एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ललितपुरबाट पक्राउ

सीआईबीले मंगलबार नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको छ।

काठमाडौँ– नेकपा एमालेका पूर्व सांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार साँझ पक्राउ गरेको हो।

सीआईबी प्रमुख मनोज केसीका अनुसार, भट्टचनलाई ललितपुरबाट पक्राउ गरिएको हो। उनीविरुद्ध उजुरी परे पनि पहिले प्रभावका कारण उनी अनुसन्धानको दायरामा आएका थिएनन्।

ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

सीआईबीका अनुसार, प्रभु मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट रेमिट कारोबारको लाइसेन्स लिएर प्रभु म्यानेजमेन्टलाई ‘सुपर एजेन्ट’ को रूपमा नियुक्त गरेको थियो। तर, सो सम्झौताका आधारमा विभिन्न सहकारीमार्फत भुक्तानी भइरहे पनि ती रकम कम्पनीले सहकारीलाई फिर्ता नगरेको उजुरी तीन दर्जनभन्दा बढी सहकारी संस्थाबाट परेको बताइएको छ।

भट्टचनले सञ्चालन गरेको प्रभु मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स (विप्रेषण) कारोबारको इजाजत प्राप्त गरेको सीआईबीले जनाएको छ। विदेशमा रहेका नेपालीले पठाएको रकम नेपालका विकट गाउँहरूमा रहेका आफन्तलाई भुक्तानी गराउन प्रभु मनि ट्रान्सफरले प्रभु म्यानेजमेन्टलाई सुपर एजेन्टको रूपमा नियुक्त गरेको थियो।

सीआईबीका अनुसार, २०६९ पुस १ मा यी दुई कम्पनीबीच करार हुँदा दुवैका मुख्य सञ्चालक भट्टचन स्वयं थिए। प्रभु म्यानेजमेन्टका तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामामार्फत देशभरका विभिन्न सहकारी संस्थाहरूलाई सब-एजेन्टको रूपमा नियुक्त गरी विप्रेषण भुक्तानी गराइयो।

तर नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को बुँदा नं. ९ अनुसार कम्पनीले नै ‘इनवार्ड रेमिट्यान्स’को भुक्तानी गर्नुपर्ने व्यवस्था विपरीत काम जारी राखियो। देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाहरूले प्राप्त विप्रेषणको रकम लाभार्थीलाई भुक्तानी गरे पनि, प्रभु मनि ट्रान्सफरका अध्यक्ष भट्टचनले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्टबाट ती सहकारी संस्थाहरूलाई भुक्तानी गरिएको रकमको सोधभर्ना नगरेको भन्दै उजुरी परेको थियो।

उजुरीका सम्बन्धमा आवश्यक अनुसन्धानपश्चात् काठमाडौँ जिल्ला अदालतबाट भट्टचनका नाउँमा पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेर भट्टचनमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनले साझेदारको साथ लिएर सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ व्यापार विस्तारमा लगाएकोबारे उकालोले विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो।

भट्टचनको समूहले प्रभु सहकारीका बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेकोबारे पनि उकालोमा विशेष रिपोर्ट प्रकाशन भएको थियो। सहकारीबाट उठाएको रकम व्यवसायमा लगाएपछि प्रभु मेनेजमेन्टले रकम फिर्ता गर्न ताकेता गर्दै कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएको थियो।

null