हिमपातले पर्यटकीय गतिविधि प्रभावित, यात्रा नगर्न टानको आग्रह

टानले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ।

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ।

टानका अध्यक्ष सागर पाण्डेले मंगलबार विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार अहिले पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने भएकाले हिमाली क्षेत्रको यात्रामा ध्यान दिन आग्रह गरेका छन्।

मौसम पूर्वानुमानअनुसार नै हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ, सगरमाथालगायतका पर्यटकीय गन्तव्यमा वर्षासँगै हिमपातसमेत शुरू भई पदयात्रालगायतका पर्यटकीय गतिविधिहरू प्रभावित भइरहेको टानले जनाएको छ।

अध्यक्ष पाण्डेले कतिपय स्थानमा स्थानीय प्रशासनले पदयात्रा गर्न रोकसमेत लगाइसकेको भन्दै मौसममा सुधार नआउञ्जेलसम्म उच्च हिमाली क्षेत्र तथा उच्च पास भएर जाने सम्पूर्ण पदमार्गमा हुने पदयात्राहरू नगर्न/नगराउन, पदयात्री, आरोहण दलका सदस्य तथा सहयोगी टोलीलाई अनुरोध गरे।

टानले उद्धारलगायतका कार्यका लागि सहजीकरण तथा समन्वय गर्न स्थानीय सरकार, स्थानीय प्रशासन तथा सुरक्षा निकाय (प्रहरी, सशस्त्र, सेना), संरक्षण क्षेत्रका व्यवस्थापक, टान गण्डकी तथा टान केन्द्रीय कार्यालयलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

मौसम पूर्वानुमान सेवा अब ३६५ दिन सञ्चालन
जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा वर्षको ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी दिएको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट मौसम पूर्वानुमान र हवाई उड्डयन सेवा प्रदान गरिँदै आएको थियो। अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उड्डयन सेवा यथावत् रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गरिने जानकारी दिएको छ।

यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ।