसिभ प्यारेन्टिङ’ यी दुई प्रकृतिका भन्दा फरक छ। यस्तो अभिभावकत्वले बालबालिकालाई अत्यधिक स्वतन्त्रता दिने गर्छ भने उनीहरूका लागि सीमित नियम मात्रै लागु गर्छ। कतिपय अवस्थामा बच्चालाई खानेकुरा, खेलौना, आदिको लोभ देखाएर कुनै क्रियाकलाप गर्न उक्साउने पनि गर्छ।
अन्तिममा आउँछ, ‘नेग्लेक्टेड प्यारेन्टिङ’। बच्चासँग कुनै प्रकारको सम्बन्धै नराख्ने वा चिसो सम्बन्ध राख्ने यस्तो अभिभावकत्वले बालबालिकाको क्रियाकलाप, आवश्यकता, उन्नतिलगायत केही कुराबारे पनि चासो राख्दैन। यस्तोमा, बालबालिकाले असल अभिभावकत्वको महसुस गर्न पाउँदैनन् भने अभिभावक र बालबालिका बीचको सम्बन्ध पनि सुमधुर हुँदैन।
चाहे त्यो ‘सिंगल प्यारेन्टिङ’ होस् वा ‘डुअल प्यारेन्टिङ’ होस्, यी चारै प्रकृतिका अभिभावकत्व हामीले हाम्रो वरपर देखिरहेका हुन्छौँ। संख्यात्मक हिसाबले यसको यकिन तथ्यांक पाउन सकिने अवस्था भने छैन। यद्यपि, हाम्रो समाजमा अक्सर देखिने गरेका शैलीमा माथि उल्लेख गरिएमध्ये दोस्रो प्रकृति अर्थात् ‘अथोरोटेरियन प्यारेन्टिङ’ बढी हाबी छ। भलै ‘अथोरोटेटिभ प्यारेन्टिङ’ को अवधारणासमेत बामे सार्दै गरेको भए पनि बालबालिकासँग साथी र अभिभावकको जिम्मेवारी एकै पटक कसरी कायम गर्ने भन्ने अन्योल धेरैमा छ।
साक्षरता दरको विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग, असल अभिभावकत्व बारेको शिक्षा आदिको प्रभावले ‘अथोरोटेटिभ प्यारेन्टिङ’को महत्त्व बिस्तारै उजागर भइरहे पनि ‘अथोरोटेरियन प्यारेन्टिङ’ बाट हुर्किएका अभिभावकको संख्याको बाहुल्यता छ। यस्तोमा ‘अथोरोटेटिभ प्यारेन्टिङ’ले छलाङ मारिहाल्ने सक्ने अवस्था छैन।
त्यसबाहेक पनि सिंगल प्यारेन्टिङलाई लिएर संकुचित मानसिकता, सिंगल प्यारेन्टिङका क्रममा बहन गर्नुपर्ने अन्य आर्थिक, पारिवारिक, सामाजिक जिम्मेवारीजस्ता विविध कारणले पनि सिंगल प्यारेन्टिङमा ‘अथोरोटेरियन प्यारेन्टिङ’, ‘पर्मिसिभ प्यारेन्टिङ’ र ‘नेगलेक्टेड प्यारेन्टिङ’ बढी हुने सम्भावना रहेको मनोविद् पूजा पन्त बताउनुहुन्छ। “एकल अभिभावकत्वको हकमा ‘अथोरोटेटिभ प्यारेन्टिङ’ हुन्न नै भन्ने होइन। तर हाम्रो अलि शिक्षित र आत्मनिर्भर एकल अभिभावक छ भने मात्रै हाम्रोजस्तो समाजमा ‘अथोरोटेटिभ प्यारेन्टिङ’को सम्भावना हुन्छ। ग्रामीण र शहरी दुवै क्षेत्रको हकमा भन्ने हो भने एकल अभिभावकत्व निभाइरहेकाहरूले ‘पर्मिसिभ प्यारेन्टिङ’ बढी गर्ने गरेको पाइन्छ,” पन्तको अनुभव छ।
