मुस्ताङ पुगेका पर्यटकलाई सास्ती: अव्यवस्थित सडक-पूर्वाधार, त्यसमाथि हिमपात

दशैँअघिबाटै पर्यटक धमाधम पुग्न थालेको मुस्ताङमा भाइटीकापछि दुई दिनमै १० हजार पर्यटक भित्रिए। प्रशासनले बासस्थानबारे सचेत गराउँदा पनि पर्यटक रोकिएनन्, त्यही बेला हिमपात परेपछि सास्ती भएको छ।

तस्वीर: घनश्याम/उकालो

म्याग्दी– मनसुन सकिएपछि मुस्ताङ र मुस्ताङ जाने बाटोमा पर्ने कुस्मा तथा बेनीका होटलहरूमा बास क्षमताभन्दा बढी पर्यटक ओइरिए। दशैँ अघिदेखि नै पर्यटक आगमन ह्वात्तै बढेका थिए। तर तिहारको भोलिपल्ट र पर्सिपल्ट दैनिक १० हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगेपछि बासस्थानकै अभाव भयो।

पर्यटक ह्वात्तै बढेपछि स्थानीय प्रहरी, प्रशासन र व्यवसायी संस्थाहरूले होटल पूर्व-बुकिङ नगरी भ्रमणमा नआउन सूचना मात्र जारी गरेनन्, आएका पर्यटकलाई अनुरोध गरेर पोखरा, कुस्मा र बागलुङमै रोक्नुपर्ने अवस्था आयो। यसबाट पर्यटक व्यवस्थापनमा समस्या उत्पन्न भयो र कैयन् यात्रुले सास्ती झेल्नुपर्‍यो।

यसैबीच, बेमौसमी हिमपातका कारण पनि पर्यटकलाई असुविधा भयो। सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केकालाई गन्तव्यसम्म पुग्न सास्ती भयो। कतिपय ठाउँमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्‍याए। मुस्ताङमा दुई दिनदेखि हिमपात भइरहेको छ।

यथार्थमा, म्याग्दी र मुस्ताङमा होटल, आवास क्षमता थोरै भएको कारणले मात्र पर्यटक समस्यामा परेका होइनन्। राज्य संयन्त्रहरूले आ-आफ्नो कार्यक्षमता गुमाएकाले समस्या भएको देखिन्छ।

इन्धन भर्ने सास्ती, सडकको दुरावस्था
म्याग्दी सदरमुकामस्थित कालीपुलबाट कालीगण्डकी नदी पछ्याउँदै उकालो लाग्छ बेनी–जोमसोम–कोरला सडक। मुस्ताङ र म्याग्दीको अन्नपूर्ण बेसक्याम्पस्थित पञ्चकुण्ड हिमताल हेर्न आउने पर्यटकले सास्तीको शुरूआत यही बेनी कालीपुलबाट बेहोर्नुपर्छ। कालीपुलको उत्तरी कुनामा सडकको ‘राइट अफ वे’ कार्यान्वयन नगरिएको एक मात्र पेट्रोल पम्प, कालीगण्डकी आयल स्टोर्स छ। बेनीबाट मुस्ताङसम्म अर्को पेट्रोल पम्प छैन, डिजेल भने घाँसामा भर्न पाइन्छ।

सामान्यत: पेट्रोल पम्पहरूले २४सै घण्टा सेवा दिनुपर्ने हो, तर बेनीदेखि मुस्ताङसम्म एकाधिकार राख्ने यो पेट्रोल पम्प बिहान ७ बजेअघि खुल्दैन। बेनीमा बास बसेर बिहान ५ बजे नै निस्केका यात्री सवारीसाधनमा इन्धन भर्न घन्टौँ लाइन लाग्छन्। 'राइट अफ वे' कार्यान्वयन नगराइएको सडक साँघुरो हुँदा इन्धन भर्न आवश्यक नभएका साधन पनि जाममा फस्छन् र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्छ।