यस्तो प्रकृतिबारे उहाँले नजिकबाट नियाल्नुभएको एउटा घटना छ, जसले अभिभावकत्व र यौन स्वास्थ्य/शिक्षा दुवै पाटोलाई प्रस्ट्याउँछ। मोरङका एक जना २१ वर्षे किशोर, आफ्नी आमाको छत्रछायाँमा हुर्किएका हुन्। उनका बुवा लामो समययता वैदेशिक रोजगारीको सिलसिलामा युएइमा छन्। निम्नमध्यम वर्गीय परिवारका उक्त किशोरलाई आफ्नी आमाले कुनै कुरामा रोकतोक लगाइनन्। छोराको हरेक माग पूरा गरिदिने, गलत नै गरे पनि अनुशासनका दायराबारे खासै नसुझाउने शैलीले छोरामा जिद्दी र घमण्डपन बढ्दै गयो। भनेअनुसारका माग पूरा नभए रिसाउने, हिंसात्मक व्यवहार देखाउने ती छोरा लागु औषध प्रयोगकर्ता समेत भए। लागु पदार्थको सेवन गर्दा नपाउँदा उनले देखाउने आक्रोशपूर्ण व्यवहारले बिस्तारै उनमा ‘हाइपर सेक्सुवालिटी’को समस्या पनि देखिन थाल्यो।
पन्तका अनुसार असल अभिभावकत्व नहुँदा र अर्को, यौन शिक्षाबारे आमा र बच्चा दुवैलाई जानकारी नहुँदा ती किशोरमा त्यस्ता व्यवहार देखिँदै गएको हो। बच्चालाई माया मात्रै गर्छु भन्ने सोच हाबी हुँदा तिनका लागि आवश्यक नियम र मर्यादाका कुरा सिकाउन कतिपय अभिभावक बिर्सिरहेका हुन्छन्। पन्त भन्नुहुन्छ, “यस्तोमा अझ यौन स्वास्थ्य शिक्षाको अभाव भयो भने त्यसले निम्त्याउने जोखिम अल्पकालीन र दीर्घकालीन दुवै हुन्छ।”
हुन पनि यौन स्वास्थ्य शिक्षाको आवश्यकता हरेक व्यक्तिलाई हरेक दिन हुन्छ। उमेर अनुरूपको प्रभावकारी यौन शिक्षा र चेतनाको अभावमा सानै बालबालिकाले पनि विभिन्न समस्या भोगिरहेका हुन्छन्। चाहे आफ्नो शरीरमा आएका परिवर्तनका कुरा हुन् वा बढ्दो उमेरमा भोग्ने मनोसामाजिक अवस्था हुन् वा छुवाइको पर्याप्त ज्ञान नहुँदा झेल्नुपर्ने यौन दुर्व्यवहार र हिंसाका घटना। हुर्कँदै गर्दा यी विभिन्न परिस्थितिबाट बच्चा गुज्रनुपर्ने हुँदा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको महत्त्व त्यसै पनि संवेदनशील छ। यो संवेदनशीलता बुझेर उनीहरूमा आउने परिवर्तन, परिस्थिति, समस्या र जिज्ञासालाई सरल सहज तरिकाले समाधान गर्दै जानु अभिभावकको जिम्मेवारी हो।
आमाबुबा दुवैको भूमिका यसमा समान हुन्छ। भलै विभिन्न सामाजिक र सांस्कृतिक मान्यताले गर्दा हाम्रोजस्तो समाजमा आमाबुवा दुवैका लागि त्यस्ता जिज्ञासा/उत्सुकता समाधान गर्न सहज नहुन सक्छ। यस्तोमा आमा वा बुवामध्ये एउटाको जिम्मेवारी/भूमिका बढी देखिए पनि संयमता भने दुवैले अपनाउनु जरुरी हुन्छ। किनकि, जबसम्म यौन स्वास्थ्य र शिक्षाका कुरालाई घरैबाट खुलेर कुरा गर्ने प्रयास हामी गर्दैनौँ, तबसम्म यो विषय हाम्रो समाजको लागि र आउँदो पुस्ताका लागि पनि संकुचित विषय बनिरहन्छ।
शुरू कसरी गर्ने?
यो अक्सर सुनिने र हामीलाई पनि सोधिने प्रश्न हो। अझ एकल अभिभावकत्व निभाइरहेका र आफूभन्दा विपरीत लिंगी बच्चा हुर्काइरहेका अभिभावकले त झन् यो प्रश्न धेरै सोध्नुहुन्छ। यसका लागि सबैभन्दा पहिलो भनेको ‘अथोरोटेटिभ प्यारेन्टिङ’ को अभ्यास नै हो। आफ्ना बच्चा वा आफूले जिम्मेवारी लिएर हुर्काइरहेका बच्चाका कुरा ध्यानपूर्वक सुन्ने, उनीहरूसँग मित्रवत् कुराकानी गर्ने। उनीहरूका ससाना खुसीमा सहभागी हुने, उनीहरूले सेयर गर्ने पीडा, दुःख वा समस्यामा सहानुभूतिभन्दा पनि ‘समानुभूति’ जनाउने।
हरेक दिन उनीहरूले दिनभर केकस्ता क्रियाकलाप गरे, कस्ता व्यक्ति भेटे, कस्ता कुराकानी गरे, के कुराले उनीहरूलाई खुसी मिल्यो, के कुराले उदास बनायो भन्नेलगायत सामान्य प्रश्नहरू सोध्ने र आफूले पनि ती प्रश्नहरूको जवाफ दिने। यसले बालबालिकालाई मेरो कुरा सुनिदिने कोही छ भन्ने अनुभूति गराउँछ। त्यो अनुभूतिले उनीहरूमा आफूलाई प्राथमिकतामा राख्न, आत्मसम्मानका कुरा बुझ्न, आफ्ना कुराहरू खुलेर सेयर गर्न सहज हुन्छ। आफ्ना समस्या अभिभावकलाई सुनाउँदा समाधानका उपाय भेटिन्छ है भन्ने भरोसा पनि बढ्दै जान्छ। यस्तै, उनीहरू अभिभावकका कुरा सुन्न, उनीहरूले सुझाएका नियम र जिम्मेवारीलाई पनि सजिलै मनन गर्न र व्यवहारमा लागु गर्न उत्साहित हुन्छन्।
जसले गर्दा बालबालिका र अभिभावकबिच सुमधुर सम्बन्ध कायम हुन्छ। उनीहरूलाई आफ्ना समस्या सेयर गर्न सहज हुन्छ भने अभिभावकलाई पनि उनीहरूले राख्ने जिज्ञासा समाधान गर्न सहज वातावरण तयार बन्छ। यद्यपि, बच्चाको समस्या समाधान गर्ने भन्दैमा गलत र भ्रामक कुरा सिकाउनुचाहिँ अर्को समस्या निम्त्याउनु हो। किनकि तीनदेखि ६ वर्ष उमेरका बालबालिकामा ‘यौन’ व्यवहार देखिनु सामान्य हो। यो एउटा बाल विकासको चरण हो। यो अवस्थामा उनीहरूलाई भ्रामक जानकारीहरू दिँदा उनीहरूले असामान्य प्रकृतिका व्यवहार देखाउन सक्ने वा दिइएको जानकारी सही नै हो/होइन भनेर परीक्षण गर्न खोज्नेजस्ता जोखिम हुन्छन्।
आफूलाई जानकारी नभएका वा असहज लागेका कुरा समाधान गर्न इन्टरनेटको सहायता दिने, आधिकारिक वेबसाइट र युट्युब च्यानलमार्फत त्यस्ता प्रश्नहरूको समाधान कसरी गरिएको छ वा कस्ता उपाय सुझाइएको छ भनेर जानकारी लिनु अर्को गज्जबको तरिका हुनसक्छ।
‘कहिले गर्ने?’