“स्थानीय सरकार र प्रशासनले पेट्रोल पम्प व्यवस्थापनमा चासो नराख्दा यात्रुको बिहानी साइत नै झन्झटबाट शुरू हुन्छ,” म्याग्दीबाट तत्कालीन संविधानसभा सदस्य रहेका कांग्रेस नेता रेशमबहादुर बानियाँ भन्छन्, “जोमसोम पुग्ने बेलासम्म इन्धन पर्खेर बस्नुपर्दा सवारी जाम भइरहन्छ।”

बेनी–जोमसोम सडकको गलेश्वर–घाँसासम्मको करिब ३८ किलोमिटर खण्ड पहिरोग्रस्त छ। मनसुनमा झरेको पहिरोले सडक क्षतिग्रस्त छन्। खासगरी म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित सिरुबारी र अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता तथा गुइठेभीरमा पहिरोले सडकको अवस्था नाजुक छ। कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले पहिरोग्रस्त क्षेत्रमा एकतर्फी यातायात खुलाएको छ।

null

बेनीका पुराना होटल व्यवसायी तथा एमाले नेता हरिकृष्ण श्रेष्ठका अनुसार, आयोजनाले समयमै पहिरोग्रस्त सडकमा चासोपूर्वक खाल्डाखुल्टी पुरिदिने वा चौडा पारिदिएको भए अहिले यात्रुले यो कष्ट भोग्नुपर्ने थिएन। “सहज यात्रा नहुँदा यात्रु/सवारीसाधन समयमै गन्तव्य पुग्न पाउँदैनन्। निक्लने पनि समयमै निक्लन नपाएपछि बीचमै बास बस्नुपर्ने बाध्यता आइपर्दा होटलमा बास व्यवस्थापन थप चुनौतीपूर्ण भएको हो,” श्रेष्ठ भन्छन्, “सडक विभागले समयमै साधारण मर्मत सुधार गरिदिने हो भने, समस्या दोहोरिने थिएन।”

यसबीच, मुख्य पर्यटकीययाम चलिरहेका बेला अचानक मौसम प्रतिकूल बनेको छ। बेमौसमी हिमपातका कारण घुमघामका लागि हिमाली जिल्ला पुगेका पर्यटक समस्यामा छन्। म्याग्दी र मुस्ताङका जिल्ला प्रहरी कार्यालयले दिएको विवरणअनुसार मंगलबार साँझ ५ बजेसम्म मुस्ताङमा १५ हजारभन्दा बढी र अन्नपूर्ण प्रथम हिमालको बेसक्याम्पमा करिब १०० पर्यटक छन्।

हिमाली क्षेत्रको पदयात्रामा निस्केका केही पर्यटकले भने चिसो अत्यधिक बढे पनि भारी हिमपात नभएकोले यात्रा मनोरञ्जनपूर्ण रहेको बताउँछन्। “हिजो तिलिचो तालमा हिउँ खेलियो। अचानक मौसम बिग्रेर भारी हिमपात भएकोले थोरङ्गापासको यात्रा त्यागेर श्रीखर्कबाट खङ्सारतर्फ फर्कँदैछौँ,” बेनीका औषधि व्यवसायी भीमप्रसाद आचार्यले भने, “हिमपातपछिको कष्टलाई रोमाञ्चक यात्राले जितेको छ।”

null

यद्यपि, बाक्लो हिमपात भएको क्षेत्रमा पर्यटकलाई सकस छ। मुक्तिनाथ क्षेत्र र अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बढीमा २ फिटसम्म बाक्लो हिमपात परेको छ। मुस्ताङका प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किम्पा लामाका अनुसार, आइतबार, सोमबार र मंगलबार भित्रिएका पाँच हजारसमेत उपल्लो र तल्लो मुस्ताङमा गरी १५ हजार हाराहारी पर्यटक छन्।

हिमपात भइरहँदा र सबै निकायले उपल्लो क्षेत्रमा यात्रा नगर्न आग्रह गर्दा पनि मंगलबार पाँच हजारभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्। हिमपातपछि मोटरसाइकल र स्कुटरमा मुस्ताङ घुम्न आएका यात्रुलाई बढी समस्या भएको छ। “जिल्लाभर कतै कुनै पर्यटकलाई समस्या परेको खबर छैन। दुईपांग्रे सवारी चलाउन केही समस्या भए पनि अन्य सामान्य छ,” डीएसपी लामाले भनिन्।

माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षाका कारण बेनी–जोमसोम–कोरला सडकको कच्ची र पहिरोग्रस्त खण्ड हिलाम्मे भएको छ। यसले गर्दा दुईपांग्रे सवारीका यात्रुले थप कष्ट भोग्नुपरेको मुस्ताङबाट मोटरसाइकलमा फर्कँदै गरेका पोखराका अनिल बरालले बताए।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार, अन्नपूर्ण प्रथम हिमालको बेसक्याम्प पुगेकामध्ये करिब १०० जना बेसक्याम्पमै सुरक्षित छन्। केही भुस्केटमेला र ६० जनाभन्दा बढी गुफाफाँटबाट तल झरेका छन्। “यो रुटमा अहिले करिब २०० हाराहारी पर्यटक भए पनि हिमपात कम भइरहेकोले जटिल समस्या देखिएको छैन,” उनले भने।

पर्यटकलाई आवासको सकस
हाल हिमपातले समस्या थपे पनि पहिलेदेखि नै यहाँ आउने पर्यटकले आवासको समस्या झेल्दै आएका थिए। मुस्ताङमा मात्र होइन, प्रवेशद्वारमा पर्ने म्याग्दी सदरमुकाम बेनीदेखि बेनी–जोमसोम–कोरला सडक किनारमा पर्ने सबै होटल, होमस्टेमा पर्यटकले नअटेपछि म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालय र होटल व्यवसायी संघले सूचना जारी गरी होटल बुकिङ छैन भने पोखरा वा बागलुङमै बास बस्न आग्रह गरेका थिए।

शुक्रबार र शनिबार मुस्ताङ र अन्नपूर्ण बेसक्याम्पतर्फ जान आएका पाहुनालाई मुस्ताङमा आमा समूह, समाज घर, युवा क्लबका भवनमा समेत सुताउनु परेको थियो। म्याग्दीमा रात अबेरसम्म होटल व्यवस्थापन नहुँदा उत्तर मुस्ताङतर्फ जानुपर्ने पर्यटकलाई १२ किलोमिटर पश्चिम सिङ्गा पुर्‍याएर बासमा राख्नुपरेको म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्य बताउँछन्। “तिहारको भोलिपल्ट अकल्पनीय रूपमा पर्यटकको ओइरो लाग्दा व्यवसायी आत्तिए,” आचार्य भन्छन्, “तर, दुःखसुख व्यवस्थापन गरियो।”

जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार बेनी–जोमसोम सडक मार्गबाट मात्र तिहारको भोलिपल्ट र पर्सिपल्ट (शुक्रबार, शनिबार) करिब सात हजार, पोखरा–जोमसोम हवाई मार्ग र मनाङ हुँदै थोरङ्लापास भएर तीन हजारभन्दा बढी गरी दैनिक १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए।

null

उत्तिकै संख्यामा पर्वतको कुस्मा, बागलुङ र म्याग्दीको बेनीदेखि दानासम्मका होटलमा पर्यटक भरिएका थिए। डीएसपी थापा भन्छन्, “यो रुटको पर्यटन सिजनल भएको र पदयात्राका लागि अनुकूल मौसम तथा दशैँ–तिहारको लामो बिदाले गर्दा पर्यटकको भीड लाग्दो असोजदेखि नै शुरू भएको हो।”