यौन स्वास्थ्य शिक्षाको शुरूआत गर्न बच्चा ठूलो नै हुनुपर्छ वा सबै कुरा एकै पटक सिकाउनुपर्छ भन्ने छैन। सबै कुरा एकै पटक सिकाउँछु भन्नु पनि मूर्खता हुन जान्छ। त्यसलै यसको शुरूआत भनेको उमेर अनुरूपको यौन शिक्षा दिनु नै हो। उदाहरणका लागि, यदि तपाईंको बच्चा भर्खर ३/४ वर्षका छन्/छिन् भने उनीहरूका गोप्य अंग केके हुन्, कसले कस्तो अवस्थामा छुन मिल्छ र तोकिएकाभन्दा अन्यले छोयो भने गलत हुन्छ, कसैले गलत तरिकाले छोयो भने कसलाई भन्नेलगायत कुरा सिकाउन सकियो भने तिनले आफ्नो शरीरबारे बुझ्न थाल्छन्। आफ्ना वरपर गलत नियतका मान्छे पनि हुन्छन् है भन्ने अनुभूति पनि उनले गर्छन्। जसका कारण आत्मरक्षा गर्न र आफ्ना लागि आवाज उठाउनुपर्छ भन्ने कुराको बोध हुँदै जान्छ बालबच्चामा।
तर त्यस उमेरको बच्चालाई महिनावारी र किशोरावस्थाको कुरा सिकाउन आवश्यक हुँदैन। बच्चा हुर्किँदै जाँदा र शरीरमा किशोरावस्थाको लक्षणहरू देखिन शुरू गर्नु अगाडि वा अलिक बुझ्न सक्ने भएपछि महिनावारी र किशोरावस्थाको कुरा गर्न सकिन्छ। त्यस्तै, किशोरावस्थामा पुगिसकेका बालबालिकालाई त्यो अवस्थामा आउने परिवर्तन, त्यस्ता परिवर्तनले उत्पन्न हुने भावना, त्यस अवस्थामा हुनसक्ने जोखिम, यौनांग सरसफाइका कुरा र सकारात्मक यौन व्यवहारका कुरा सिकाउन सकिन्छ।
यी कुराहरू सिकाइरहँदा ‘समानुभूति’को भाव उत्तिकै महत्त्वपूर्ण हुन्छ। आफू त्यस उमेरमा हुँदा अनुभव गरेका कुराहरू उनीहरूले बुझ्ने शैलीमा उनीहरूलाई बाँड्न/सुनाउन सकियो भने बालबालिकालाई ‘म एक्लो छैन’ भन्ने अनुभूति हुन्छ। उक्त अनुभूति सुन्दा सामान्य लागे पनि त्यसको प्रभाव सन्तानको व्यक्तिगत तथा सामाजिक जीवन, अध्ययन तथा प्रेम सम्बन्ध सबैमा सकारात्मक हुन जान्छ।
यी विविध कारणले यौन स्वास्थ्य शिक्षाको आवश्यकता धेरै छ भने यसमा असल अभिभावकत्वको भूमिका विशेष हुन्छ। अभिभावकका ससाना लाग्ने अभ्यास, व्यवहार तथा आचरणले बालबालिकालाई धेरै जीवनोपयोगी सीप आर्जन गर्न सहज पनि हुन्छ। यस्तोमा ‘डुअल प्यारेन्टिङ’ गरिरहेका अभिभावकले आफ्नो पार्टनर र आफ्नो बच्चासँग मित्रवत् व्यवहार गरेर बालबालिकालाई प्रत्यक्ष/अप्रत्यक्ष सिकाउन सक्छन्।
सिंगल प्यारेन्टिङ गरिरहेका अभिभावकले आफ्ना व्यवहार मनन गर्दै आफ्ना बालबालिकासँग मित्रवत् अभिभावकत्व जिम्मेवारी निर्वाह गर्न सक्छन्। बालबालिकाभन्दा टाढा बसेका अभिभावकले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत माथि सुझाइएका उपायहरू अनुसरण गर्ने हो भने पनि यौन-स्वास्थ्य-शिक्षाको बहस सहज र सभ्य हुँदै जान्छ।
(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्। उकालोको विचार खण्डमा प्रकाशन हुने लेख रचना लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
सबिता आचार्य