पर्यटकको उच्च वृद्धिले बेनी–जोमसोम सडकमा ट्राफिक चाप पनि अधिक परेको छ। दैनिक १२ सय हाराहारी सवारीसाधन मुस्ताङ प्रवेश गर्ने र उत्तिकै संख्यामा बाहिरिँदा सडक छिचोल्नै मुस्किल हुने गरेको छ। खासगरी बेनी–घाँसासम्मको पहिरोग्रस्त क्षेत्रको सडकमा यात्रुले बढी सास्ती खेप्नुपरेको छ।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार, दशैँपछिका चार दिन दैनिक १२ सयभन्दा बढी सवारीसाधनमा नेपाली पर्यटकहरू मुस्ताङ प्रवेश गरिरहेका छन्। प्रहरी सहायक निरीक्षक प्रताप मल्लका अनुसार, पछिल्ला तीन/चार दिनदेखि दैनिक एक हजारभन्दा बढी मोटरसाइकल, पाँच सयको संख्यामा जीप, भ्यान, कार तथा एक सयभन्दा बढी बस, ट्रकहरू मुस्ताङ प्रवेश गर्ने गरेको अभिलेख छ।

पर्यटकले भरिभराउ मुस्ताङका होटल
दशैँ–तिहारको लामो बिदा मनाउन छिमेकी जिल्लाका साथै पोखरा, काठमाडौँ, बुटवल, हेटौँडा, विराटनगरलगायत देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउनेको संख्या बढेको हो। लामो बिदा परेकाले शहरका कर्मचारी, युवा/युवती, व्यवसायी, सञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा अधिक आएका छन्। त्यसैगरी, विभिन्न कलेजका विद्यार्थी पनि शैक्षिक भ्रमणमा आएका छन्।

असोज–कात्तिक पदयात्राको सिजन भएकोले राउन्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्य थोरङ्ला पासमुनिको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको पनि उत्तिकै घुइँचो लागेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका अनुसार अहिले दैनिक दुई सयभन्दा बढी बाह्य पर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन्। “मोटरबाटोको सोझो पहुँच र सिजनल व्यवसायले गर्दा जोमसोम माथिका होटल क्षमताले पाहुना थेग्न नसक्ने भएको छ,” मुक्तिनाथका होटल व्यवसायी छुप्तेन गुरुङले भने।

आन्तरिक पर्यटकले मुक्तिनाथ, जोमसोम, मार्फा, टुक्चेलगायत बेनी–जोमसोम सडक किनारका बेनी, तातोपानी, दानाका साना ठूला सबै होटल भरिभराउ छन्। छुक्साङका होटल व्यवसायी नरेश गुरुङका अनुसार उपल्लो मुस्ताङका छोसेर, लोमन्थाङ, चराङ, छुक्साङसम्मकै होटल पनि भरिभराउ हुन थालेका छन्।

मुस्ताङमा मुक्तिनाथ, कागबेनी जस्ता धार्मिकस्थलहरूका साथै नेपाल–चीन सीमास्तम्भ रहेको कोरला नाका, माटोको शहर लोमन्थाङ, चराङ, छोसेर गुफा, तल्लो मुस्ताङको मार्फा, टुक्चे, ढुम्बा ताल तथा हिमाली सुख्खा हावापानी हेर्न पर्यटक आउने गरेका छन्। बालुवा नै बालुवाको सुक्खा अनौठो भू-गोलले मात्र होइन, कम्युनिस्ट शासन व्यवस्था अपनाएको चीनको स्वशासित तिब्बत सीमावर्ती लो मन्थाङ (कोरला नाका) पनि पर्यटकका आकर्षण र कौतूहल हुन्।

सडक पहुँच पुगेपछि उपल्लो मुस्ताङमा स्थानीयले आधुनिक पूर्वाधारयुक्त ठूला रेस्टुरेन्ट र होटल थपेका छन्। होटल व्यवसायी समितिका अनुसार लो मन्थाङमा ३० लाखदेखि २० करोडसम्म लगानीका ३० वटा होटल छन्। यी होटलमा २२८ कोठामा ५०० बेड क्षमता रहेको छ। छोसेर र छोनुपमा १२ तथा चराङ र घमीमा पनि १५ बढी होटल छन्।